किरात राई विद्यार्थी संघले २० औं स्थापना दिवस भव्यताको साथ मनायो
लिम्चुङबुङ को विरुवा रोप्दै, ‘किन किरात प्रदेश’ नामक पुस्तक समेत सार्वजनिक
काठमाडौ – काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खा परिसरमा ‘लिम्चुङबुङ’को विरुवा रोपेर किरात राई विद्यार्थी संघले २० औं स्थापना दिवस मनाएको छ । ‘पूर्ण संघीयता र व्यवहारिक शिक्षाको लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँगाउँ जागरण अभियान’ भन्ने मूल नारा रहेको थियो ।
लिम्चुङबुङलाई किरातीहरुले प्रेमको प्रतिकको रुपमा मान्दै आएका छन् । यो एक प्रकारको जंगलमा पाईने सुगन्ध युक्त वनस्पति हो ।
संघले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत गरेको थियो । जसमा दुई दर्जनभन्दा बढीले रक्तदान गरेका थिए ।
कार्यक्रममा दिउँसो भने किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यतामा लिम्चुङबुङ रोपन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा पत्रकार जनकऋषि राईद्वारा लिखित् ‘किन किरात प्रदेश’ नामक पुस्तक समेत सार्वजनिक गरिएको छ । उक्त पुस्तकमा प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्दा उपयुक्त हुने तर्कहरु पेस गरिएको छ ।
कार्यक्रममा यायोक्खाका सल्लाहकार दुर्गा राई, संघका पूर्वअध्यक्ष तथा यायोक्खाका पूर्वमहासचिव चन्द्रविक्रम राई, पूर्व उपसचिव बिजेन्द्र राई, संघका पूर्व अध्यक्ष अर्जुन जम्नेली राई, राष्ट्र निर्माण अभियान्ता तथा अधिवक्ता किवाङ हाङ राई, यायोक्खा अन्तर्गत भातृसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।