सिलोङमा अन्तराको सांस्कृतिक धमका
काठमाडौँ, २८ भदौ – चर्चित साङ्गीतिक समूह ‘अन्तरा’ भारत मेघालय राज्यको राजधानी सिलोङमा परम्परागत तथा मौलिक नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी काठमाडौँ फर्किएको छ । सिलोङस्थित ‘गोरेटो सोसियो–कल्चरल एण्ड वेलफेयर सोसाइटी’ नामक संस्थाको सद्भावपूर्ण निमन्त्रणामा सांस्कृतिक आदान–प्रदान कार्यक्रमका लागि अन्तरा ३२ सदस्यीय कलाकार टोली लिएर त्यसतर्फ गएको थियो । उक्त सांस्कृतिक टोलीमा संलग्न कलाकार खगेन्द्र राईले कार्यक्रम ऐतिहासिक भएको बताए । उनले भने, ‘सिलोङमा नेपाली भाषा, कला र संस्कृतिप्रतिको अगाध प्रेम देखेर हामी हर्षित भयौँ ।’
भदौ २४ गते सिलोङमा आयोजित कार्यक्रममा अन्तरा साङ्गीतिक समूह र सांस्कृतिक संस्थानका कलाकारहरूले पालाम, साकेला, सेलो, कौरा, हुड्केली, धिमे, पूर्वेली मारुनी, थारु र संगिनीलगायतका ६ गीत र ६ नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका संयोजक सङ्गीतकार तथा प्राज्ञ अशोक लोहोरुङ राईले सिलोङको कार्यक्रमले लोकसंस्कृतिका क्षेत्रमा काम गर्न आफू थप उत्साहित भएको बताए । आयोजक संस्था गोरेटोका मूल सचिव रोशन भण्डारीले यस प्रकारको सांस्कृतिक कार्यक्रम सिलोङमै पहिलो भएको बताए ।
