किरात, खम्बु, राय, राई
किरात, खम्बु, राय, राई र जातीय एकता बारे
घर झगडा सानै कारणबाट शुरु हुन्छ । समयमा यसले समाधान पाएन भने यस्तो झगडाले परिवारको भविश्यलाई नै ध्वस्त बनाउँछ । यतिबेला एकैघरका सदस्यहरु कोही राई होइनौ, किरात हौं भन्दै हुनुहुन्छ । कोही किराती होइनौ खम्बु हौं भन्दै हुनुहुन्छ । खासगरि किरात राई यायोक्खाले ‘राई’ पहिलादेखि नै जात भएको तर्क प्रस्तुत गर्दै राई होइनौ भन्नेहरुलाई अस्विकार गर्दै आएको छ । खम्बु भन्न रुचाउनेहरुले किरातको दुई पन्ने इतिहास स्विकार गर्दैनौ भन्नु हुन्छ । यी धेरै वटा विवादको बीचमा अहिले हामी अल्झेका छौं । पहिचान सहितको सङ्घीय राज्य निर्माणको लागि एकजुट भएर अगाडि बढ्नु पर्ने बेलामा आपसी बिबादमा अल्झिँदा मूल मुद्दा कम्जोर बनिरहेको छ । यसबेला सबै खाले बुझाईहरुको बीचबाट एकता खोजिनु पर्छ ।भेटिएका केही तथ्यमाथिको बिमर्श र बैयक्तिक विचारहरुलाई यहाँ राख्दैछु, बहस शुरु होस् भन्ने कामना सहित ।
जातको उत्पत्तिबारे
१) मानव भन्दा जात/जाति जेठो होइन, अर्थात हामीले मानवको रुप लिएको हजारौं वर्षपछि मात्र जात/जतिको सृष्टी भएको हो । त्यसैले प्रारम्भिक चरणमा हाम्रो कुनै जात/जाति थिएन ।
२) मानवको उत्पति स्थल र बसाइँ सराईले आकृति, रंग, बानी व्यवहार र सामाजिक क्रियाकलापमा प्रभाव पारेको छ । त्यसैले नै भाषा, संस्कृति, संस्कार अलग भएको हो ।
३) बसाइँसराईद्वारा एक स्थानमा विकसित भएको झुण्ड र अर्को स्थानमा विकसित भएको झुण्डको भेटपछि आपसमा मेलसँगै बेमेल सुरु भएको छ । मेलले समिश्रण गराएको छ भने बेमेलले हत्या, हिंसा र युद्ध थोपरेको छ ।
४) विश्वमा हाल कायम रहेको कुनै पनि जात/जाति शुद्ध छैनन्, अर्थात हालका सबै जात/जातिमा संमिश्रण भेटिन्छ ।
५) जात/जातिको उत्पत्ति दुई वा दुईभन्दा बढी स्थानमा विकसित भएको झुण्डहरु आपसमा भेटिएपछि भएको हो । जात/जातिको उत्पत्ति मेलबाट हैन बेमेलबाट शुरु भएको छ ।
६) जात/जाति अझै बन्ने क्रम जारि नै छ । र, यो निरन्तर जारी नै रहने छ ।
किरात, खम्बु, राय, राई बारे
“किरात”
१) हामीले बोल्दै आएका कुनै पनि भाषामा ‘किरात’ शब्दको ठ्याक्कै अर्थ छैन । ध्वनीलाई ध्यान दिने हो भने हामीले बोल्दै आएका कुनै पनि भाषाको शब्दसँग ‘किरात’ शब्दले सामिप्यता राख्दैन । यस कारण ‘किरात’ शब्द अरु नै भाषा परिवारको शब्द हो भन्न अप्ठ्यारो मान्नु पर्दैन ।
२) किरातको इतिहास अपुरो छ । दुई पन्ने इतिहासले हाम्रो न्याय गर्दैन भन्नु मनासिव हो तर यसो भन्दैमा अरुबाटै थोपरिएको ‘किरात’ शब्दको प्राचिनतालाई भने नकार्न मिल्दैन । र, अरु नै समुदायको धार्मिक–साहित्यिक कृति आदिमा वर्णन गरिएको ‘किरात’ शब्दबाट लजाउनु, धकाउनु पर्ने पनि अवस्था छैन ।
“खम्बू”
१) खम्बू शब्दमा प्राचिनता खोज्नु न्याय संगत छैन । खम्बूको अर्थ खोज्दै जाने हो भने हामी ज्यादै साँघुरो घेरामा मात्र समेटिन्छौं । किरातको दुई पन्ने इतिहासले न्याय गर्दैन भनेर खम्बू हौं भन्नेहरुले खम्बूको त्यही दुई पन्ने इतिहास पनि उप्काउन सक्नु भएको छैन । बिना प्रमाण वा बिना इतिहास “खम्बू” भनेर एकोहोरो कुद्नु पनि समस्याको समाधान होइन ।
“राय”
१) तात्कालिन गोर्खा फौजले कब्जा गर्नु अगाडि पूर्वका सेन राज्यहरु चौदण्डी र बिजयपुरका मन्त्रीहरुलाई दिईएको पदवी हो “राय” । तर चौदण्डी र बिजयपुरमा मात्र नभई अन्य ठाउँमा समेत “राय” पदवी दिईएको भेटिन्छ ।
२) चौदण्डी र विजयपुर राज्यमा “राय” पदवी पाउनेहरुमा पूर्वका सबै किरातीहरु (राई, लिम्बू, सुनुवार, याक्खा) थिए । कतिपय अवस्थामा सेन राजाभन्दा पनि रायहरु शक्तिसम्पन्न भएको र राजालाई लखेटेर आफै राज्य गरेको उदाहरण पनि भेटिन्छन् ।
३) यसर्थ तात्कालिन सेन राज्यमा किरातीहरुले पाएको “राय” पदवीप्रति नकारात्मक हुनुपर्ने कुनै कारण छैन । बंशावली खोज्दै जाँदा वर्तमानका थुप्रै लिम्बू थरहरुको पूर्खा “राय” भएको कुरालाई लुकाएर राख्न आवश्यक छैन । तर सबै किरातीहरुले के कुरामा प्रष्ट हुन आवश्यक छ भने-“राय” पद कुनै एक किरातीलाई होइन राजकाजमा प्रत्येक्ष हात रहेका सबै किराती (वर्तमान राई, लिम्बू, याक्खा, सुनुवार) लाई दिईएको हो ।
“राई”
(१) पृथ्वीनारायण शाहको गोर्खा फौजले माझकिरातमा बिजय प्राप्त गरिसकेपछि स्थानीय शासन सञ्चालन गर्नको निम्ति गाउँका केही अग्रजहरुलाई “राई” पदवी दिएका हुन् ।
(२) “राई” पदवी माझकिरातका किरातीको लागि मात्र दिईएको हो । लिम्बूको लागि “सुब्बा”, सुनुवारको लागि “मुखिया” र याक्खाको लागि “देवान” पदवी दिईएको देखिन्छ । यद्यपि हाल आफूलाई किराती समुदाय भित्र कै दावी गर्ने “दनुवार” लगायत केही जातिले पनि जातको महलमा “राई” लेख्दै आएका छन् । उनीहरुले “राई” कसरी लेख्न पुगे भन्ने कुराको खोजी गर्न त्यति गाह्रो छैन ।
(३) वि.सं. २०४२ सालको जग्गा धनीपूर्जा वितरण र नापीले ‘राई’ पदको पूर्णत: खारेजी गरेको छ ।
(४) वि.सं. २०४२ भन्दा अगाडि ‘राई’ ले आफूले जिम्मा पाएको चार किल्ला भित्र तिरो उठाएर सरकारलाई बुझाउने गर्दथ्यो । गाउँ घरको सामान्य झै–झगडा आदिमा “राई” कै रोहवरमा मिलापत्र हुन्थ्यो । यस वापत राईले आफ्ना जिम्मा भित्रकाहरुसँग केही लिन पाउँथे । ‘हरियो’ अर्थात ‘चिउरी’, ‘झरियो’ अर्थात ‘मरेको राँगा–भैंसी’ र ‘परियो’ अर्थात अरिंगाल राईलाई नसोधी कसैले चलाउन पाउँदैन थ्यो । राईलाई मौलो (राजाले मौलो गाड्थे) नभई सेउली गाड्ने अनुमति थियो । हरेक राईको घरमा सेउली अर्थात मेरी (एक प्रकारको रुख) रोपिएको हुन्थ्यो ।
आफ्नो सीमा भित्र राईले केही विजन (जग्गाको क्षेत्रफल) दिएर अरु ४ जनालाई “राई” बनाउन सक्थ्यो । जसलाई पगरी बाँध्नु वा “राई बाँध्नु” भनिन्थ्यो । राईको मातहतमा जेठाबुढा, करता, माथा लगायतका अन्य पदधारी सहयोगीहरु रहन्थे ।
निक्कै पछि १६ आना जग्गा लिई नयाँ वस्ती राखेपछि किरात बाहेक क्षत्री–बाहुनलाई पनि तिरो उठाउन दिने व्यवस्था गरियो तर उनीहरुलाई “राई” नभनी “जिम्मावाल” भनिएको/लेखिएको देखिन्छ ।
त्यसबेला “राई” बाहेक अन्य (माझकिरातका किरात समुदाय भित्रका) लाई ‘ज्यमी’ अर्थात ‘जिमी’ भनिन्थ्यो/लेखिन्थ्यो । गाउँ घरमा पाईने पुरानो विजन दर्ता किताव वा मिलापत्र आदिमा हर्ने हो भने पहिला “ज्यमी” र पछि “जिमी” लेखिएको भेटिन्छ । यसकारण राई पद केही ब्यक्तिको लागि मात्र पहिला दिइएको हो ।
र, यसैमा एउटा तथ्य के पनि राखौं भने ब्रम्हाण–क्षत्रीको समेत पहिला कुनै थर लेखिएको देखिन्दैन । ब्रम्हाण-क्षेत्रीलाई पाध्ये, जैसी, क्षत्री र सन्यासी मात्र लेखिएको पुरानो कागजपत्र गाउँ घरमा अझै प्रशस्त भेट्न सकिन्छ ।
(५) पहिला “राई” पद पाएकाहरुलाई मात्र “राई” भनिने/लेखिने भए पनि सम्भवत: गोर्खा भर्तिकेन्द्र सञ्चालनमा आएपछि माझकिरातमा “ज्यमी/जिमी” कहलाईएकाहरुलाई जातको महलमा “राई” लेख्न लगाईएको हुनुपर्छ । नागरिकता बितरण गर्न थालिएपछि माझकिरातका सबै किरातीहरु “राई” भए ।
राय र राईमा अन्तर
१) “राय” र “राई” दुवै पद हो । तर “राय” सेनहरुले राजकाजमा महत्वपूर्ण भूमिका भएकाहरुलाई दिएको पदवी हो भने “राई” पृथ्वीनारायण शाहले माझकिरात जितेपछि स्थानीय शासन सञ्चालन गर्नको निम्ति सिमित अधिकार सहित दिएको पद हो ।
(२) “राय” पदवी राजकाजमा महत्वपूर्ण भूमिका हुने सबै किरातीलाई दिइएको देखिन्छ भने “राई” पदवी माझकिरातका किरातीहरुलाई मात्र दिइएको छ । अर्थात सेन कालमा वर्तमान लिम्बू, याक्खा आदिका पूर्खाहरुले पनि “राय” पदवी पाएका थिए भने पृथ्वीनारायण शाहको बिजयपछि माझकिरातका किरातीले “राई” पदवी पाए जस्तै लिम्बूले “सुब्बा”, याक्खाले “देवान” र सुनुवारले “मुखिया” पदवी पाए ।
(३) सेनकालमा “राय” सँग असिमित अधिकार थियो भने “राई” सँग सिमित अधिकार मात्र थियो ।
(४) शब्दको बनोट हेर्दा “राय” र “राई” मा खास अन्तर देखिन्दैन । सामान्यतया “राय” अपभ्रंश भएर “राई” भएको हो भन्ने बुझाई रहँदै आएको छ । सतहमा बसेर हेर्दा यो बुझाई गलत छैन पनि । तर सत्य के हो भने “राय” र “राई” अलगअलग समयमा अलगअलग प्रयोजनको लागि दिईएको पदवी हो । पृथ्वीनारायण शाहकालिन पत्र र लेखोटहरुमा सेनकालिन मन्त्रीको नामको पछाडि प्रष्टसँग “राय” लेखेको भेटिन्छ भने माझकिरातमा गोर्खालीहरुबाट सिमित अधिकार सहित “राई” पदवी पाएकाहरुको नामको पछाडि रायी/राइ/राई लेखिएको भेटिन्छ ।
(५) क्षेत्री, कामी, सार्की, आदिमा “ई” प्रत्येय जोडिए जस्तै “राय” बाट “राई” भएको हुनसक्छ भन्ने तर्क पनि अस्वभाविक नहोला । तर बिजयपुरका “राय” पदवीधारी बुद्धिकर्ण रायले तात्कालिन राजा कर्ण सेनलाई हटाएर आफै राजा भएको आफ्नै आँखाले देखेका चतुर गोर्खालीहरुले माझकिरातमा पराजित किरातीहरुलाई त्यत्रो शक्तिशाली पदवी “राय” नै दिएर स्थानीय सत्ता सञ्चालनको अधिकार दिएका हुन् भनेर विश्वास गर्न सकिन्दैन ।
६) अत: “राय” अपभ्रंश भएर “राई” बनेको होइन, माझकिरातका पराजित किरातीहरुलाई सेनकालिन शक्तिशाली “राय” पदवीसँग मिल्दोजुल्दो पदवी “राई” दिएर भविश्यमा कुनै बिद्रोह नहोस् भनी गोर्खालीहरुले जुक्ती रचेका हुन् ।
“राई” अझै पदवी मात्रै कि जाति ?
(१) “राई” पदवी थियो भन्ने कुरामा अब दुई मत रहेन । तर अब जातिको नाम भैसक्यो भन्नलाई कुनै अप्ठ्यारो मान्नु पर्दैन । करिव चार पुस्ताले लिखित रुपमै जातको महलमा “राई” लेखिसकेको अवस्था छ । अब “राई” लाई जाति होइन भनेर अस्वीकार गर्नु भनेको धेरै कुरा गुमाउनु हो । पहिलो र दोश्रो बिश्वयुद्धमा वीर भनेर कहलाईएका “राई” देखि देश भित्रै “राई” हरुले कायम गरेको इतिहास मेट्न सायद कसैलाई रहर नहोला ।
(२) माझकिरात पूर्खौली थलो भएका चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ, पुमा, वाम्बुले, नाछिरिङ, मेवाहाङ, याम्फु, आठपरहे, बेलाहारे, दुमी, साम्पाङ, खालिङ, तिलुङ, जेरो आदि नै हालका “राई” हरु हुन् । तर कतिपयले यी भाषिक थरहरुलाई नै जाति हो भन्दै आएकाछन् । तर त्यो भनाई सही होइन ।
(३) बाहिरबाट हेर्दा भाषा अलगअलग र संस्कृतिमा केही भिन्नता देखिन्छ । त्यसैले अलगै जात पो हो कि भन्ने लाग्नु अस्वभाविक होइन । तर एउटा जाति हुन भाषा अलग हुनु नै पर्याप्त आधार होइन । फेरि भाषामा पनि कुनै आकाश पातालको फरक छैन । मूल वाक्य प्रायः एउटै भेटिन्छ । भाषासँगै संस्कृती, संस्कार र मनोविज्ञान महत्वपूर्ण पक्षहरु हुन् । ठाउँ अनुसार संस्कृति र संस्कारमा थोरै भिन्नता भेटिए पनि मनोविज्ञान अलग छैन । बरु एक भाषिक समुदायका ब्यक्तिहरुले कुनै सन्दर्भमा देखाएको दम्भ बिरुद्ध केही कुण्ठा भने अवश्य पलाएका छन् । अलगअलग जात हौं भन्नू त्यही कुण्ठाले नै उत्प्रेरित गरिरहेको छ ।
(४) संसारमा जति पनि जात/जाति छन्,ती जात/जातिको नामाकरण काम, पद-पदवी, जिम्मेवारी, बसोवास वा बसाइँसराइको अवस्था आदि अनुसार नै भएको छ भनेर शुरु मै भनिएको छ । यसर्थ “राई” पदबाट “राई” जाति बनेको हो भनेर अप्ठ्यारो मान्नु किन ?
(५) “राई” शब्द हेपिएर भनिएको वा तल पारिएर भनिएको शब्द होईन । किरात राज्यको अधिपत्य लिइसकेपछि त्यहाँ पुनः विद्रोह नहोस् भनेर शक्तिमा रहेका किरातीहरुलाई केही अधिकार सहित दिइएको सम्मानित पदवी हो “राई” । यसकारण “राई” भनिनुमा लघुताभाष हुनुपर्ने अवस्था किन ?
विवाद समाधानको बाटो
१) किरात शब्द हाम्रो भाषा परिवारको शब्द होइन भन्ने सत्य कुरा बोलौं–लेखौं, सुनौं–सुनाऔं । तर किरात शब्दमा अपमान बोध गर्नुपर्ने कुनै अवस्था नभएकोले अरुले नै राखिदिएको यही किरात नामलाई सबै किरातीहरुले ग्रहण गरौं । लिम्बू, राई, सुनुवार, याक्खा, सुरेल, जिरेल, हायू किरात समुदाय भित्रको शाखा अर्थात जात हो भन्ने कुरामा प्रष्ट हौं ।
(२) “खम्बु” शब्दमा अल्झिरहनु कुनै आवश्यकता छैन । तर “खम्बु” नै हाम्रो असली पहिचान हो भन्ने भ्रममा अल्झिएकाहरुलाई भने वास्तविताको बोध गराउन आवश्यक छ ।
(३) राई पहिला जात थिएन पदवी अर्थात पगरी थियो भन्ने वास्तविकतालाई आत्मसात गरौं र अब राई शब्दले जातको रुप ग्रहण गरिसकेको छ भन्ने यर्थाततालाई बुझौं ।
(४) किरात राई यायोक्खाको संरचनालाई परिवर्तन गर्न सबै जुटौं । सर्वप्रथम भाषिक संस्थाहरुलाई बढी प्राथमिकता दिएर सक्षम र सक्रिय बनाऔं । र, यायोक्खाको केन्द्रीय समितिमा भाषिकसंस्थाहरुबाट मात्र निर्वाचित हुने व्यवस्था गरी यायोक्खालाई महासंघीय ढाँचामा लैजाउँ । तब मात्र चाम्लिङ र वान्तवाहरुको वर्चश्व तोडिएर यायोक्खा सबै भाषी राईहरुको हुने छ ।
(५) जातमा राईसँगै चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ, दुमी, खालिङ आदि अर्थात भाषिक पहिचान लेख्ने प्रचलनलाई अभियान कै रुपमा अगाडि बढाऔं । ताकि नागरिक्तामा समेत ……………चाम्लिङ राई,……………वान्तवा राई……..कुलुङ राई आदि होस् । तब मात्र भाषिक पहिचानले सम्मान पाउँछ र राई भित्र भाषिक पहिचान हराएर अपमान बोध गरिरहेकाहरुले हामी अलग जाति हौं भनिरहन पर्दैन ।
५) स्वायत्त राज्यको नाम “किरात” हुनेछ भन्ने कुरामा यायोक्खा जसरी प्रष्ट छ त्यसरी नै किरात राज्य भित्र चाम्लिङ बसोवास बाहुल्य क्षेत्रलाई चाम्लिङ स्वशासित क्षेत्र, कुलुङ बाहुल्य रहेको क्षेत्रलाई कुलुङ स्वशासित क्षेत्र आदिको खाका कोरौं । तत्.. तत् स्वशासित क्षेत्रहरुमा सोही भाषी राईको भाषालाई प्राथमिकता दिने नीति बनाऔं । र, अभ्यासमा समेत अगाडि बढौं ।
अन्त्यमा, नौलाख किरातीहरुको साझा संस्था किरात राई यायोक्खाको यही फागुन २३, २४, २५, गते सम्पन्न हुने नवौं अधिवेशनले सम्पूर्ण किरात राईहरुको एकताको आधारलाई पहिचान गरि सोही ढंगको नीति निर्माणगरी अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
इन्द्र नारथुङे
(लेखक – साहित्यकार तथा युवा राजनीतिज्ञ हुनुहुन्छ)