ककनीमा, श्री ककनी गणेश सहकार्य पुस्तकालय संचालनमा
विचारी चाम्लिङ्ग / नुवाकोट – नुवाकोटको ककनी स्थित रुडेक नेपाल, एसभीए (SVA), रुम टु रिड लगायतका संस्थाहरुले वालवालिकाहरुमा एउटा पढ्ने विकास र उनीहरुको बौद्धिक क्षमता बढाउने उदेश्यले श्री ककनी गणेश सहकार्य पुस्तकालय हालै संचालनमा ल्याएका छन् । गत वर्षको लाईब्रेरी दिवसको अवसर पारेर ककनी गणेश आधारभूत विद्यालय कै प्राङ्गणमा कार्यक्रमको आयोजना गरि पुस्तकालय सार्वजनिक गरिएको थियो ।
ककनी गाउँपालिका प्रमुख मानबहादुर लामा, रुडेक नेपालका मिनकुमार केसी र ककनी गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष रामबहादुर लामाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । हाल उक्त ककनी गणेश सहकार्य पुस्तकालयमा नेपाली अंग्रेजी तथा विभिन्न मातृभाषा कथा, कविता,वाल साहित्य,वाल उपन्यास, चुट्किला जस्ता पाठ्य सामाग्रीहरु चार हजार भन्दा बढि रहेको र पुस्ताकालयमा उपलब्ध भएका पुस्तकहरु जो सुकैले पनि नि:शुल्क रुपमा अध्ययन गर्न सक्ने कुरा श्री ककनी गणेश आधारभूत विद्यालयकी प्रध्यानाध्यापक सिता रुम्बाले बताईन् ।
यस पुस्तकालयमा विशेष गरेर वालवालिकाहरुलाई पढ्ने बानि बसाल्ने र उनीहरुको क्षमता विकासका लागि यस पुस्तकालयको सुरुवात गरेको पनि प्रधानाध्यापक सिता रुम्बाले बताईन् ।
यस्ता पुस्तकालयहरु यहाँका सामुदायिक विद्यालय र ग्रामिण भेगका स-साना नानीहरुको लागि पहुँच भन्दा बाहिरका कुरा भएकोले यो पुस्तकालय अत्यन्तै उपयोगी भएको पनि रुम्बाले बताईन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका मानबहादुर लामाले “ककनी लगायत जिल्लाको सबै स्थानहरुमा शैक्षिक सुधार कार्यक्रममा पुस्तक, फर्निचर,शैक्षिक सामाग्रीहरु नि:शुल्क रुपमा प्रदान गर्दै आएका रुडेक नेपाल,एसभीए र रुम टु रिडले समयको माग र वालवालिकाको आव्यश्यकतालाई मध्यनजर गरी पुस्तकालय संचालन गरेकोमा सम्पूर्ण वालवालिकाहरुलाई आफ्नो पढाईमा रुचि बढाउन ठूलो मद्धत पुग्नेमा दुई मत नरहेको बताए ।
अर्का वक्ता रुडेक नेपालका प्रतिनिधि केसीले हाम्रो यो सानो प्रयासले मातृ भाषा र राष्ट्रिय भाषाहरुमा उच्च गुणस्तरका स-साना नानिहरूको पुस्तकहरुको पहुँच सुधार गर्न र सामुदायिक समाधानहरु सृजना गर्दछ भने ।