नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा शोक विज्ञप्ति
काठमाडौ – पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएपछी नेपाल प्रज्ञा–प्रतिष्ठानले एक विज्ञप्ति जारि गर्दै शोक विज्ञप्ति जारि गरेको छ | स्वर्गीय रबिन्द्र अधिकारीको ताप्लेजुङ्गमा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गएको थियो | उक्त दुर्घटनामा मन्त्री अधिकारी सहित अन्य ६ जनाको ज्यान गएको थियो |
विज्ञप्तिको पुर्ण पाठ
शोक विज्ञप्ति
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक श्री रवीन्द्रप्रसाद अधिकारीको मिति २०७५ फागुन १५ गते बुधवारका दिन ताप्लेजुङको सिस्नेभिरमा भएको हेलिकप्टर दुर्घटनामा परी ५० वर्षको अल्पायुमै निधन भएकोमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिवार शोकाकुल बनेको छ । मन्त्री अधिकारीको निधनबाट नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन, कला आदि वाङ्मयका मर्मज्ञ तथा कुशल संरक्षक गुमाएको छ भने नेपाल राष्ट्रले सामाजिक रूपान्तरणका लागि अग्रगामी चेतना बोकेका एक जना ऊर्जाशील, विकासप्रेमी, लोकप्रिय, प्रखर र हंसमुख युवा नेता गुमाएको छ । उहाँको असामयिक निधनबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उद्घोषसहित विकास अभियानमा अगाडि बढिरहेको राष्ट्रलाई गम्भीर र अपूरणीय क्षति भएको छ । यस दुःखद घडीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु । साथै शोकसन्तप्त उहाँका आमाबुबा, पत्नी, छोराहरू लगायत समस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
उक्त हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, माननीय मन्त्रीका अङ्गरक्षक तथा नेपाली सेनाका जमदार अर्जुन घिमिरे तथा हेलिकप्टर चालक प्रभाकर के.सी.प्रति समेत नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकविह्वल समस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
मिति -: २०७५ फागुन १५ गते बुधवार …………………………..
नेपाल प्रज्ञा–प्रतिष्ठान (गङ्गाप्रसाद उप्रेती)
कुलपति