सामुदायिक प्रहरी केन्द्र तिखेदेवलको आयोजनामा महिला सशक्तिकरण तथा कानुनी परामर्श कार्यक्रम सम्पन्न
ललितपुर । समुदाय प्रहरी साझेदारी सामुदायिक केन्द्र तिखेदेवलको आयोजनामा महिला सशक्तिकरण तथा कानुनी परामर्श कार्यक्रम सम्पन्न भएको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा सामुदायिक केन्द्र तिखे देवालले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा मन्तव्य राख्दै महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी मदन केसीले नेपाल प्रहरीले महिलाहरुको हरेक समस्या र गुनासाहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले भने, ‘महिलाहरुको समस्याहरु हामीकहाँ आउँदा हामी पहिलो प्राथामितामा नै राखेर समाधान गछौं, हामीहरुले गर्नुपर्ने सबै सहयोग सहजरुपमै उपलब्ध गराउँछौं ।’ महिलाहरुका विभिन्न किसिमका समस्याहरु समाधानका लागि सामुदायिक प्रहरी वा कुनै कानुन व्यवसायीहरुसंग समन्वय गरेर हप्तामा एउटा महिलाहरुको समस्यासँग सम्बन्धित अन्तरक्रिया राख्न सके उपयोगी हुने समेत केसीले बताए ।
महिलाहरूमा भएका समस्याहरूको निराकरण तथा समस्याको समाधान गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको सामुदाय प्रहरी साझेदारी सामुदायिक केन्द्र तिखेदेवलकी प्रहरी नायब निरीक्षक फुलकुमारी पौडेलले बताइन् । प्रहरी नायव निरीक्षक पौडेलले भनिन्, ‘यस किसिमका कार्यक्रमबाट पिडीत महिलाहरूले आफ्नो कानूनी हक र अधिकारको बारेमा जानकारी प्राप्त गर्छन् । जसबाट आफूलाई परेका मर्काहरु, गुनासोहरू व्यक्त गर्न सक्छन्, कानूनी उपचारका लागि उनीहरुलाई सहज हुन्छ ।’
अन्तर्राष्ट्रिय सहयोग सञ्जाल नेपालकी निर्देशक ऊमा बुढामगरले महिलाहरूको हक अधिकारको मात्रै कुरा गर्ने नभएर उनीहरुमा भएको पीडा, गुनासो जस्ता भित्री समस्याहरूलाई बाहिर निकाल्नका लागि क्रियाशील रहन समेत सामुदायिक प्रहरीलाई अनुरोध गरिन् । निर्देशक बुढामगरले भनिन्, ‘आफनो लागि आफनै लड्नुपर्छ, हिम्मत राख्नुपर्छ र निर्धक्करुपमा बलियो भई समाजमा अगाडि बढ्न सक्नुपर्छ ।’
राइन एण्ड शाइन नेपालका निर्देशक सबिना चामलिङ्गले एकल महिलाहरुलाई पीडा पोख्नका लागि भएपनि यस्ता कार्यक्रमहरु आयोजना भइरहनुपर्ने बताइन् । उनले भनिन, ‘समस्या जसले भोगेको हुन्छ, पीडा उसैलाई थाहा हुन्छ । महिला तथा एकल महिलाको पीडा तथा समस्या पोख्न यो र यस्ता कार्यक्रमहरुको महत्वपूर्ण भूमिका हुन्छ । त्यसबाट समाधान पनि हुन्छ ।’ चामलिङ्गले भनिन्, ‘यस्तो कार्यक्रममा आउन पाएकोमा म अत्यन्तै खुसी छु । ’
source : Online Patrika