कविता
आफ्नै कथा
एकाबिहानै पानीले भन्यो—
तिम्रो केशरासी हुँदै
शरीरका प्रत्येक अङ्गहरूलाई
सधै झैँ छोए पनि आज
तिम्रो ओठलाई भने छुनै पाइनँ !
एकैछिनपछि
दिउरे, चियापत्ती, चिनी र दूधले पनि
एकैसाथ गुनासो थपे–
हामीले पनि आज
तिम्रो ओठको दर्शन नै पाएनौँ ।
त्यसपछि नजिकै आएर कुचोले
खुसुक्क जानकारी गरायो–
आज तिम्रो हातबाट
समातिन नपाएर कसिङ्गरहरू
मौन हड्तालमा उत्रिएका छन् ।
भान्सामा खित्खिताइरहेका भाँडाकुँडाहरू
स्वादबाट बञ्चित, नुन र खुर्सानीको दुःखेसो
पाक्न नपाएर सागसब्जी काँचै हुनुको पीडा
यति मध्ये सबैभन्दा निरीह
बल्न नपाएको चुलो
अहो ! बाल्दिँदा यो आगोले सल्किएर
जे गर्न सक्दो रहेछ
नबाल्दिँदा त आगो
ऐया न आत्था …..!
आफ्नै कोठाभित्र
असरल्लै लुगाफाटाहरू
कोही मैलिएर थुप्रो लागिरहेका
कोह पट्टिन नपाएर उत्तानो परिरहेका
कोही ढोका पछाडि काँटीमा
सकीनसकी झुण्डिरहेका
यत्तिकैमा कोठाको एउटा कुनाबाट
अनौठो आवाज गुन्जियो—
हजुर ! म लिपिष्टिक
आज के कारणले होला
हजुरको ओठमा रङ्गिनै पाइनँ !
आफ्नै घरभित्रबाट
यत्ति धेरै गुनासा र अफसोचका आवाजहरू
मेरा कानभरि र आँखाभरि ठोक्किएपछि
अब मैले सबैलाई स्पष्टिकरण दिनै पर्ने भो—
ए मेरो घरका सारा सरसामानहरू हो
सुन !
आज एक दिनलाई माफ देऊ
किनकि,
मैले मेरो ईश्वरको नाममा
आज एक घुट्की पानी पनि नपिई
उपवास बसेकी छु ।
(सन्दर्भः हरितालिका तीज ।)
~~~~~~कविता राई गाउँले~~~~~