मिडियाले साहित्यकार बनाएर मात्र भएन नि ! पाठक बर्गले पनि स्विकार्नु पर्यो नि हैन र ? : सुन्दर गुरूङ

0 1,922

परदेशमा रहेर पनि साहित्यमा निरन्तरता दिईरहनु भएका कवि गीत तथा गजलकार सुन्दर गुरुङ सँग सिलिचुङ्ग टिभीले गरेको भलाकुसारी ।

तपाईं हिजोआज केमा व्यस्त हुनुहुन्छ?
ईन्द्र जि परदेशी जिन्दगी अली अनौठो हुन्छ । ड्युटी गर्‍यो, रूम गयो, खाना खायो सुत्यो । फेरी ड्युटी आयो, रूम गयो, खाना खायो सुत्यो । अरु खास केही छैन । मुड चल्दा यसो गजल गीतहरु कोरिरहेको छु । अनि केही नेपाली किताबहरु पढिरहेकोछु ।

तपाईको आफ्नो बारे छोटकरीमा बताईदिनुस न I
म लगभग 9/10 बर्षदेखी यो गल्फ कन्ट्रीको बहराइन भन्ने ठाउँमा एक्स्चेन्ज फिल्डमा कार्यरत छु । भन्नु पर्दा खेरी म कानुनको विद्यार्थी हो । तर काम चै अर्कै फिल्ड्तीर । घर चाँही भोजपुर जिल्लाको काङकाङ- ८ , छिनाम्खु हो । अहिले चाँही टेम्के मैयु गाउपालिका भाको छ क्यार ।

साहित्यलाई कत्तिको निरन्तरता दिई रहनु भएको छ?
साहित्य मेरो सौख हो, पेशा हैन । तर गीत, गजल, कबिता केही न केही कोरिरहेकै हुन्छु । प्राय बिजी नभएको बेला म अफिसभित्रै पनि केही लेखीरहेकै हुन्छ ।

तपाईंको विचारमा साहित्य के हो?
समाजमा घटेका घटना परीघटनाहरु, आफुले देखेका भोगेका कुराहरुलाई कलात्मक ढंगले खेलाएर एउटा बिचार, भाव र बिम्बको रुपमा सरल र मिठासपूर्ण तरिकाले आफुलाई ब्याक्त गर्नु नै लेखन हो, साहित्य हो ।

साहित्य क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?

मैले एस. एल. सि. पास गरेको स्कुल अन्नपूर्ण मा. बि., दिल्पा, अहिले त उच्च मा. बि. भएको छ । जहाँ म सात कक्षादेखी पढेको हुँ । त्यही बाट मैले कबिता लेखन सुरु गरेको हुँ । हुन त स्कुलको किताबमा त्यो भन्दा पहिले नि कबिताहरु पढेको थिए । तर त्यहा आएपछि माहोल अली परिवर्तन भयो । सायद म अली अली साहित्य बुझ्न थाल्ने भएको थिए होला । त्यतीखेरसम्म पाठ्यपुस्तक भित्रको कबिता मात्र पढेको म श्रवण मुकारुङ दाइको नयाँ र शायद वहाँको पहिको कृति होला ” देश खोज्दै जाँदा” २०४६ /४७ सालतिर पढ्न पाइयो । त्यो सङ्ग्रहले पनि साहित्यमा हौसला थप्यो । अन्नपूर्ण मा. बि.को कुरा गर्दा श्रवण मुकारुङ, राजन मुकारुङ आभा मुकारुङ सबैलाई उच्च शिक्षाको आधार तयार गर्ने स्कुल यही हो ।

कस्तो समयमा लेख्ने भावना फुर्छ। विशेष कुन विधामा लेख्दा आनन्द महशुस गर्नुहुन्छ?
त्यस्तो खास केही छैन समयको बारेमा । कहिले काही बाटोमा हिड्दा हिड्दै पनि शब्द फुर्छ । तर बिशेष रुपमा ९० % मेरा सृजनाहरु मैले अफिसभित्र नै सृजना गरेको छु । कहिले कुनै बुक पढिरहेको हुन्छु कुनै वाक्यले छुन्छ र लेख्छु, कहिले कुनै अनलाइन न्युज पढिरहेको हुन्छु कुनै घटनाहरुले छुन्छ र लेख्छु । कहिले बिजी नहुँदा त्यसै-त्यसै यो मन उडेर कहाँ कहाँ पुग्छ, के-के सोच्न थाल्छ र अनायसै मिठो शब्दहरु फुर्छ । प्राय म ट्रेजेडी भावमा धेरै लेख्छु । मलाई कबिता, गीत र गजल लेख्दा आनन्द महशुस हुन्छ । कथाहरु पनि अली -ली कोर्छु तर म अली अल्छे भएकोले थुप्रै कथाहरु कल्पनामा मात्रै सिमित भएकाछन् ।

तपाईंको हालसम्म प्रकाशित भएको कृतिहरुको बारेमा केही बताइदिनु हुन्छ कि?
मेरो हालसम्म एउटा कबिता कृति ” आफुले खोजेको स्वर्ग ” प्रकाशित भएकोछ । यसमा मेरा धेरै पुराना स्कुल कलेज पढ्दा लेखिएका र हालसालमा लेखिएका कबिताहरु सङ्ग्रहित छन् ।

अहिलेको नेपाली साहित्यको स्थिती बारे तपाईंको धारणा कस्तो छ ?कत्तिको सकारात्मक देख्नुहुन्छ?
अहिलेको साहित्यको स्थितिलाई हेर्दा हिजो भन्दा यसको क्षेत्र नेपालमा अझै फराकिलो भएकोछ जस्तो लाग्छ मलाई । देश संघियतामा गएकोछ । बिभिन्न धर्म, भाषा र संस्कृतिको जगेर्नाको निमित विविध कार्यक्रम र पहलहरु भईरहेकाछन् र यसको असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साहित्यमा पनि परिनै रहेको छ । साहित्यभित्र अहिले विभेदका कुराहरु, जातिय चेतनाको कुराहरु पनि समेटिएका छन् । र आफ्नो बाध्यताले वा कुनै कारणले बिदेशिएका लेखक साहित्यकारहरुको उपस्थिती पनि अहिलेको नेपाली साहित्यमा मजबुत हुँदै गईरहेकोछ । यसकारण नेपाली साहित्यको स्थिती धेरै सकारात्मक रुपमा अगाडि बढीरहेकोछ जस्तो लाग्छ मलाई ।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ?
यो धेरै राम्रो प्रश्न गर्नु भो ईन्द्र जि । जुन अहिलेको सूचना प्रविधिको कुरा गर्दा यसले नेपाली साहित्यमा ठुलो प्रभाव पारीरहेको छ जस्तो लाग्छ मलाई । आज भन्दा ११ /१२ बर्ष अगाडि देशभित्र के भइरहेको छ भन्ने कुरा हामी परदेशमा बस्नेहरुलाई अन्धा धुन्दा हुन्थ्यो । बल्ल हप्ता दिनपछि वा महिना दिनपछि कुनै साथी भाईको माध्यमबाट थाहा हुन्थ्यो । चिट्ठी लेख्यो तीन महिनामा घर पुग्थ्यो । हाम्रो सृजनाहरु पाठक सम्म पुग्नलाई कान्तिपुर, मधुपर्क लगायत नेपालका नाम चलेका पत्रीकाहरुमा छापिनु पर्थ्यो । जो सबैको पहुँचमा हुन्थेन । जस्को कारण प्रतिभा हुनेहरु पनि ओझेलमा थिए । तर आज समय परिवर्तित भएको छ । अहिले संसारको कुन कुनामा के हुँदैछ भन्ने कुरा समाचारमा आउनु भन्दा पनि पहिले थाहा भईसक्छ । विभिन्न अनलाइन न्युजका साइटहरु छन् । त्यती मात्र नभएर फेकबूकबाटै भए पनि साहित्यिक सर्जकहरुले आफ्नो सृजना पाठकहरु समक्ष पुर्याइरहेकाछन् । म आँफैको कुरा गर्दा पनि मेरो यो कबिता कृति निस्कनुमा सूचना प्रविधि तथा सामाजिक संजालको ठुलो हात छ जस्तो लाग्छ मलाई ।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?
केही हदसम्म तपाईंको प्रश्नमा सत्यता छ । हाम्रो नेपाली समाजको दुर्भाग्य नै भन्नुपर्छु कि – हरेक क्षेत्रमा नाताबाद कृपाबादले नराम्ररी जरा गाडेकोछ । र साहित्यको क्षेत्र पनि यो अभिशापबाट अछुतो हुन सकेको छैन । मिडियामा पहुँच नभएको कारण कतिपय प्रतिभावान् सर्जकहरु ओझेलमा रहेको कुरा नकार्न सकिन्न । तर मिडियाले हल्ला गरेकै भरमा हरकोही साहित्यकार भईहाल्छ भन्ने पनि होइन । मिडियाले साहित्यकार बनाएर मात्र भएननी । पाठक बर्गले पनि स्विकार गर्नु पर्‍योनी । होइन र ? हो मिडियाले केही समयको लागि भ्रम भने छर्न सक्छ । तर यदि कुनै एक सर्जकलाई मिडियाले नि साथ दिएको छ र साच्चिकै उसको सृजना पनि उत्कृष्ट छ भने अवश्य पाठकले पनि उसलाई साहित्यकारको रुपमा स्विकार गर्छ जस्तो लाग्छ मलाई ।

गजलमा बहर र छन्द बिना सिर्जना अपुर्ण हुने हो त के भन्नुहुन्छ यस बिषयमा?
अहिले स्वतन्त्र गजल लेख्ने र बहर छन्दमा गजल लेख्ने बिच ठुलै बहस चलिरहेको अवस्था हो । सामाजिक सन्जालदेखी लिएर बिभिन्न कार्यक्रम र भेटघाटमा पनि यस बिषयमा बहस भएको पाईन्छ । तर मेरो एउटा प्रस्ट धारणा के छ भने चाहे तपाईं छन्द बहरमा गजल लेख्नोस चाहे स्वतन्त्र रुपमा गजल लेख्नोस तर गजलमा मिठास तथा सरलता हुनुपर्‍यो र यो एक गायकी बिधा भएकोले गाउन मिल्ने पनि हुनुपर्‍यो । छन्द र बहरमा लेख्ने होड्मा सरलता र मिठास पक्षलाई भुल्नु भएन र स्वतन्त्र गजल भन्दैमा शेरको एउटा हरफ दश शब्दको अर्को हरफ बिस शब्दको पनि हुनुभएन । एउटै साधारण कुरा हामीले के बुझ्नुपर्छ भने गीत लेख्दा जसरी हामी शब्दको गणणा गर्छौ वा मिटरमा लेख्छौ त्यही कुरा प्रयोग गरियो भने स्वतन्त्र गजल पनि मज्जाले गाउन मिल्ने बनाउन सकिन्छ । यसको अर्थ गीत र गजल एउटै हो भन्ने अर्थमा नबुझ्नुहोला । मतला, मक्ता, रदिफ, काफिया इत्यादी त गजल लेख्नेले राम्ररी बुझ्नै पर्ने हुन्छ । म आँफै पनि स्वतन्त्र गजल नै लेख्न मन पराउछु तर म आँफै अलिअलि गीत पनि गाउने मान्छे भएकोले कुनै पनि गजल लेख्दा गाउदै लेख्ने भएकोले मेरो हरेक गजल मज्जाले गाउन मिल्छ । त्यती कुरामा म ढुक्क छु ।

साहित्यलाई नै अंगालेर जिविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन?
अझै पनि साहित्यलाई नै अंगालेर जिबिकोपार्जन गर्न सक्ने अवस्था छ जस्तो लाग्दैन मलाई । जिन्दगी चल्ला तर परिवार पनि त चलाउनु पर्‍यो नि । लेखेरै बाच्नेहरु एकदम औलामा गन्न सकिनेहरु छन् । आज भन्दा १० /१५ बर्ष अगाडि जुन स्थिती थियो त्यो भन्दा धेरै राम्रो छ अहिलेको अवस्था । तर कम्पिटिसन पनि उसरी नै बढेकोछ ।

साहित्यमा अर्मपर्मको क्रम बढ्दो छ यसले साहित्यिक उपलब्धिको मापनमा कस्तो भुमिका खेल्न सक्ला ?
साहित्यमा मात्र होइन कुनै पनि क्षत्रमा यो अर्मपर्मको परम्परा मौलाउनु भनेको राम्रो संकेत होइन । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छु । यो क्रम बढ्दै जाने हो भने साहित्यको सही मुल्याङ्कन हुन छोड्छ ।

नेपाली साहित्यको सुदुर भविष्य कस्तो देख्नुहुन्छ?
हिजो भन्दा अहिलेको स्थिती धेरै राम्रो छ । राम्रो यसकारण कि आजको समाज हिजोभन्दा आज शिक्षित छन्, सचेत छन् । र आजको साहित्य पनि त्यही अनुरुप अगाडि बढीरहेकोछ । सर्जकहरु धेरै छन् र एउटा सामान्य पाठक पनि आज सर्जक बनेर खडा हुने स्थिती छ । यो त राम्रो कुरा हो नि । र भोलिको दिनमा हाम्रो समाज भनौ वा पाठक वर्ग भनौ, वहाँहरु अझ शिक्षित, सक्षम र सचेत हुँदै जानेछन् र त्यो स्थितिमा सर्जकहरु पनि अझै खारिएर, राम्रो र उत्कृष्ट सृजना लिएर आउनुपर्ने हुन्छ । त्यो अर्थमा नेपाली साहित्यको सुदुर भविष्य अझ राम्रो हुँदै जाला भन्ने आशा गरौ ।

साहित्यलाई समानको ऎना मानिन्छ,कस्ता-कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?
आधुनिक सोच बिचार त छदैछ त्यो संगै हाम्रो पौराणीक कथाहरु, लोक उक्तिका कुराहरु, संस्कृतिका ज्ञान, नेपाली आदिवासी सभ्यता र दर्शनका ठेट कुराहरुलाई पनि शसक्त रुपमा साहित्यमा उतार्नु सक्नुपर्छ । समाजको दु:खको कुरा मात्र हैन त्यसको समाधान पनि लेख्नुपर्छ । अन्यायमा पर्नेहरुको ब्यथा मात्र हैन अन्याय गर्हेहरुको बिरुद्दमा पनि लेख्नुपर्छ । यसरी समाजको आवाज भएर बोल्न सकियो भने समाज परिवर्तनको लागि अवस्य सहयोग पुग्ला ।

साहित्यमा राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महशुस गर्न सकिएला?
साहित्यमा सरकारी स्तरबाट चालिनु पर्ने कदमहरु, गरिनु पर्ने कामहरु त धेरै छन् । तर यतिखेर मैले देखेको महत्वपूर्ण कुरा चै केहो भने हाम्रो नेपाली साहित्यको थुप्रै किताबहरु अन्य भाषामा अनुवाद त गरिएका छन् तर पनि विश्व साहित्यमा नेपाली साहित्य अज्ञात अवस्थामा नै छ । एसियाको साहित्यभित्र नै हाम्रो साहित्यको नामोनिसन भेट्टाउन सकिन्न । यसर्थ विश्व साहित्यमा नेपाली साहित्यलाई कसरी चिनाउने ? नेपाली साहित्यको उपस्थितिलाई कसरी शसक्त बनाउने भनेर सरकारी स्तरबाट नै विशेष योजनाहरु बनाएर पहल गरे राम्रो हुन्थ्यो ।

साहित्य क्षेत्रमा रुचि भएकाहरूलाई र साहित्यमा प्रवेश हुन चाहनेहरुलाई तपाईंको सुझाव के छ?
ज्ञान बिना उत्कृष्ट साहित्य सृजना गर्न सकिदैन र ज्ञानको लागि अध्यन जरुरी छ । सकेसम्म हरेक विषयवस्तुमा अध्ययन गर्न एकदम जरुरी छ भन्न चाहन्छु नयाँ सर्जकहरुलाई ।

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाँकी छ कि ?
अन्त्यमा साहित्य भनेको मुलभूत रुपमा भावना हो, कला हो, र शब्दहरुको कलात्मक अभिव्यक्ति हो । भावना त हामी सबैसँग हुन्छ । तर जसले भावनालाई कलात्मक रुपमा शब्दहरुमा उनेर अफुलाई अभिव्यक्त गर्छ उ चाँही साहित्यकार भो । र साहित्यकारलाई सामान्य मानिसबाट अलग र बिशेष बनाउने पनि यही कुरा हो । म सधैं साथीहरुसँग कुरा पनि गर्छु सिद्दान्तको लागि लेख्ने कि जन जीवनको लागि लेख्ने ? सिद्दान्तको लागि मात्र लेख्न खोज्दा समाज छुट्ला । यसैले म त के भन्छु भने सरल, मिठो र सबैले बुझ्ने साहित्य लेखौ । हामीले लेख्ने समाजको लागि हो अनि समाजले नै बुझेन भने के अर्थ हाम्रो लेखाइको ? होइन र ? मानी लिनोस्- कुनै सभा हलमा सय जना मान्छे छन् । सयमा बिस जना साहित्यकार होलान् र अरु असी जना सामान्य । त्यहाँ भएका ती बिस जनाले मात्रा हैन ती अरु असी जनाले पनि हाम्रो साहित्य बुझोस् र मन पनि पनि पराओस् । त्यस्तो साहित्य सृजना गरु भन्ने लाग्छ मलाइ ।

Loading...