शर्मालाई ‘जसराज किराती प्रतिभा पुरस्कार’
काठमाडौँ – जसराज किराती प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘जसराज किराती प्रतिभा पुरस्कार’ दाङकी लेखक तथा समालोचक डा. विन्दु शर्मालाई प्रदान गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शर्मालाई माला, ताम्रपत्र र नगद रु. पचास हजार राशिको उक्त पुरस्कार हस्तान्तरण गरे ।
कुलपति उप्रेतीले संस्थाले पुरस्कारका लागि उपयुक्त पात्र चयन गरेको बताए । उनले भने, ‘यसले पुरस्कारको गरिमा झनै बढाएको छ । पुरस्कृत प्रतिभाका बारेमा डा. भक्त राईले प्रकाश पारेका थिए ।
कविता, निबन्ध, कथा तथा समालोचनाका माध्यमबाट नेपाली साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत डा. शर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष रक्ष राईले बताए ।
कार्यक्रममा नेपाली प्रतिभा प्रतिष्डान बेलायतका पूर्व अध्यक्ष तथा साहित्यकार दयाकृष्ण राई, कवि श्रवण मुकारुङ, गीतकार टीका चाम्लिङका साथै कवि जसराज किरातीले बोलेका थिए । पुरस्कार ग्रहण गर्दै डा. शर्माले आफूले सरप्राइज पुरस्कार पाएको बताइन् ।
वि.संं. २०३३ साल वैशाख १८ गते दाङको उरहरीमा जन्मिएकी डा. शर्माका ‘गीतिनाट्य परम्परामा राष्ट्रकवि घिमिरे’, ‘आधारभूत नेपाली समालोचना’, ‘भीमनिधि तिवारीः सिर्जना र धरातल’, ‘आदिकवि भानुभक्तः समसामयिक आँकलन’, ‘विश्वेश्वर कोइरालाः समीक्षा र सम्झना’, ‘नेपाली समालोचनाका नवीन आयाम’ समालोचना र ‘समसामयिक प्रगतिवादी नेपाली कथा’ सम्पादन र ‘ओक्कल दोक्कल पिपलपात’ कविता संग्रह प्रकाशित छन् । प्राध्यापन पेशामा आवद्ध उनी साहित्यिक अभियन्तासमेत हुन् ।
