नेपाल प्रज्ञा प्रतिष्ठानको चार बर्षे कार्य विवरण र सम्पादन
ईन्द्र जिजीबिषा / काठमाडौ – नेपाल प्रज्ञा प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालको कार्य प्रगति र सम्पादन गरेका कार्यहरुको विषयमा जानकारी गराएको छ । २०७१ साल भाद्र २० गते ४ बर्षका लागि नियुक्त भएको वर्तमान प्राज्ञ परिषदको अवधि २०७५ साल भाद्र १९ गते सकिदै छ । आफ्नो कार्यकालमा गरिएका प्रगति विवरणको जानकारी गराउन उक्त पत्रकार सम्मेलन गरिको थियो ।
प्रज्ञा प्रतिष्ठानको लागि आ.व २०७५/७६ को लागि १७ करोडको बजेट स्वीकृत भएकोमा हाल १९ करोड ९३ लाखको लागतमा प्रज्ञा प्रतिष्ठानको मूल भवन निर्माण भईरहेको र यो पुरा हुन अन्तिम चरणमा रहेको पनि पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले बताएका छन् । प्रज्ञा प्रतिष्ठानका मूल भवन विगत लामो समयदेखि मर्मत हुन सकेको थिएन ।
प्रज्ञा प्रतिष्ठानको विभिन्न शिर्षकमा जस्तै :- लेखक कलाकारहरुलाई उपचार सहयोग शिर्षकमा २४ लाख ६ हजार, साहित्यिक पत्रिकाहरुलाई सहयोग शिर्षकमा २२ लाख २ हजारको खर्च विवरण पेश गरेको छ । यस्तै प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीकै कार्यकालमा १० करोड ६८ लाख ७५ हजार ४ सय ५१ बराबरको चार रङको छपाइ मेसिनसहित, कटिङ, बाइन्डिङ, फोल्डिङ, स्टिचिङ, सिटिपी, कलर प्रिन्ट प्रोडक्सन, ह्वाइट एन्ड ब्ल्याक प्रिन्ट प्रोडक्सन, लेमिनेसन मेसिन सहितको आधुनिक छापाखाना जडान भई सञ्चालनमा ल्याएको पनि जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा पुस्तक प्रदर्शनीको पनि कुलपति गङ्गा प्रसाद उप्रेतीले उद्धघाटन गरेका थिए । प्रज्ञा प्रतिष्ठानले “समकालीन साहित्य” त्रैमासिक “प्रज्ञा गतिविधि”अर्ध वार्षिक, “कविता” चौमासिक पत्रिका, “प्रज्ञा” शोध मुलक अर्धवार्षिक, “रुपान्तरण ” नेपाली बाट हिन्दी, अंग्रेजी अनुवाद पत्रिका “नेपाली साहित्य, कला र संस्कृति” (Journal of Nepal Literature Art & Culture ) लगायतका पत्र पत्रिकाहरु पनि नियमित रुपमा प्रकाशन गर्दै आएको जनाएको छ ।
परिषद्ले आफ्नो कार्यकालमा सम्पादन गरेका प्रमुख कार्यहरू यस प्रकार छन् ।
प्रकाशन
यस कार्यकालमा मैथिली शब्दकोश, भोजपुरी शब्दकोश, तामाङ शब्दकोश, प्रज्ञा संस्कृति कोश, सङ्क्षिप्त साहित्यिक कोश, अनुवादक कोश, नारी साहित्यकारहरू, नेपाली डायस्पोराका कविता, नेपाल प्रज्ञा–प्रतिष्ठानको गौरवमय साठी वर्ष, नेपाली बृहत् शब्दकोशका नयाँ संस्करणहरू, नेपाली नारी साहित्यकार (परिचय कोश) लगायत विभिन्न भाषासँग सम्बन्धित विभिन्न विधाका १०५ महत्वपूर्ण कृतिहरू प्रकाशन भइसकेका छन् भने २.५ दर्जन कृतिहरू छपाइका लागि छापाखानामा पठाइएका छन् । यसरी नै करिब २ दर्जन अन्य कृतिहरू सम्पादन पश्चात् प्रकाशनमा पठाइने तयारीमा छन् ।
पुस्तकहरूका अतिरिक्त ‘कविता’, ‘समकालीन साहित्य’, ‘सयपत्री’, ‘प्रज्ञा’ (अनुसन्धानमूलक पत्रिका), ‘रूपान्तरण (त्रिभाषिक अनुवादमूलक पत्रिका), `Journal of literature Art and Culture, ‘थाय्भु’ (नेपाल भाषाको पत्रिका), ‘आङन’ (मैथिली भाषाको पत्रिका), ‘फक्ताङलुङ’ (लिम्बू भाषाको पत्रिका), ‘महुआ’ (भोजपुरी भाषाको पत्रिका) र ‘प्रज्ञा गतिविधि’ (समाचारप्रधान पत्रिका) नियमित रूपमा प्रकाशित भएका छन् ।
अध्ययन–अनुसन्धान र अनुवाद
नेपाल प्रज्ञा–प्रतिष्ठानले यस कार्यावधिमा भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित अनुसन्धान परियोजना अन्तर्गत विभिन्न विद्वानहरु बाट अध्ययन–अनुसन्धन गराएको र निम्न अनुसार अनुसन्धान प्रतिवेदनहरु आएको जनाईएको विज्ञप्तिमा उल्लेख छ ।
आ.व. २०७१-०७२– ४३
आ.व. २०७२-०७३– ४६
आ.व. २०७३-०७४– ५३
आ.व. २०७४-०७५– ४१
जम्मा १८३
गोष्ठी–सम्मेलन र कार्यशाला
राजधानी काठमाडौँ र देशका विभिन्न भागमा गोष्ठी, सम्मेलन र कार्यशाला सञ्चालन गरिएका थिए । हीरक महोत्सवका अवसरमा तिनदिने गोष्ठीहरू सञ्चालन भएका थिए र कार्यपत्र प्रस्तुतिका साथै समूह छलफल समेत गरिएका थिए । माल्टा विश्वविद्यालयसँगको सहकार्यमा भएको दर्शन सम्बन्धी गोष्ठी र साइन्स एन्ड साइन्टिस्ट जस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूका साथै गैरआवासीय नेपाली सङ्घसँगको सहकार्यमा पनि अन्तर्राष्ट्रिय महत्वका गोष्ठीहरू सम्पन्न भएका थिए । यी सबै गोष्ठीहरू विभिन्न आ.व.मा निम्नलिखित सङ्ख्यामा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
आ.व. २०७१-०७२– ५०
आ.व. २०७२-०७३– ५२
आ.व. २०७३-०७४– ५५
आ.व. २०७४-०७५– ६५
जम्मा २२७
लेखक कलाकारहरूलाई उपचार सहयोग
नेपाल प्रज्ञा–प्रतिष्ठानले आवेदक लेखक र कलाकारहरूलाई कार्यविधिका आधारमा सम्बन्धित समितिले सिफारिस गरेअनुसार निम्न अनुसार आर्थिक सहयोग प्रदान गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
आ.व. सङ्ख्या रकम
आ.व. २०७१/०७२– २१ ७ लाख ४१ हजार
आ.व. २०७२/०७३– १३ ४ लाख ३० हजार
आ.व. २०७३/०७४– २७ ५ लाख ५५ हजार
आ.व. २०७४/०७५– २३ ६ लाख ८० हजार
जम्मा ८४ २३ लाख ४९ हजार
साहित्यिक पत्रिकाहरूलाई सहयोग
नेपाल प्रज्ञा–प्रतिष्ठानले सूचना प्रकाशन गरी आवेदक साहित्यिक पत्रिकाहरूलाई निम्न अनुसार आर्थिक सहयोग उपलब्ध गराएको प्रेस विज्ञप्तिमा जनाईएको छ :
आ.व. सङ्ख्या रकम
आ.व. २०७१/०७२– ६० ५ लाख १४ हजार
आ.व. २०७२/०७३– ४३ ५ लाख ५० हजार
आ.व. २०७३/०७४– ५० ५ लाख ५६ हजार
आ.व. २०७४/०७५– ५४ ५ लाख ८२ हजार
जम्मा ८४ २२ लाख २ हजार
प्रज्ञा–पुरस्कार
निम्नलिखित विद्वानहरुलाई प्रज्ञा–पुरस्कार अर्पण गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
क्र.सं. नाम पुरस्कार
१. डा. तारानाथ शर्मा “पृथ्वी प्रज्ञा पुरस्कार”
२. डा. माधवप्रसाद पोखरेल “नेपाल प्रज्ञा भाषा पुरस्कार”
३. प्रा.डा. नोबलकिशोर राई “नेपाल प्रज्ञा भाषा पुरस्कार”
४. प्रा.डा. रामावतार यादव “नेपाल प्रज्ञा भाषा पुरस्कार”
५. श्री राजेन्द्र प्रसाद विमल “नेपाल प्रज्ञा संस्कृति पुरस्कार”
६. डा. जगमान गुरुङ “नेपाल प्रज्ञा संस्कृति पुरस्कार”
७. प्रा.डा. वीणा पौड्याल “नेपाल प्रज्ञा संस्कृति पुरस्कार”
८. श्री दधिराज सुवेदी “नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार”
९. श्री गीता केशरी “नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार”
१०. श्री नरेशकुमार शाक्य “नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार”
११. श्री विमल निभा “नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार”
१२. श्री ध्रुव सापकोटा “नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार”
१३. श्री येहाङ लावती “नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार”
१४. श्री महेश चौधरी “नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार”
१५. श्री प्रतिसरा साय्मि “नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार”
१६. श्री सच्चिदानन्द चोबे “नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार”
१७. श्री गडुलमान राई “नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार”
१८. श्री फूलसिंह राजवंशी “नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार”
१९. श्री अब्दुल लतिफ शौक “नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार”
२०. श्री सोमबहादुर धिमाल “नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार
२१. श्री पदम राई “नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार”
२२. श्री धनबहादुर माझी “नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार”
हीरक जयन्ती विशिष्ट प्रतिभा पुरस्कार
हीरक जयन्तीको अवसरमा निम्नलिखित विद्वानहरुलाई विशिष्ट प्रतिभा पुरस्कार अर्पण गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ
१. श्री आनन्ददेव भट्ट २. श्री चूडामणि रेग्मी
३. श्री जसराज किराती ४. डा. तारानाथ शर्मा
५. श्री तेजेश्वरबाबु ग्वङ्ग ६. श्री दीपनारायण मिश्र
७. श्री नारायणप्रसाद शर्मा ८. श्री रमा शर्मा
९. श्री शङ्करनाथ रिमाल १०. श्री शान्तदास मानन्धर
आजीवन सदस्यता
यस कार्यकालमा निम्नलिखित विद्वानहरुलाई आजीवन सदस्यता प्रदान गरियो
१. श्री मोदनाथ प्रश्रित २. प्रा.डा. वासुदेव त्रिपाठी
३. श्री निरञ्जन (निनु) चापागाईं ४. श्री मञ्जु काँचुली
निर्माण
रु. १९ करोड ९३ लाखको लागतमा भइ रहेको मूल भवन पुनर्निर्माणको काम अन्तिम चरणतिर पुगेको पत्रकार सम्मेलनमा जारि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यसमा रेक्ट्रोफिटिङ, ध्वनि, श्रव्य, विद्युत्, कुर्सी, पर्दा, डबली, फोहोरासहितको पोखरी, शौचालय, लिफ्ट आदिका अधिकांश काम सम्पन्न भएका छन् भने ढल, एसी र कार्यकक्षसँग सम्बन्धित केही कामहरु छिट्टै सम्पन्न हुने बताईएको छ ।
नेपाल– भारत मैत्री भवन । यसबीचमा नेपाल–भारत मैत्री भवन निर्माण भई हस्तान्तरण भयो र त्यसमा आधुनिक छापाखाना, पुस्तकालय र सभाकक्ष सञ्चालनमा आएका छन् । प्रज्ञा–परिसरमा हाल सञ्चालित चमेना गृह पनि यसै कार्यकालमा निर्माण भएको हो ।
आधुनिक छापाखाना
यसै कार्यकालमा १० करोड ६८ लाख ७५ हजार ४५१ रूपैयाँ (मूल्य अभिवृद्धि कर बाहेक) को लागतमा चार रङको छपाइ मेसिनसहित, कटिङ, बाइन्डिङ, फोल्डिङ, स्टिचिङ, सिटिपी, कलर प्रिन्ट प्रोडक्सन, ह्वाइट एन्ड ब्ल्याक प्रिन्ट प्रोडक्सन, लेमिनेसन मेसिन सहितको आधुनिक छापाखाना जडान भई सञ्चालनमा आएको बताईएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध
बाङ्ग्ला एकेडेमी र पाकिस्तान एकेडेमी अफ लेटर्ससँग प्राज्ञिक आदान प्रदानको सम्झौता भयो भने चाइना फेडरेसन अफ लिटरेरी एन्ड आर्ट सर्कल्स र गैर आवासीय नेपाली संघसँग सम्झौता नवीकरण भयो । चीन, बाङ्ग्लादेश र पाकिस्तानका प्रतिनिधि मण्डल नेपाल आउने र नेपाली प्रतिनिधि मण्डल चीन, भारत र बाङ्ग्लादेश गई सम्झौता कार्यान्वयन लगायत प्राज्ञिक आदानप्रदान बारे विचार विमर्श गरियो ।
पुस्तकालय व्यवस्थापन
यसै कार्यकालमा नेपाल–भारत मैत्री भवनमा अत्याधुनिक पुस्तकालय सञ्चालन भइरहेको र यसलाई इ–लाइब्रेरीमा विकसित गर्न कम्प्युटरका माध्यमबाट भइ रहेको क्याटलगिङको काम अन्तिम चरणमा पुगेको छ । क्याटलगिङको काम सम्पन्न भएपछि इन्टरनेटका माध्यमबाट नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेका पुस्तकहरुबारे जानकारी पाउन सकिने बताईएको छ ।
संग्राहलय
यसै कार्यकालमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेका विभिन्न बाजा, वेशभूषा र ध्वनिचक्काहरु रहेको सङ्ग्र्रहालय व्यवस्थित गर्ने काम आरम्भ गरिएको छ । नयाँ प्रशासनिक भवन बनेपछि हालका पदाधिकारीका कार्यकक्षहरुलाई प्रतिष्ठित साहित्यकारहरुका नाममा सङ्ग्र्रहालय सञ्चालन गर्ने लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रशासनिक सुधार
कर्मचारी कलाकारसँग सम्बन्धित नियुक्ति र बढुवाका कामहरु लोकसेवा आयोग र नेपाल प्रज्ञा–प्रतिष्ठान सेवा आयोगमार्फत व्यवस्थित रूपमा सम्पन्न भएका छन् । यस अवधिमा प्रथम श्रेणीका अधिकृत ३, द्वितीय श्रेणीका अधिकृत ५, तृतीय श्रेणीका अधिकृत ३, ना.सु. २, खरिदार १ र मुखिया ३ पदमा गरी १८ जनाको बढुवा भएको छ भने तृतीय श्रेणीका अधिकृत २, पुस्तकालय व्यवस्थापक (तृतीय श्रेणीका अधिकृत) १, सम्पादक (तृतीय श्रेणीका अधिकृत) १, ना.सु. १, ना.सु. (कम्प्युटर अपरेटर) १, खरिदार (कम्प्युटर अपरेटर) १, टेलिफोन सहायक (रा.प. अनं. तृतीय श्रेणी सरह) १ र चालक (श्रेणीविहीन) १ समेत गरी ९ जनाको स्थायी पदपूर्ति गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लेखक साहित्यकार परिचय पत्र
लेखक / साहित्यकार परिचय पत्र वितरण सम्बन्धि कार्यविधि -२०७५ पनि पारित गरेको प्राज्ञ प्रतिष्ठानले जारि गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानले २०७१ भदौ देखि हालसम्म १०६ वटा पुस्तक प्रकाशन गरिसकेको र ४२ वटा पुस्तकहरु प्रकाशनको लागि छापाखानामा पुगी सकेको पनि जनाएको छ ।

पुस्तक प्रदर्शनीमा राखिएका पुस्तकहरु

प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माण पछि नयाँ कार्यक्रम हल

