राजधानीमा एक फरक खाले कार्यक्रमको आयोजना

पाँच विशिष्ट काव्य साधक एकै मञ्चमा

0 1,100

काठमाडौँ, २९ भदौ
शुक्रबार बागबजारस्थित होटल हार्दिकमा आयोजित एक विशेष समारोहमा आधुनिक नेपाली कविता क्षेत्रका पाँच विशिष्ट काव्य साधकहरू सम्मानित भएका छन् । नेपाली वाङ्गमय परिषद्, नेपाली प्रतिभा प्रतिष्ठान बेलायत र जसराज किराती प्रतिभा प्रतिष्ठानद्वारा आयोजित ‘विशिष्ट साधक सम्मान तथा सत्सङ्ग–२०७५’ कार्यक्रममा वरिष्ठ कविहरू बैरागी काइँला, तुलसी दिवस, जसराज किराती, मञ्जुल र तोया गुरुङ सम्मानित भएका हुन् ।

पाँच विशिष्ट काव्य साधकहरूलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले माला, दोसल्ला र ताम्रपत्र सपर्मण गरी सम्मानित गरेका थिए ।

समारोहमा बोल्दै निवर्तमान कुलपति उप्रेतीले विशिष्ट काव्य साधकहरूको सम्मानमा नयाँ किसिमको कार्यक्रम आयोजना गरेकोमा आयोजकको प्रशंसा गर्दै भने, ‘सत्सङ्ग शब्दलाई नयाँ किसिमले प्रयोग गरिएकोमा खुसी लागेको छ । आज उपस्थित सबै कवि तथा साधक सत्सङ्गयोग्य हुनुहुन्छ ।’ उक्त अवसरमा राईले पनि सम्बोधन गरेका थिए । सम्मानित साधकहरूका बारेमा मोमिलाले प्रकाश पारेकी थिइन् ।

उक्त कार्यक्रममा सम्मानित विशिष्ट काव्य साधकहरूले आफ्ना तीन–तीन प्रतिनिधि कविता वाचन गरेका थिए । कार्यक्रममा आफ्नो विचार राख्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका कवि काइँलाले भने, ‘सत्य कुरा बोल्दा यहाँ धेरैलाई मन पर्दैन, कविताले पनि सत्य कुरा नै बोल्ने गर्छ । त्यसैले हिजोआज कविता वाचन गर्न मन लाग्दैन ।’

आफ्नो विचार राख्ने क्रममा कवि दिवसले अरुभन्दा थोरै फरक विचार राखेका थिए । उनले कवितामा आन्दोलनको आवश्यकता नभएको भन्दै आयोजित कार्यक्रम अत्यन्त फरक प्रकारको रहेको बताए । कार्यक्रममा कवि किराती, कवि मन्जुल र कवि गुरुङले पनि आफूहरुलाई सम्मानको हकदार सम्झेर सम्मान गरेकोमा आभार व्यक्त गरेका थिए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले अग्रज साधकहरूको सम्मानमा साधक सत्सङ्ग कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने, ‘हामी यसलाई निरन्तरता दिने छौँ ।’

कार्यक्रममा गायिका बबिना किरातीले बैरागी काइँलाको कविता ‘बागमती लहरले उठेर बर्सिदेऊ’लाई गीतका रुपमा गायकी थिइन् । उक्त गीतमा वसन्त मुकारुङले सङ्गीत दिएका थिए । कार्यक्रमको सञ्चालन परिषद्का सचिव टीका चाम्लिङले गरेका थिए ।

Loading...