म बाँझो बस्छु

0 1,685

म बाँझो बस्छु

मलाई रात संग डर लाग्छ
त्यो ओछ्यान संग उसै डर लाग्छ
तिम्रो प्रेमिल स्पर्श काँडाको घोचाइ जस्तो लाग्छ
तिमीले मलाई स्पर्श न गर्नु
मेरो नजिक न आउनु
तिमीले विर्यदान न गर्नु
मलाई यो देशमा बाँझिदै गएको खेतबारी जस्तै बाँझो बस्न मन छ ।

म कामदार उत्पादन गर्ने
फ्याक्ट्री बन्न सक्दिन
सिहंदरबारले गरेको सम्झौता अनुसार
कामदारको कोटा पूरा गर्न सक्दिन
म मेरै रगत निर्यात गर्न सक्दिन ।

हरेक दिन त्रिभुवन विमानस्थल बाट
विमानले लाखौं आमाहरुको खुसी सपना
उडाइ लैजान्छ
अफसोस ! कति सपनाहरु, खुसीहरु समुन्द्र तिरै डुबि जान्छन्
कति सपना खुसी रातो बाकसमा पोकिएर आईपुग्छन्
म मेरो सपना , खुसी उडाइ लगेको हेर्न सक्दिन
बाकसमा पोकिएर आएको हेर्न सक्दिन।

म चाहान्छु
मेरो पौरखी सन्तानहरु
यहि माटोमा खेलोस, यै माटोमा हाँसोस
फुलाओस सप्तरंगी फुलहरु यहि माटोमा
कहि कतै बाँझो न होस यो माटो ।

मैले मुटु दुखाएर
बनाएको मुटु
म दुरदेश पठाउन सक्दिन
बरु म यो देशमा बाँझिदै गएको खेतबारी जस्तै बाँझै बस्छु।

शुसिला निनाम
खोटाङ

Loading...