जानु काम्बाङको कथासङ्ग्रह तथा गीति एल्बम विमोचित
काठमाडौं – बेलायतमा रहँदै आएकी साहित्यकार जानु काम्बाङ लिम्बूको कथा सङ्ग्रह ‘नउघ्रेको जुन’ तथा गीति सिडी ‘जानु’को सोमबार बागबजारस्थीत होटल हार्दिकमा विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाबाट कृति विमोचन भएको हो । विमोचन कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, गंगाराज मुकारुङलगायत थुप्रै संगीतकर्मीहरूको उपस्थिति रहेको थियो । सिडीमा समावेश दुई गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो । काम्बाङ पछिल्लो समयमा चर्चित आईटम गीत “बेची दिन्थे यो जवानी, किन्ने कोहि भई दिए” गीतको शब्द रचनाकार पनि हुन् ।
कथा सङग्रहको समिक्षा गर्दै साहित्यकार विना थिङ तामाङले नउघ्रेको जुनका सबै कथाहरू सामाजिक धरातललाई टेकेर लेखिएको बताएकी थिइन् । प्रायः कथाहरू प्रथम पुरुषमा लेखिएकोले कथा हो या संस्मरण भन्ने कुरामा भ्रम तुल्याउने पनि बताएकी थिइन् ।
गीतकार समाजका महासचिव शुभ मुकारुङले जानु काम्बाङ गीतकार समाज युकेको अध्यक्ष पनि भएकोले संस्थागत शुभकामना दिन आइपुगेको बताएका थिए । गीतहरूको समिक्षा गर्दै डा. भक्त राईले आफू गीतकार नभएकोले तर लोकगीतमै पिएचडी गरेकोले समिक्षा गर्न आग्रह आएको प्रसँग निकालेका थिए । साहित्यको विद्यार्थी भएकोले गीतलाई सैद्धान्तिक तथा मर्मलाई बुझ्नुपर्ने बताएका थिए । गीतकारले एकातिर शब्द लेख्ने, संगीतकारले भाव नबुझी संगीत भर्ने प्रवृतिले गीत बिग्रदै गएको कुरा भक्त राईले उजागर गरेका थिए । संगीतकारले गीतकारसँग बसेर भाव, पृष्ठभूमिबारे बुझेपछि मात्र संगीत थाल्नु उत्तम हुने राईले जोडेका थिए ।
कार्यक्रमको बिचमा जानु गीतिएल्बमसँग सम्बन्धित गायक÷गायिका, संगीतकार, प्राविधिकलाई टोकन अफ लभले सम्मान गरिएको थियो । प्रवासमा सँधै कामैकाम मात्र हुने प्रसँग निकाल्दै स्रष्टा जानु काम्बाङले केही फुरेको खण्डमा ट्वाइलेट जाँदै मोवाइलमा लेख्नुपरेको बताएकी थिइन् । उनले भुकम्पअगाडि नै कथासङ्ग्रह प्रकाशन गर्न खोजेको भए पनि प्राविधिक कारणले ढिलो हुन पुगेको पनि बताएकी थिइन् । अघिल्लो दिनमात्र नेपाल आइपुगेको र फेसबुक तथा फोन सम्पर्कको माध्यमबाट सहभागी भएका सबैलाई स्वागत तथा धन्यवाद ज्ञापन गरेकी थिइन् ।
प्रमुख अतिथि वैरागी काइँलाले जानु काम्बाङ नाम सुन्दै आएको तर पढ्न भने नपाएको बताएका थिए । काइँलाले काम्बाङहरू पाँचथरमा मात्र रहेको ठानेको तर ताप्लेजुङमा पनि प्रशस्त रहेको पछि थाहा पाएको पनि बताएका थिए । काइँलाले फस्टाउँदो डिजीटल माध्यमले धेरै कामहरू हुँदै गरेको भए पनि आफू भने प्रमाणित भएकोलाई मात्र मान्न सक्ने बताउँदै सामाजिक सञ्जालबाट आएको निम्तो अझै भर पर्न नसकेको कुरा उल्लेख गरेका थिए ।
विमोचन कार्यक्रम नेपाल वाङ्मय परिषद्ले आयोजना गरेको थियो । परिषद्का अध्यक्ष शशि लुमुम्बुले सभापतित्वमा भएको कार्यक्रमको समापन गर्दै नेपालबाट टाढा बेलायत रहेकी जानु काम्बाङले नेपाली साहित्य र संगीतको लागि दिलोज्यान दिदै आएको बताएका थिए ।
कार्यक्रमलाई परिषद्का सचिव टीका चाम्लिङले सञ्चालन गरेका थिए ।