फुपुले, कुवेत भन्दै साउदीमा पठाएपछि, यसरी ठगिईन् पवित्रा, यसरीभोगिन् यातना

0 1,145

काठमाडौं, १९ साउन । तेह्रथुम सोल्मा कालीमाटीका गोविन्दबहादुर लिम्बूले तेह्रथुम ओख्रेका फिपरानी लिम्बूसँग विवाह गरे । फिपरानीको दोश्रो विवाह थियो । फिपरानीको पहिलो विवाहबाट जायजन्म भएका छोरीहरूलाई पनि गोविन्दबहादुर लिम्बूले आफ्नै छोरी नै माने र नागरिकता पनि दिलाए ।

दुई दिदीबहिनीसँगै परिवारमा १ बहिनी र ३ भाई थपिए । परिवार संख्या ८ पुग्यो । परिवार संख्या बढेपछि सबैले उचित शिक्षादिक्षा पाउन सकेनन् । यसैबीच उमेर पुगेका जेठी दिदी वैदेशिक रोजगारीको लागि साइनोले फूपु पर्ने सुजाता लिम्बूले भन्न थालिन् । विदेशमा कमाएर आउनेहरूको ठाँट देखेर दिदीबहिनी लोभिए । र, सुजाता लिम्बूको पछि लागे ।

दिदीलाई भारतको बाटो हुँदै कुवेत पु¥याइयो । दुईवर्ष बसेर केही कमाइन् र फर्किन् । बहिनी पवित्र लिम्बूले पनि फूपु नाता पर्ने सुजाताकै पछि लागिन् । उनको भनाई अनुसार पासपोर्ट बनाउने कार्य पनि सुजाताबाट नै भयो । पासपोर्ट हात लागेपछि करिब तीन महिना बसाई भारतमा भयो र मुम्बईस्थीत छत्रपति शिवजी अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०११ अगष्ट ५ को दिन साउदी पुगिन् ।

घरबाट कुवेत जाने भनेर हिडेकी उनी कुवेत नै पुगे भन्ने भयो । लेखपढ गर्न नजान्नु उनको कमजोरी थियो । धेरै पछि मात्र साउदी पुगेको थाहा पाए पनि घरेलु कामका लागि पुगेकी पवित्रले साहुसाहुजी राम्रै भएका कुनै गुनासो रहेन । दुई वर्षपश्चात घर जान्छु भन्दा साहुसाहुनीले खान लाउन पाएकै छौ, किन जाने ? तलब पनि दिएकै छौ, तिमीलाई त हामीले किनेको हो जस्तो कुरा गर्न थाले । त्यसपछि फूपु सुजातालाई झिकाइदिनको अनुरोध गर्दा वास्ता नगरेकाले ६ वर्षसम्म उतै रहन बाध्य भयो ।

अचानक पवित्राको जीवनमा पहिरो आइलाग्यो । साहुनीले केही सामान लिन पठाएकोमा साहुजीबाट सोधनी हुन थाल्यो । कुटपिट भयो ।  कुटपिट पनि यतिसम्म भयो कि बुटले अनुहार किचिदिने, एक किसिमको कोर्राले करिब २५, २६ पटक हाने । पुरै शरीर नाङ्गो पारेर कुटिरहँदा उनी जोडजोड चिच्याइन् । चिच्याइ सुनेर साहुनीले श्रीमानबाट छुटाइन् र आफ्नो साथीको घरमा लगेर राखिन् । उनी थला परेकोले अस्पताल नै भर्ना गर्नुपर्यो र १४ दिन आइसियुमै रहनुपर्यो ।

त्यसपछि त्यो घटना मुद्दासम्म पुग्यो । शुरुमा केही रकम दिने र मुद्दा नलाउने साहुजीबाट अनुरोध भएका नेपाली दुतावासका कर्मचारी रेवतीले नयाँअनलाइनलाई बताए । तर पीडामा रहेकी पवित्रले मुद्दा फिर्ता नलिने बताएपछि साहु जेल गए ।

साहुजी जेल जानु, त्यहीँ घरमा बस्नु पवित्राको लागि ठूलो सकसको विषय रह्यो । उनी दैनिक नेपालमा हुने आफन्तहरूलाई गुहार्न थालिन् । आफूलाई त्यहाँसम्म पुर्याउने फुपुलाई गुहारिन् । तर फुपु जापान पुगिसकेकाले त्यति धेरै वास्ता नगरेको पवित्राको गुनासो रहेको छ ।
छोरीको अवस्था बुझेर अत्तालिएका गोविन्दबहादुरले पनि सुजाताको परिवारलाई छोरी झिकाइदिन अनुरोध गरे । तर पहल नभएको बुझेपछि छोरी लैजानेविरुद्ध उजुरी नै गरे । उक्त उजुरीको साथमा परराष्ट्र मन्त्रालयमार्फत नेपाली दुतावासमा चिठी पुग्यो । दुतावासले उनलाई त्यस घरबाट सेल्टरमा ल्याइराख्यो । र, केही दिनपश्चात अर्थात २० जुलाई २०१८ मा नेपाल आइपुगिन् ।

त्यति समस्यामा पर्दा पनि कुनै पहल नगरेकोमा फूपुप्रति निकै गुनासो रहेको बताइरहन्छिन् पवित्रा । उल्टो तिमी आइसक्यौ, अब कुनै लेनादेना नरहेको भन्ने जवाफ दिएपछि पवित्रको मन झनै कुँडिएको छ । उनले त्यहाँ पाएको यातनाको हिसाब चुकाउँछु भन्दै अगाडि बढेकी छिन् ।

के भन्छन् त आरोपित सुजाता ?
नयाँअनलाइनले पवित्राको कुरा सुनिसेकपछि उनले आरोप लगाएका सुजातालाई खोज्ने प्रयास गर्याे । तर आरोपित सुजता जापानमा रहेको र विदेशमा रहेकोलाई मानसिक तनाव नदिनका लागि सम्पर्क दिन नसकिने सुजाताका आफन्तले बताए ।
नयाँअनलाइनकै कार्यालयमा आएर सुजाताका आफन्तले आफ्नो भदैनीहरूले गरिखाउन् भनेर बाटो देखाइदिएको जिकिर गरेका छन् । सहयोग गर्दा यस्तो आरोप खेप्नुपर्यो, आफन्तको गुनासो थियो ।

“उनले त्यत्रो यातना पाउँदा कुनै पहल किन गरिएन” भन्ने नयाँ अनलाइनको प्रश्नमा सुजाताका आफन्तले भने –“हामीले हाम्रो ठाउँबाट पहल गरिरहेको नै हो । साउदीमै चेलीबेटी उद्दारमा सक्रिय शेर्पा थरका व्यक्तिलाई अनुरोध गरेका थियौं ।”

यद्यपि दुतावास, परराष्ट्र मन्त्रालयमा भने पवित्रको उद्दारको लागि भने पुगेको नपुगेको बुझिएको छ । “पवित्राले हामीमाथि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको छ ।” आरोपितका आफन्तको भनाइ छ । तर पवित्रको कुराअनुसार कुनै ब्ल्याकमेलिङ गर्न नखोजेको, लानेमान्छेले कर्तव्य पुरा नगरी उल्टै थर्काउन खोजेकोले अगाडि बढ्न खोजेको बताएकी छिन् ।

Loading...