नियात्रा – चाईनाको
सबेरै, उठी तयार भएर होटल बाट तल ओर्लिएँ, होटलको पालेले मेन गेट खोलिदियो । बिहानीपख, सडकहरू सुनसान थिए, साँझ अबेरसम्म लाग्ने झिलिमिली जोर्डनको नाईट मार्केट पनि उठिसकेको थियो । म साथीहरूको सल्लाह अनुसार ७ बजे हुङ्गहमको केसिआर स्टेसन पुग्नु थियो । दिन धुम्मिएर हल्का पानी पनि छिटाउदै थियो |
मैले शिष्टाचर अपनाउंदै होटलको पालेलाई क्यान्टोनिज भाषामै हुङ्गहाम जाने टेक्सी कहाँ पाईन्छ ? भनि सोधें । उसले होटल अघिको नाथन रोड़ निस्कने रोड़ देखाउँदा देखाउंदै एउटा टेक्सी हुईङ्किएर आईपुग्यो, मैले हात हलाउंदै रोकें | (हाई पिन्तो चाऊ आ …? ) कहाँ जाने हो ? ड्राईभरले ढोका उघार्दै सोध्यो, मैले पनि सिटमा बस्दै क्यान्टोनिज भाषामै ( हुङ्गहाम फछे चाम्म आ हुमक्वाई ! ) हुङ्गहाम को केसिआर स्टेसन प्लिज भने । उसले ढोका बन्द गरेर हुईक्यायो नाथान रोड़ क्रस गरेर पाण्डा होटललाई दाहिने पार्दै ईन्डिया क्लप र पुरानो गण क्लप क्याम्प हुँदै एकैछिनमा हुङ्गहाम स्टेसन पुर्यायो ।
म र बुढो अघिल्लो दिन मात्र युकेबाट आईपुगेर होटल सिल्कामा बसेका थियौं । होटल सिल्का जोर्डन र याउमा ताईको बिचमा पर्ने भएकोले हामीलाई वरपर हिड्न साथीभाई भेट्न सेन्टर पर्ने जस्तो लागेर रोजेका थियौं ।
थुप्रै केटि साथीहरूसँग म एक्लै जाँदै थिएँ, बुढोको हंगकंगमै एनआरएनको साथीहरूसँग हाईकिङ्ग जाने प्रोग्राम थियो । आज भोलि हंगकंगमा बसोबास गर्ने धेरै मान्छेहरू हरेक दिनको भीडभाड बाट एक छिन् भएपनि मुक्त हुन, हाईकिङ्ग जान मन पराउँदा रैछन् ।
टेक्सी हुङ्गहम स्टेसन पुग्दा ३० डलर निस्किएको थियो मिटरमा, ओर्लेर पैसा दिंदै (हुम्काई साई ) धन्याबाद भने, उसले पनि पैसा लिंदै ( तोचे साई ) धन्याबाद भन्न भन्यो । क्यान्टोनिज भाषामा धन्याबाद दुई प्रकारको हुन्छ, केहि सहयोग गरे बापत हुम्काई भनिन्छ भने, केहि दिएर या आफुले लिए बापत तोचे साई भनिन्छ ।
हुङ्गहाम नपुगेको बर्षौं भएको थियो, नयाँ एयरपोर्ट चेप्लाकक १९९८ बाट चालु भएपछि, पुरानो काईतक एरपोर्टलाई बन्द गरि त्यहाँ ठुल्ठुला बिल्डिंग, होटल र प्लाजाहरू बनेकोले कहाँ निर थियो पुरानो एयरपोर्ट भनेर खुट्टाउनै मुस्किल पर्छ अचेल । हंगकंगमा हुङ्गहाम सिटीको आफ्नै विशेषता छ । यहाँ समुन्द्र साईटमा एउटा सुन्दर बजार छ त्यो बजार बिच एउटा ठुलो टाई टनिक स्टाईलको पानी जहाज छ । समुन्द्र माथि नै त्यो पानी जहाज पाक गरेर राखीए झैं गरि ओरिपरि निलो पोखरी बनाईएकोछ | बास्तबमा त्यो जहाज एउटा ठुलो (प्लाजा ) सोपिंग महल हो, त्यो भित्र ठुला ठुला, नामी, नामी दोकान र रेस्टुरेन्टहरू छन् । माथि छतमा पौडी पोखरी र जिम हल छन् | हंगकंगमा यस्तो चिजहरू देख्दा कहिले बिकास हुन नसकेको आफ्नो देशको निरिह हालत याद आउँछ ।
म हुङ्गहम स्टेसन पुग्दा साथीहरू कोहि पनि आईपुगेका थिएनन् । १० मिनेट पछि सुनिता र एउटा साथि आईपुगे, हामी उभ्दा उभ्दा थाकेकोले अगाडिको लामो बेन्चमा बसेर अन्य साथीहरू कुर्न थाल्यौं । केहि मिनटमै सबै भेला भएर बाटो लाग्यौं
चुनवान बाट आउने एक हुल साथीहरूले हामीलाई चाईना जाने रेलको प्लेट फर्म मै कुरिरहेका थिए । म मात्र भर्खर आएको अव्यवस्थित परदेशी थिएँ । म संग (रेल या बसमा पैसा हालेर प्रयोग गर्ने कार्ड ) अक्टोपस पनि थिएन ।
बहिनी सुनिता राईसँग एउटा फाल्टो अक्टोपस कार्ड रैछ उनले पैसा हालेर चलाउनुस दिदी यहाँ बसुन्जेल काम लाग्छ भनि हातमा थमाई दिईन् | मैले त्यो कार्डमा १ सय डलर हालें अनि ५ सय डलरले चाईनिज युअन पैसा साटें, ५ सय हंगकंग डलरको युअन जम्मा ४ सय २७ हुँदा पो छक्क परें । सोध्दा अलिअलि त कमिसन चार्ज पनि काट्छन् भने साथीहरूले ।
हुङ्गहम बाट छुटेको रेल लोहू पुग्दा बिहानको ९ बजेको थियो | लोहूको रेल स्टेसनमै हामीलाई पर्खेर अर्को एक हुल साथीहरू बसिरहेका थिए | हामी पुगेपछि जम्मा ३६ जनाको जम्मो टिम भयौं ।
लोहूको ईमिग्रेसन बाट एक जना साथीले पासपोर्ट बिर्सेको र एक जना नानिसंग आएकी बहिनीले नानीको पासपोर्ट ल्याउनु भूलेकोले फर्कनु पर्यो । २ जना साथि फिर्नु पर्दा सारै नरमाईलो लाग्यो हामीलाई ।
हंगकंग तर्फको ईमिग्रेसन हंगकंग आईडी र थमपिन प्रयोग गरेर सबै साथीहरू चाईनाको इमिग्रेसन तर्फ लागे, म र बिष्णु बहिनी संग ब्रिटिश पासपोर्ट मात्र भएकोले भिजिटर काउन्टर तिर लाईन लाग्यौं ।
पालो आयो विष्णुले २ दिनको भिषा पायो र छिर्यो म अड्किएँ सोचेथें, म पनि बिष्णु जस्तै पासपोर्ट मात्र देखाएर छिर्छु तर मेरो नाममा हंगकंग आईडी भएको कुरो थाहा पाईहाले अफिसरले । धन्न मैले आईडी हराएर नयाँ आईडी बनाउन हंगकंग पुगेको भनि रिपोर्ट गरेको आईडी नम्बर सहितको कागज बोकेकी थिएँ । सोहि कागज देखाएर छिरें ।
मोबाईलमा खेलिने गेम जस्तै हंगकंग र चाईनाको ईमिग्रेसन एउटै बिल्डिंग्मा पत्र, पत्र रहेको छ । एक पत्र पार गरेर केहि बेर हिड्ने वितिक्कै अर्को पत्र आईहाल्छ । हंगकंग पट्टिको पहिलो पत्र पार गरेर अर्को पत्र टेकियो, त्यहाँ फेरि पहिले औंठा छाप र पासपोर्ट स्क्यान गरेर मात्र लाईनमा उभ्नु पर्ने प्रावधान रहेछ ! लाईन लगियो औंठा छाप र पासपोर्ट स्क्यान मेसिनमा, हंगकंगको बोर्डर कटाउने एक नेपाली गाईड थियो । हामी सबैले एउटा टुरिस्ट एजेन्सीलाई ज्युको ३५० हंगकंग डलर बुझाएर हिडेका थियौं ।
उसैले मेसिनमा स्क्यान गराई सकेर हाम्रो ३६ जनाको तितर बितर लाईन मिलाउंदै, नाम लिस्ट्मा भएको नामहरू बोलाउन थाल्यो | म आफ्नो नम्बरमा उभिएँ, किनकी त्यो नेपाली एजेन्सी बाट पारि चाईनाको एजेन्सीले हामीलाई जिम्मा लिने र ईमिग्रेसन अफिसरहरूलाई पनि ट्राभल एजेन्सीहरूले नाम लिस्ट क्रमिक रुपले नै दिएका रैछन् ।
चाईनाको ईमिग्रेसन आयो, हंगकंग तर्फका अफिसरहरू भन्दा चाईना तर्फका अफिसरहरू ठुलो देशको भएर होला अलिक कम सुकिला देखिन्थे । तर, काममा भने ईमान्दारी थिए । मैले चाईनिजहरूमा बलियो र दिगो राष्ट्रियता र देश प्रति एकदम कटिबद्दता रहेको देखें | चाईनामा अन्य देश जस्तो एयरपोर्ट र ईमिग्रेसनमा अन्य देशका कामदार भेटिंदैन, त्यो पक्ष पनि मलाई बलियो लाग्यो ।
बोडर काटेर १० मिनेट पैदल हिडेपछि एउटा बसपार्क आयो । चाईनाको हाम्रो टूर गाईड सानी केटि चिटिक्क परेकी थिईन् | उसले लगाएको भेस्टमा आई लभ चाईना लेखीएको थियो, उस्ले बोकेको त्रिकोण आकारको पहेंलो झण्डामा चाईनीज भाषामा केहि लेखीएको थियो । अंग्रेजी नभएकोले पढ्न सकिन तर अन्दाजमा पक्कै ट्राभल एजेन्सीको नाम होला भन्ने ठाने ।
उस्ले लामो टांगोमा टाँगेर बोकेको सोहि झण्डा पछ्याउंदै दिनभरि हिड्नु जो थियो हामीले । उस्ले जस्तै भेस्ट लगाउने मान्छेले हामीलाई लाईन लगाएर बस चढायो । बस चढ़ेर हामी सबै बसेपछि ति सानी चिट्टिक परेकी टूर गाईडले माईकमा भन्न थालीन् हामीले दिनभरी मान्नु पर्ने नियमहरू र घुम्नु पर्ने ठाउँहरूको नाम । उनि अग्रेजी पनि राम्रो बोल्थिन् ।
हामी स्यानजेनको बोडर छाडी गुड्न थाल्यौं, रमाईलो रमाईलो गाउँहरू आउन थाल्यो हल्का पानी पर्दै रहँदै गरेकोले खासै गर्मि पनि महसुश भएन । कतै डाँडा पाखा, कतै घुम्ती अनि मोड साँच्ची नै आनन्द लाग्यो धेरै पछि एसिया घुम्न पाउँदा । बाटोभरी डौ ठे निगुरोको झाडी देख्दा पाँचथरको लालिखर्क र राँके भन्ज्याङ्गको याद आयो ।
लगभग १ घन्टाको बस यात्रा पछि हामी पुग्यौं गन्तव्यमा । हामीलाई ३५० डलर भित्रै दिउँसोको खाना पनि निशुल्क थियो । सोहि अनुसार बसले पहिले खाना खाने रेस्टुरेन्टमा लग्यो | हाम्रो खाना खाने समय ३० मिनेट र एउटा टेबलमा ९ जना मात्र बस्नु पर्ने नियम अघि नै भनिएको थियो । हामी आ-आफ्ना साथीहरूसँग ९-९ जना बाँडिएर बस्यौं ।
हामी पुग्दा त्यो ठुलो रेस्टुरेन्टमा हाम्रो लागि खाना टेबल, टेबलमा सजाई सकिएको थियो । टेबल बिचमा अर्को सानो घुम्ने चक्की टेबल, चक्की माथि ९ थरि परिकार, मगमग बास्नादार चाईनिज चामलको भात, बिचमा एक अँगालो चपस्टिक राखिएको थियो ।
सबैले जोडी, जोडी ( सिन्का ) चपस्टिक उठाएर सुन्दर प्लेट माथि रहेका खानाहरूलाई प्रहार गर्न थाले । सबै साथीहरू हंगकंगमै बसोबास गर्ने र सिन्का चलाउन सिपालु भएकाले चम्ची काँटा सम्झेनन् होला, मैले भने चम्ची काँटा मात्र होइन, आफ्नो देशमा हातले घमगम भात खाएको याद गरें । वरिपरि हेरें थिएन कतै चम्चा काँटा सिन्काले घोंच्दा घोंच्दै खाना सकिन लाग्यो अन्त्यमा लाजै पचाएर आफु संग संगै भएको सर्दम हातले प्रहार गरें । मलाई साह्रै मन पर्ने मासु रोष्ट गरेको हाँसको थियो चुपचाप तान्दै भात संग दारेर अघाएँ ।
अरुले भुले भने कुन्नि म चाँही जीवन भर भुल्दिन सारै मिठो चाईनिज खाना । टेबल रित्तिए पेट आघायो, तर मुखै अघाएको थिएन । हाम्रो टुर गाईडले पहेलो लोगो भएको झण्डा हल्लाउदै एसेम्ली पोइन्टमा बोलाउन थाली हाल्यो । हामी चढेर आएको बसलाई त्यहि छाडेर हामी हिड्यौं ।
एउटा सुन्दर पार्क आयो । त्यहाबाट भित्र पसेपछि, एक्कासी हाम्रो गाईड केटि जस्तै भेस्ट लगाउने एउटा क्यामेरा मेन आएर हामीलाई एक ठाउँमा भेला गरेर ग्रुपिंग फोटो खिच्यो । फोटो खिच्ने त हाम्रो त्यो दिनको मेनुमा थिएन, त्यसपछि फेरि सबैलाई एक, एक गर्दै सिंगल पनि खिच्यो । पछाडी सुन्दर गार्डेन र झरना झरिरहेको थियो | फोटो क्लिक गरेपछि हाम्रो फुच्ची गाईड्ले हाम्रो हातमा हरियो रंगको कार्ड थमाउँदै भन्यो, यो कार्ड देखाउंदै घुम्ने हो यो भित्र पैसा हुन्छ दिनभरी कता, कता जान्छौ के, के खेल्छौ र कुन, कुन ठाउँमा प्रयोग गर्छौ त्यो अनुसार पैसा घट्छ । अनि घुमी सकेर फर्केपछि एसेम्बली पोइन्टमा कार्ड बुझाउने त्यहाका स्टाफले तिमीहरूको कार्ड चेक गर्न मेसिनमा छिराउछन् यदि पैसा बाँकी छ भने टोकन झर्छ त्यो टोकनले ऊ त्यो गुडिया र डलहरू
खेलेर जित्ने अनि कोसेली लैजाने, भन्दै प्रवेश द्वारमा भएको मेसिनहरू देखायो, ति मेसिनहरू भित्र विभिन्न किसिमका गुडियाहरू थिए । कति बाठा चाईनिजहरू एक कन्जी पैसा उभारेर लैजान नदिने ।
अन्त्यमा गाईडले हामीलाई ठिक ४.३० बजे यहि ठाउँमा भेला हुने त्यो भन्दा ढिलो गरे बस छुट्छ, अनि आफै टेक्सी चढेर लोहू पुग्नु पर्ने छ भनि कडा उर्दी जारि गर्दै त्यहाँ रहेको नामी सिशै शिशाको पुलतिर लगारी पठायो ।
हामी अब केहि घण्टा स्वतन्त्र भयौं । वरिपरी रंगीचंगी कागज द्वारा बनाईएका ठुल्ठुला चाईनिज बत्तीहरू झुन्डेका, आकर्षक प्यागोडा सैलिका घरहरू । बेला, बेला बन पाखा थर्काएर कराउने बनावटी ड्राईगनहरू, सुरुमा देख्दा त साँच्चीकै हो जस्तो लगेर डर पनि लागेथ्यो तर पछि नडराउनु त्यो नक्कली हो ब्याट्री बाट संचालित हो भनेपछि ढुक्क भो ।
बुद्दको ठुलो स्ट्याचुलाई पछाडी परेर शिसाको पूल चढ्न सुरु गरियो, हल्का सिमसिम पानीले दिनैभरि पछ्याई रह्यो । हामीलाई पुलमा छाता ओढ्न पाईन्दैन भनिएकोले भिज्दै भिज्दै पुल तर्यौ । सुरुमा ठिकै लागे पनि बीचतिर निक्कै डर लाग्यो तल हेर्दा भिर अनि छेउमा खोला देखिने, त्यो पुलको शिसा टेक्दा फुट्ला कि भन्ने डर बढ्दै गएपछि आँखा बन्द गर्नु करै लाग्ने ।
पुलको पश्चिम तिर विशाल बस्ति, ठिक तल चिडियाखाना, विभिन्न किसिमका पिङ्ग अनि रोलर कोस्टरहरू, पुर्ब तर्फ़ खोला, खोलामाथि घिर्लिंग मानौं एक अर्कै सारै रमाईलो ठाउँ | मलाई सबै भन्दा माया र आफ्नो जस्तो बुद्दको त्यो ठुलो मुर्तिको लाग्यो, अनायासै पराई मुलुकमा बुद्दको नाम र स्वरुप देख्दा छाती धक्क फुल्छ, मन गौरम्बित बन्छ ।
म र बिष्णु बहिनी अघि अघि थियौं, पछि – पछि निर्मला बहिनी र उनको छोरी सारा भान्जी थिए । ३६ जनाको ठुलो जम्बो टिम, माउले छाडेका चल्ला जस्तै तितर बितर भएर छरियौ । सबैले आ-आफ्नै नजिकका साथी पछ्याउंदै फोटो खिच्दै डुली रह्यौं |
हामीलाई ग्रेट वाल भएको ठाउँ जान मन लाग्दा लाग्दै समय अभाव र हाम्रो ३५० डलरले भ्याउने ठाउँ मात्र घुमाउने भनेपछि बिष्णु र म हल्का बेखुशी भएका थियौं । हुन पनि हामी दुई मात्र थियौं युकेबाट गएका अरु त सबै हंगकंग बासी साथीहरू थिए । चाहेको बेला घुम्न सकी हाल्थे उनीहरू । डरले ठमठम हिड्न नसकेर हो या फोटो खिच्दै हिंडेर हो, पुल तर्न झन्डै १५, २० मिनट नै लाग्यो । पुल सकेर निस्कने बेला अलिकति भाग पाईला पर्ने बित्तिक्कै झ्याम्मै ….ठुलो सिशा चर्केको आवाज आउने बनाएको रैछ । एउटा केटि र केटा हात समाएर जाँदै थिए …अचानक चाल पाएर केटि बेस्सरी चिच्याईन् ।
हामी उनीहरूकै पछि भएकोले सतर्क हुने मौका पायौं । गाईड्ले हामीलाई शिसाको पुल र सफारी पार्क देखाउने भनिएकोले, शिसाको पुल सकेर तल सफारी पार्क झर्नु थियो । तर,तल ओर्लने बाटै थिएन, सोधीखोजी गरेपछि बल्ल थाहा भो हामी त त्यहाबाट रोलर कोस्टर चढेर पो झर्नु पर्ने रैछ । मलाई खेलमा मन नपर्ने रोलर कोस्टर चढ्न जिन्दगीमा पहिलो पल्ट बाध्य भएँ । हाम्रो पालो आयो म पछाडी र बिष्णु बहिनी अघि गर्दै एउटामा बस्यौं | क्रमैसंग साथीहरू पनि चढे । अब यात्रा सुरु भो ….घारक्क घुरुक्क गर्दै बाटो लागे जस्तो लागेको थियो एक्कासी समुन्द्रमै झ्याम्मै झारेझै भो …..बिष्णु अघि थिइन् कानै फुट्ने गरि चिच्याईन् | उनको चिच्याई सुन्दा सुन्दै म चिच्याउन भुलेर हाँस्न पो थालेछु | हामी भन्दा अघि पछिका साथीहरू कोहि रुए जस्तो गर्थे, कोहि चिच्याए जस्तो….कतिले भने छोडें है मैले छोडें भन्थे के छाडे कुन्नि ? थाहा भएन ।
केहि छिन पछि अन्तिम गन्तव्यमा पुगेर झ्याप रोकिए …रोलर कोस्टरहरू । हामी थरथर काँप्दै ओर्लेर भर्यांग बाट तल झर्यौं | झर्ने बित्तिकै एउटा दोकानमा हामी रोलर कोस्टरमा चिच्याई रहेको, सिशाको पुलमा रुन लागेको फोटोहरू हल्लौंदै राम्री,
राम्री चिटिक्क परेका केटीहरू उभिएर हामीलाई हाम्रो फोटो किनेर लैजान आग्रह गरिरहेका थिए | छाडेर हिड्न पनि कसरि फोटो आफ्नै, सबैले ५०, ५० युअन तिरेर फोटो लियौं | कति जानेका बरै चाईनिजहरूले व्यापार गर्न ।
हाम्रो गाईड आएर हामीलाई झण्डा हल्लाउदै बोलाउन थाल्यो | हतार हतार हामी पनि रोलर कोस्टरमा खुम्चिएको आङ्ग घारक्क घुरुक्क तन्काउँदै भेला भैहाल्यौं | कोहि छुट्यो कि भन्ने डर उसलाई हमेसा रहन्थ्यो सायद ! तेसैले हामी ३६ जना छौं कि छैनौं भनि उसकै भाषामा घरि घरि गन्थ्यो हामीलाई ।
त्यहाबाट सिधै सफारी पार्क लगेर छाड्यो, हामी सबै आ-आफ्नै ग्रुप पछ्याउंदै घुम्न थाल्यौं | हिड्दा हिड्दै कोहि कता, कोहि कता छरपस्ट भयौं एकैछिनमा लास्टमा हामी दुई युकेबाट आउने मात्र संगै रह्यौं | सफारी पार्क भनेको चिडिया खाना रैछ खासै रमाईलो लागेन गर्मि भएर | भित्र भित्र नपसी सिधै बाटो पछ्याएर बाहिर निस्कियौं हामी | बाहिर गेटमै माईकिङ्ग भैरहेको थियो तर, भाषा बुझे त मरि जाऊँ । अरुलाई पछ्याउंदै हामी पनि भित्र पुग्यौं, त्यो त डल्फिन नचाउने ठाउँ पो रैछ सो सुरु हुन लागेको थियो हामी पनि जे सुकै होस् भनेर खालि सिट तिर बस्यौं ।
बाहिर हिड्नु भन्दा बसेर डल्फिन नाचेको खेलेको हेर्न रमाईलो लाग्यो, सरिरलाई पनि आराम मिल्यो एकछिन | त्यहाबाट निस्कने ठाउँ नभेट्दा एकछिन अलमल भो । अन्त्यमा केहि साथीहरू चराचुरुंगी हेर्दै रैछन् भेटेर संगै रंगीचंगी मयुरहरू हेर्दै, हेर्दै बाहिर निस्क्यौं | निर्मला र साराले छेमा र माईजु कता गए भनेर खोज्दै रहेछन् बाटोमै भेट भो | गर्मि यति थियो कि किनेर खान थालेको आईस क्रिम मुखमा भन्दा बढी भूईतिर चुहिन्थ्यो | चिसो भन्नु त्यहाँ आईस क्रिम नै मात्र थियो |
निर्मला र सारालाई भेटे पछि हामी हिउँ खेल्न आईसै आईसले बनेको घरभित्र पस्यौं | सबै तिर हामीलाई प्रवेश निसुल्क थियो | बेला बेला आईस क्रिम र पानी किनेको बाहेक खर्च भएन कतै पनि । हिउँ घरको प्रवेश द्वारमै हामीलाई बकुलो ज्याकेट दिईयो, तर सारै गन्दे …गन्हाएर लगाई सक्नु भए पो । जे सुकै होस् भनेर उल्टो पारेर लगाएँ, मलाई देखेर बिष्णु र सारा भान्जिले पनि तेसै गरे | हामीलाई भित्र प्रवेश गराउने केटा उल्टो ज्याकेट देखेर हाँस्यो, त्यो मिठो हाँसोको जवाफ हामीले पनि मुस्कुराएर दियौं | कुरो नमिले
पनि मुस्कान सबैको उस्तै हुँदोरैछ ।
भित्र अर्कै संसार थियो ! सारै चिसो तर रमाईलो ।त्यो घर भित्रै युरोपका केहि चर्चित स्थानमा अबस्थित पुरातत्वहरूलाई आईसद्वरा निर्माण गरेर डल्लै युरोप राखिएको थियो, उही बगलमा पेरिसको आईफ़ल्स टावर पनि थियो | हेर्दा दुरुस्तै स्कटलेण्ड हिडेको रेल तर,छाम्दा चिसो आईसको डल्ला, चाईनिजहरूले कति जानेका पैसा कमाउन ? सारा भान्जी हिउँ बर्सिरहेको ठाउँतिर दगुर्दै हिउँ खेलिरहेकी थिईन् तर, हामी बेलायतीहरूलाई भने भान्जीलाई जति मज्जा लागेन | त्यहाबाट निस्केर लास्ट एउटा रहेको खेल चढ्न लाईनमा बस्यौँ | पालो आयो लामो डुंगा आकारको घिर्लिङ्ग एउटामा ६ जना आट्ने म, बिष्णु, सारा र माईली नन्दको छोरी झरना बस्यौं अरु दुई सिट्स खालि रहे | तल समुन्द्र माथि आकास सानो फलामको लट्ठामा डुंगा झुण्डिएको, अनि डुंगा माथि हामी, हल्का उकालो चढ्दा बिस्तारै लगे जस्तो लाग्यो तर,फर्केर आउँदा भने रोलर कोस्टरमा साथीहरूले भने झैं हामीले पनि छोड्यौं ।
अनि बल्ल थाहा भो अति नै डर लाग्दा के छाडिन्दो रैछ र साथीहरूले के छाडेछन् रोलर कोस्टरमा भन्ने कुरो |
गर्मी हल्का घट्न लाग्यो, सितल फिरेपछी बल्ल घुम्ने जाँगर पलाउँदै थियो तर, गाईड्ले दिएको समय हुन लागेकोले एसेम्ली पोइन्टतिर लाग्यौं | वारिपारि जता हेर्यो उतै रमाईलो हामीले मुख्य, मुख्य ठाउँ मात्र घुम्न पाएको महशुस भो | पुरै घुम्ने रहर अधूरै छाडेर बिहान जहाबाट छुट्टियौं त्यहिँ भेला भयौँ तर हामी संगै बिहान हुङ्गहाम बाट रेल चढ्ने ४ जना साथीहरू भने समयमा अईपुगेनन् | झन्डै 1 घन्टै कुरियो | हामीले नचिनेका एक हुल मान्छे पनि मिसाएर एजेन्सीले ३६ जनाको शंख्या पुर्याएको थियो ति मध्येको केही साथीहरू हाम्रो साथिहरूलाई पर्खन खर्चेको समयको हिसाब किताब गर्दै कराउन रिसाउन थाले | गाईडलाई पनि जाउँ तिनीहरू आफै टेक्सीमा आउछन् भनेर गालि गर्थे त्यो बेला भने कति नरमाईलो लाग्यो । बल्ल बल्ल २ जना आईपुगे, फेरि हराए २ जना, गाईड सँग सँगै हामीले पनि ति दुईलाई रिस पोखायौं । अब जे सुकै होस् भनेर गाईड बाटो लाग्यो, उसको झन्डा पछ्याउंदै हामी पनि लाग्यौं बिहान छाडेको बस हामीलाई नै कुरेर बसिरहेको थियो | एक दिनको यात्रा, अन्धाधुन्दा लाग्यो बिहान, कुन गेट बाट पस्यौं र अहिले कता निस्कियौं अत्तोपत्तो भएन ।
ड्राईभरको अनुहारमा पनि झरि बर्सिन लागेझैं थियो, हामीलाई कुर्नु पर्दाको परिणाम होला लाग्यो | हामी बसमा चढेर बस्दा बस्दै अघि माथि आईनपुगेको २ जना केटीहरू त्यहाँ आईपुगे, तर हामी सबैको गालि खाने २ वटि भने उतै २ जना साथीहरूलाई कुर्दै रहेका थिए | उनीहरूलाई लिन रिसाउदै कराउँदै फेरि गाईड दगुरिन् । हाम्रो पालो फेरि ति २ टि लाई पुराण सुनाउन थाल्यौं । केहि बेरमै दौदिंडै आईपुगे अनि बस हिड्यो त्यहाबाट | बस हिड्न थालेपछि गाईडले हामी सबैबाट हंगकंग डलर २०, २० उठायो यो भने हाम्रो
निम्ती अनौठो थियो किन कि हामीलाई यो कुरोको जानकारी थिएन | कारण सोध्दा यो मेरो आजको तलब हो भनिन् | चाईनिजहरू ब्यापार गर्न मात्र होइन लुट्न पनि सिपालू लाग्यो ।
सेङ्ग्जेन त मलाई दुरुस्तै, नेपालको काठमाडौँ फाँट जस्तो लाग्यो | कुनै ठाउँ लेकाली रुख बिरुवाहरू देख्दा भने ताप्लेजुंगको लेलेप, घुङ्ग्सा जस्तो पनि लाग्यो | जे होस् रमाईलो मिस्रित हावापानी थियो, दिनैभरि छिनमै घाम, छिनमै पानी खेपिरह्यौ हामीले |
१ घण्टा १५ मिनेटमा लोहू पुर्यायो बसले ओर्लेर फेरि लोहूको ईमिग्रेसन सम्म गाईडको झण्डा पछ्यायौ |
रेल स्टेसनको मुखैमा बिहान हामीलाई लाईन लगाएर फोटो खिच्ने केटा फेरि हाम्रो तस्बिरलाई प्लेटमा, कार्डमा र एउटा ग्रुपमा बनाएर १ जनाको फोटो ३ किसिमको डिजाईनमा बनाई फिजाएर बसिरहेको थियो | कतिले होस् नलईजाने है फोटो सोटो भन्दै हिडें, तर मलाई भने आफ्नै फोटो हो सम्झना हुन्छ लान्छु भन्दै १ सय युअन तिरेर लिएँ ।
मेरो पछि पछि अरुले पनि लिए । त्यसपछि हामीलाई चाईनाको ईमिग्रेसनमा बिहान जस्तै नामे रोलमा उभ्याएर सिमाना कटाई दियो, बिना सुचना बसमा २० डलर उठाएकोले बाई पनि नभनी हामी हिड्यौं ।
जानु कम्बाङ्ग लिम्बू
ताप्लेजुङ्ग हाल युके !!