अबको दुई बर्ष भित्र काठका पोलहरु हेर्न त के देख्न समेत पाउनु हुने छैन : रामबहादुर लामा (थिङ्ग)
नुवाकोट जिल्लाको ककनी गाउँ पालिका वडा नं पाँचका वडा अध्यक्ष रामबहादुर लामा (थिङ्ग) संग सिलिचुङ्ग टिभिका लागि वरिष्ठ संवाददाता तथा अन्तराष्ट्रिय व्युरो प्रमुख विचारी चाम्लिङ्गले समसामयिक विषयमा गरेको कुराकानीको सार संक्षेप ।
तपाइँको वडामा के कस्ता विकासका कार्यहरु अगाडि बढाई रहनु भएको छ ?
विशेष गरि भूकम्प बाट क्षतिग्रस्त घरहरु लगभग ८० प्रतिशत पुननिर्माण गरिसकिएको छ । २०% बाँकी त्यो पनि यो बर्षा पछि सम्पन्न हुन्छ र पुनर्निर्माणले पनि बजेट रोकेको कारण केहि कठिनाई भईरहेको छ ।
आर्थिक बर्ष २०७४/७५ को बजेटमा विकासका लागि कति खर्च गर्नु भयो ?
वडाको लागि १ करोड मात्र बजेट विनियोजन भएको थियो ? त्यस मध्ये सडक, कृषि, महिला समुहको भवन निर्माण युवा क्लबहरुलाई खर्च गरियो ।
कहाँ- कहाँ गर्नु भयो ?
ककनी, भोट थान्सिङ्ग, नेपाने,डाँडा गाउँ, सिम्ले, लाकुरे लगायतका स्थानहरुमा खर्च गरियो ।
असारे विकास गरेर बजेट समाप्त गरिने गरिन्छ भन्ने आम जन गुनासो छ नि ?
हो, यहाँले उठान गर्नु भएको विषय १००% सत्य हो । यो सालबाट हामीले त्यसो गर्न दिदैनौ । जेष्ठ महिना सम्ममा सम्झौता गर्ने भनेर गाउँ पालिकामा प्रस्ताव गरि सकेका छौं ।
वितेका बजेटमा तपाइँले कुन-कुन विषयहरुलाई प्राथमिकतामा राख्नु भएको थियो ?
हामी जितेर आउनु भन्दा आगाडि कर्मचारीहरुले विकासका कार्यहरु संचालन गरेका थिए । त्यसताका विकासका कार्यहरुमा जनताहरुले खासै चासो र अभिरुचि राख्दैन थिए ? जब स्थानिय जनप्रतिनिधिहरु निर्वाचित भएपछी जनताहरुले विकासका लागि चासो राख्ने गरेका छन् । खासगरी यहाँको समस्याको रुपमा देखा परेको सडकहरु नै छन् । त्यसैको लागि युद्ध स्तरले सडक विस्तारका लागि अगाडि बढि रहेको छ ।
यहाँले कहाँको कुन-कुन सडकहरु बनाई रहनु भएको छ ?
ट्र्याक त पहिला नै बनिसकेको थियो । ति साना ट्र्याक बनिसकेका सडकहरुलाई ८ मिटर चौडा बनाएर सडक विस्तार गर्ने कार्य सम्पन्न भई रहेको छ । यहाँले आफै पनि देखि रहनु भएको छ । नेपाने, सिम्ले,डाँडा गाउँ, मझुवा, तल्लो सिम्ले,ढुङ्गेन लगायतका स्थानहरुमा विशेष गरि प्राथमिकताको साथ् अगाडि बढाई रहेको छु ।
नढाटि भन्नुस, तपाइँको कार्य शैलीबाट जनताहरु कति सन्तुष्ट छन् त ?
स्वभावैले मैले गरेको कार्यबाट वडावासिहरु सन्तुष्ट छन् । तर असन्तुष्ट हुने अर्को पाटो पनि छ । यो जिल्ला पहाडि भेग भएको कारण सडक बिजुली , शिक्षा . स्वस्थ र खाने पानीको एकदमै समस्या छ । जसले गर्दा सम्पूर्ण जनताहरु शत प्रतिशत सन्तुष्ट छैनन् । प्रतिक्रियाहरु आउछन् जान्छन् । सम्पुर्ण कुरो एकैचोटि सम्पन्न हुने सम्भव पनि भएन ।
चुनावको बेला गरेका प्रतिबद्धताहरू कति पुरा भयो त ?
जन प्रतिनिधिहरु निर्वाचित भएर आएको धेरै भएको छैन । छोटो समयमा भएका जति विकासका कार्यहरु गरिरहेका छौं, ति सबै हाम्रै प्रतिबद्धता भित्रै रहेर काम गर्दै छौं । वडालाइ नै विकास सम्पन्न गर्न त समय लाग्छ नि ।
मुख्य प्रतिबद्धताहरू के-के बाड्नु भएको थियो रे ?
मेरो वडामा रहेका सडकहरु सम्पन्न गराउने, बाटा घाटा, पुल पुलेसा, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, एक घर एक धारा र स्थानीय तवरबाट हुने कुराहरुमा हाम्रो पहिलो प्राथमिकता रहने छ भन्ने नै हो ।
स्थानिय निर्वाचन पछि शिंह दरवारका अधिकार गाउँ-गाउँमा आउछ भनिन्थ्यो, यस नाराको अनुभूति तपाइँका वडा वासीले कतिको महशुस गर्न पाएका छन् त ?
स्थानिय सरकार संचालित ऐन अन्तर्गत प्रत्यक वडाको कार्यालय आफ्नै वडा भित्र हुनु पर्ने, त्यसमा अधिकृत स्तरको वडा सचिव हुनु पर्ने अधिकृतको मातहतमा ५ जना वडा स्तरकै प्राविधिक समेत गरि कर्मचारी हुने भन्ने व्यवस्था छ । यो सबै व्यवस्था जबसम्म पुरा हुदैन, तब सम्म जनताहरुले पुर्ण रुपमा शिंह दरवारको अधिकार गाउँ- गाउँमा पाउन सक्छ जस्तो लाग्दैन ।
आगामी आर्थिक बर्षमा के-कस्ता विषयहरु तपाइँको प्राथमिकता रहनेछन् ?
यहाँको जनताहरुलाई स्थानिय सरकारको अनुभूति गराउने मेरो प्राथमिकता भित्र पर्दछ । जसको लागि, कर्मचारीहरुको कुनै अभाव हुनु भएन । ऐन प्रष्ट रुपमा आउनु पर्छ । विकासका कार्यहरु नियमित भई रहेका कामहरु हुन् । शिक्षा, स्वास्थ्य , बिजुली, खानेपानी, सुरक्षा, कृषकहरुले उत्पादन गरेका कुनै पनि वस्तुलाई बजार सम्म पुर्याएर वस्तुको उचित मूल्यमा बिक्रि वितरण गराउने जस्ता आधारभूत आवस्यकता पुरा गर्न म तन मन धन दिएर अगाडि बढ्ने कुराहरु नै मेरा प्राथमिकता विषयहरु हुन् ।
अन्त्यमा केहि भन्नु छ ?
मलाई जुन वडा वासी जनताहरुले यो व्यक्तिले विकासका लागि केहि गर्न सक्छ भनेर नै निर्वाचित गराएका हुन् । थोरै समयमा पनि केहि विकासहरु भएकै मान्नु पर्छ । म उहाँहरुको मन जित्दै मन भित्रै रहन चाहन्छु । प्राधिकरणको ढिला सुस्ती र सीईओ परिवर्तन भईरहेको कारण समयमा काम सम्पन्न हुन नसकेको कुराहरु यहाँको मेडिया बाट जानकारी गराउन चाहन्छु ।वडाको ईन्जिनियर र वडा अध्यक्षलाई अख्तियारी दिने कुरा भई रहेको छ । यो भएको खण्डमा भुकम्प पिडितहरुलाई राहत दिलाउन र अर्को समस्याकोरुपमा खडा रहेको काठका पोलहरु ढल्ने अवस्थामा रहेका छन् । त्यसलाई निर्मुल पार्दै फलामे पोलहरु राख्ने छु । अबको दुई बर्ष भित्र काठका पोलहरु हेर्न त के देख्न समेत पाउनु हुने छैन ।