‘टाँकीका फूलहरू’माथि अन्तरक्रिया

0 691

२०७६ असार २४ गते, काठमाडौँ । हङकङ प्रवासमा कार्यरत सङ्खुवासभाका साहित्यकार दाजु गुरुङद्वारा लिखित कथा संग्रह ‘टाँकीका फूलहरू’माथि मंगलबार राजधानीमा अन्तरक्रिया गरियो । कार्यक्रममा बोल्दै प्रा.डा. गोविन्दराज भट्टराईले कथाकार गुरुङको कथा संग्रह ‘टाँकीका फूलहरू’का कथाहरू एकै बसाईमा पढेर तृप्त हुने खालका रहेका बताए । उनले कथाको भाषा र शैलीले पाठकलाई मोहित तुल्याउने उल्लेख गर्दै हङकङेली नेपाली डायास्पोराबाट अहिलेसम्म यत्तिको सशक्त कथाकृति नआएको दावी गरे । उनले भने, “जसले यो कृति पढ्दैन, उसले धेरै कुरा छुटाउँछ ।”

साहित्यकार अनिल पौडेलले गुरुङको लेखनयात्राबारे चर्चा गर्दै कृतिमा हङकङेली नेपालीका सुख–दुःख, अनुभव र भोगाइ समेटिएको बताए । कथा संग्रहमाथि सशस्त्र प्रहरी वलका पूर्व आइजीपी दुर्जकुमार राई, प्राज्ञ नन्दु उप्रेती, कवि तथा कथाकार बिना थिङ, गंगाप्रसाद अधिकारी, साहित्यकार टीका चाम्लिङ लगायतले समीक्षा गर्दै कथाका भाषा–शैली काव्यात्मक एवं प्रस्तुति सरल तथा सरस भएको रहेको बताए ।

संग्रहमा आरम्भ, मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएको साँझ, मिलेनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनाखरी ओइलाएपछि, चोइ–साम, मङ्की हिल, मौइसी, सरी, मर्निङ वाल्क, बाटो बिराएको मान्छे गरी १७ वटा कथा समावेश छन् ।
कथामा उनले नेपालीले हङकङमा पुगेर त्यहाँको अत्याधुनिक समाजमा गरेको संघर्ष र मानसिक उत्तारचढाव एवं मनोविज्ञानलाई चित्रण गरेका छन् । उक्त संग्रह भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

कार्यक्रम नेपाली वाङ्मय परिषद् र हङकङ साझा साहित्यिक शृंखलाद्वारा आयोजना गगरिएको थियो ।

Loading...