किरण टि लिम्बूको एल्बम ‘भावनाका फूलहरू–३’ विमोचित
काठमाडौं, १७ साउन । गीतकार किरण टि लिम्बूको एल्बम ‘भावनाका फूलहरू–३’ शुक्रबार रकहाउस क्याफे रातोपूलमा विमोचन भएको छ । वरिष्ठ गीतकार राजेन्द्र थापा, साहित्यकार तथा गायक गणेश रसिक, मेजर काजिमान लिम्बूलगायतको उपस्थितिमा एल्बमको विमोचन गरिएको हो । यो एल्बमको तेश्रो सिर्जना हो ।
वरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकले आफूलाई किन समीक्षा गर्न दिइएकोमा अचम्म लागेको बताए । किनभने यसभन्दा अगाडिका एल्बमहरू गणेश आफैले विमोचन गरेका रहेछन् । किरण टि आफैमा निरन्तर लागिरहने गीतकार रहेको रसिकको कथन थियो । एल्बममा रहेको ५ वटा गीतलाई ६ जना गायकगायिकाले गाएकामा ४ वटा गीतलाई संगीतकार उत्तमजङ्ग लावतीले गरेका छिन् । गीतहरू समकालीन गीतहरूभन्दा पृथक र नौलो भएको रसिकले बताए । संगीतकारमा शास्त्रीय चेत रहेको बताउँदै अनु चौधरीको आवाजमा रहेको गीत असाध्यै मर्मस्पशी रहेको बताए । गीत लेखनमा गीतकारहरूले जिवन्ततामा ध्यान दिनुपर्ने रसिकको सुझाव थियो ।
मेजर काजिमान लिम्बूले गीतसंगीतको विषयमा प्रतिक्रिया दिनु अफ्ठ्यारो लाग्ने तर आफ्नै भाइको तेस्रो एल्बम विमोचन भैरहेकोमा बधाइ व्यक्त गरेका थिए । आउँदा दिनहरूमा सबैलाई रुवाउने, हसाउने र मन छुने गीत ल्याउनु भन्ने शुभकामना व्यक्त गरेका थिए ।
गीतकार किरण टि लिम्बूले गीतसंगीत मानिसको साथी रहेको बताएका थिए । बाल्यकालदेखि नै गीत सुन्ने र लेख्ने गरेको किरण १८ बर्षको ब्रिटिस सेवामा लागेका बेला गीत लेखिरहेको बताए थिए । ‘त्यो लेखन अहिले पनि निरन्तर छ’ उनको भनाई थियो । पत्रकारिता पनि गरेका किरणले सुनसरी जिल्लामा पत्रकार महासङ्घको सदस्यता पनि लिएका रहेछन् । गीत लेख्नु मात्रै ठूलो कुरा नभई यसलाई साथको आवश्यक रहने बताउँदै समिक्षकले गल्ति औल्याइदिए आफुलाई सच्चिने मौका दिने बताए । लेख्ने क्रम जारी रहने आउने साल गजल संग्रह पनि आउने बताए । उनले लेखेको गीत चलचित्र निम्तोमा समावेश भएको र यस चलचित्रको चाडै छायांकन हुने बताए ।
वरिष्ठ गीतकार राजेन्द्र थापाले आफूलाई जोकोही गीत मननपर्ने बताएका थिए तर यस एल्बमको एक टुक्रा गीत सुन्दा नै यसमा केही छ भन्ने महसुस भएको बताए । ‘लेखाइ जन्मसिद्द हो । सेना त उमेर पुगेपछि खाइने जागिर हो । सैनिकमा पनि नरमपना हुन्छ । परिवार त्यागेर अर्काको लागि मर्न सक्ने मान्छे जति नरम अरु को होलान् त ? त्यसैले सेनामा पनि भावना हुन्छ ।’ पूर्व सेनासमेत रहेका उपन्यासकार तथा गीतकार राजेन्द्र थापाले किरण टि का गीतमा यस्ता विचार व्यक्त गरेका थिए ।
गीतकार संघ अध्यक्ष चुडामणी देवकोटाले यस एल्बम गीतकार संघको ब्यानरबाट बिमोचन भएकोमा हर्षित भएको बताएका थिए । जन्मदेखि मृत्युसम्म साक्षी बस्ने गीत साहित्यको पुरानो विधा भएको बताउँद्रै यसले भाषा र पहिचानलाई बचाउने र मनोरञ्जन गराउने, चेतना दिने शक्ति पनि गीतमा हुने बताएका थिए । शब्दमा समेत शक्ति हुने भएकोले शक्ति प्रयोग गर्दा सर्जक सचेत हुनुपर्ने तर बन्धनहिन भएर पस्किनुपर्ने उनको सुझाव थियो । संयमित भएकार गीत लेख्दा समाजलाई जोड्ने मानवियता बाढ्ने देवकोटाको तर्क थियो । खेल खेल्दा फलानो जातले जित्यो नभनिने देशले जित्यो भनेजस्तै त्यसैले साहित्य र संगीतले पनि समाजलाई जोड्ने देवकोटाले बताए ।
गीतकार संघका महासचिव शुभ मुकारुङले स्वागतमन्तव्य दिएको कार्यक्रममा एल्बमका गायक, संगीतकार तथा अतिथिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।