किरातलाई जातियवाद र साम्प्रदायिकता भनिन्छ भने त्यो भन्दा अज्ञानी र मुर्ख अरु हुने छैन : प्रचण्ड
एक नम्बर प्रदेश किरात प्रदेश नै हुन्छ ।
ईन्द्र जिजीबिषा / काठमाडौ – एक नम्बर प्रदेश किरात प्रदेश नै हुने पुर्व प्रधानमन्त्री तथा नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । किरात राई यायोक्खाको ३१ औं स्थापना दिवसको कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपाको अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने ” हाम्रो इतिहास र फिलोसफी मुन्धुम संग नै जोडिन्छ ।चाहे राजनीतिक प्रणालिको इतिहास हेरौ हाम्रो इतिहास यलम्वर संग जोडिन्छ । चाहे हामी आधुनिक राजनीतिको कुरा गरौ,राम प्रसाद राई जस्ता राष्ट्रिय विभुती संग जोडिन्छ । धर्मको कुरा गरौ, महादेव संग पुराणमा जोडिन्छ । त्यसैले यदि कसैले किरातलाई जातियवाद र साम्प्रदायिकता कुरा गर्छ भने त्यो भन्दा अज्ञानी र मुर्ख नेपालमा अरु हुनै सक्दैन ।
अध्यक्ष प्रचण्डले अगाडि भने “अहिले एक नम्बर प्रदेश नामांकनको कुरा छ, यो सबै भन्दा विशिष्ट छ । र यसको नाम किरात नै हुनुपर्छ भन्ने हामी गम्भिर रुपले पार्टि र सरकारमा छलफलमा छौं । किरातको कुरा गर्दा जातिवादको कुरा गरियो भने त्यो सबै भन्दा ठूलो भुल हुनेछ ।यसको लागि प्रधानमन्त्री र मेरो सोच करिब करिब मिलेको नै मैले महशुस गरेको छु ।
ईतिहासमा पृथ्वी नारायण शाहले पनि किरातहरुलाई माईनस गर्न नसकी वल्लो किरात र पल्लो किरात भन्नु परेको थियो भने हामी कम्युनिष्टहरुले त ईतिहास र सभ्यतालाई आधार बनाएर भविष्य निर्माण गर्ने भएकोले यो सभ्यतालाई कुनै पनि हालतमा बिर्सिनु सकिदैन र यो एक नम्बर प्रदेश किरात प्रदेश नै हुनुपर्छ । यदि कसैले यसको अपमान गरे र किरात नाम भएन भने म चाहि किरात कै निम्ति लडि रहन्छु भने ।
त्यसैगरी संघीय संसद्का सांसदहरु सुरेशकुमार राई, हेमकुमार राई, प्रमिला राई, यायोक्खाका अध्यक्ष तिलक राई र सल्लाहकार दुर्गा राई, किरात राई यायोक्खाको कार्यवाहक अध्यक्ष दिवस राई, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल लगायतले प्रदेश नं.१ लाई किरात नामकरणको पक्षमा विचार व्यक्त गर्दै अहिले किरात प्रदेश नामकरण भए पछि किरातबाट लिम्बुवान छुटिन सक्ने संकेत गरेका थिए ।
कार्यक्रममा विद्यावारिधी प्राप्त मन्दिप राई, सगरमाथा आरोही गजुरमान राई र राई समुदायको पहिलो महिला पाइलट सृष्टि राईलाई सम्मान गरिएको थियो भने विभिन्न क्षेत्रका प्रतिभाहरुलाई पुरस्कार र छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।
