साँच्चै भन्ने हो भने अहिले मुलुकमा प्रतिपक्ष दलनै छैन : सिपि गजुरेल
(नेकपा क्रान्तिकारी माओवादी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल विभिन्न कार्यक्रम सञ्चालन गर्दै अघि बढिरहेको छ । अहिले मोर्चाले पन्ध्र दिने मेची महाकाली राष्ट्रिय जनजागरण अभियान चलाउँदै छ । उक्त अभियानको क्रममा मोर्चा र पार्टीका नेताहरु फिल्डमा खटिएका छन् । फागुन ७ गतेबाट मुलुकका विभिन्न चार स्थानबाट उद्घाटन गरेर २१ गतेसम्म निरन्तर विविध कार्यक्रम सहित अभियान बढाउने मोर्चाको तयारी छ । उक्त अभियानको पूर्वी टोलीको नेतृत्व गर्न झापाको विर्तामोड पुगेका क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सिपि गजुरेल सँग अभियानको उद्देश्य र कार्यक्रम र प्रभावका विषयमा केन्द्रीत रहेको हरपल नेपाल डटकमका सम्पादक लोकराज जैसीले झापाबाटै कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त कुराकानीको संम्पादीत अंश ।)
१) यतिबेला देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल देशव्यापी अभियानमा जुटेको देखिन्छ, यसको उद्देश्य के हो ?
-हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को गत मंसिरमा सम्पन्न बैठकले संघर्ष र त्यसको नीति तय गरेको थियो, संघर्षका विविध रुपहरुलाई अगाडी बढाउने भन्ने पार्टीको निर्णय हो । त्यहि निर्णय अनुसार पार्टीको सन्निकट रहेको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले अहिले जनजागरण र जनपरिचालनको अभियान सञ्चालन गरेको छ । यसको उद्देश्य भनेको अहिले नयाँ संविधान जारी भएर बनेको सरकारले अहिलेको संविधानलाई समाजवाद उन्मूख संविधान हो र भन्दै आएको छ । त्यसले अहिलेको सरकारलाई कम्युनिस्ट सरकार भन्दै आएको छ र त्यसले जनतामा ठूलो भ्रम पैदा गरेको छ । र अको कुरा त्यसले अब नेपालमा क्रान्तिको आवश्यकता नै छैन, अब राज्यमा व्यापक रुपमा विकास गर्ने बताउँदै आएको छ । उसले मुलुकको संवृद्धि र शुखी नेपालीको नारा लगाउँदै आएको देखिन्छ । यसरी जनतामा परेको भ्रमलाई यो अभियानको माध्यमबाट चिर्ने हाम्रो मुख्य उद्देश्य रहेको छ । यसरी मुलुकको वास्तविकताको बारेमा जानकारी दिदैँ, देखिएका तमाम समस्याहरुबारे जानकारी गराउँदै फेरी अर्को आन्दोलन, अर्को क्रान्तिको आवश्यकता बोद्य गराउने हाम्रो अर्को उद्देश्य रहेको छ । अर्को कुरा निर्वाचनपछि केपी ओली सरकारले त्यतिबेला गरेका बाचाहरु पुरा नगरेको कारण त्यसको विकल्प के होला भन्ने परिरहेको छ, तर त्यो विकल्पबारे जनताले बुझेका छैनन् । हामी यो व्यवस्थाको विकलप के हो र यो संविधानको विकल्प के हो, भन्ने जस्ता कुरामा जनतालाई बुझाउन यो अभियान चलाइरहेका छौं । अहिले मुलुकमा आएको लोकतान्त्रीक गणतन्त्रले देशको समस्या समाधान गर्न सक्दैन, त्यसको निम्ति संघीय जनगणतन्त्र आवश्यक छ र त्यो नै उत्तम विकल्प हो भन्ने हामी अभियान मार्फत बुझाउन चाहन्छौं ।
२) तपाईहरुले अघि सारेको संघीय जनगणतन्त्रमा पुग्ने माध्यम के हुन सक्छ, तपाईहरुलाई के लाग्छ ?
-विकल्पमा अघि बढ्नको लागि पहिलो कुरा त जनतालाई तयार पार्नुपर्छ । किनकी जनता नभएर क्रान्ति हुँदैन । जनता त्यतिबेला तयार हुँन्छ, जतिबेला उनीहरु मानसिक रुपमा समस्याको विषयमा स्पष्ट हुन्छन । त्यो विषयमा नबुझिकन जनता संघर्षको लागि वा विकल्पको खोजिका लागि तयार हुँदैन । त्यहि कुराहरु बुझाउनका लागि हामीले यस्तो प्रकारका राजनीतिक कार्यक्रमहरु र जनआन्दोलनहरु सम्पन्न गर्नुपर्छ, त्यसका सार्थै जनसंघर्ष, वर्ग संघर्ष र प्रतिरोध संघर्ष पनि सँगसँगै अगाडी बढाउँदै लगेपछि अर्को क्रान्तिका लागि तयारी गर्ने काम सम्पन्न गर्न सकिन्छ ।
३) तपाईहरु यतिबेला मुलुकको चार स्थानबाट अभियान चलाइरहनु भएको छ, यसको विषयमा जानकारी गराइदिनुहोस् न ।
-अभियान चार स्थानबाट शुरु भएर चितवनमा पुगेर समापन हुन्छ, यो पूर्वको झापाको काकरभिट्टा, सुदुरपश्चिमको कञ्चनपुर स्थित गड्डा चौकीबाट शुरु भएको अभियान पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतिर बढ्दै जान्छन । त्यसैगरी पोखरा र काठमाडौंमा पनि त्यहि ढंगले अभियान चल्छ, र यहि २१ गते चितवनमा भव्य सभाको बिचमा अभियानको समापन हुन्छ ।
४) अभियानको पूवि टोलीको तपाईले नेतृत्व गरिरहनु भएको छ, झापाबाट शुरु हुने यो टोली के कसरी अगाडि बढ्छ, यसको रुटिङ के के छन ?
-उद्घाटनसँग यो अभियान टोली निरन्तर अगाडी बढ्छ । उद्घाटनको कार्यक्रम सके लगत्तै हामीहरु विर्तामोड जान्छौं, त्यहाँ अभियानकै क्रममा कोण सभा हुन्छ । त्यसपछि हामी दमक जान्छौं, त्यहाँ पनि अर्को सभाको कार्यक्रम रहेको छ । त्यसपछि आठ गते भारतीय पक्षबाट सीमा अतिक्रमीत क्षेत्रको अनुगमन गर्ने कार्यक्रम रहेको छ । त्यस अन्तर्गत हामी गौंरीगञ्जको फत्तेपुर भन्ने स्थान, जहाँ नेपाली भूमि मिचिएको छ र भारत सरकारले सीमा मिचेर सडक बनाएको छ, हामी त्यहाँ सीमा अभियानमा जान्छौं । त्यसपछि मोरङको उर्लाबारीमा जान्छौं, त्यो दिन त्यहाँ एउटा जनसभाको कार्यक्रम हुन्छ र बुलुकातिर दक्षिणतर्फका डायनिया, रंगेनी लगाएतका ठाउँमा पनि कार्यक्रमहरु गछौं र राति हामी विराटनगरमा बस्छौ । त्यसको भोलिपल्ट (९ गते) विराटनगरमा राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा देखिएका समस्याबारे विवरण सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलनको आयोजना गछौं । त्यसपछि दिउँसो बुढिगंगा क्षेत्रमा कोणसभाको कार्यक्रम गछौं । त्यसपछि मोरङको कार्यक्रम समापन गरेर सुनसरीतर्फ लाग्छौं । त्यो दिन (९ गते) साँझ चारबजेतिर धरानमा कोणसभा हुन्छ र त्यहि बस्छौं । त्यसको भोलिपलट (१० गते) सप्तरीमा एउटा सभा गरेर हामी प्रदेश नम्बर दुईतर्फ लाग्छौं । हाम्रो टोलीलाई सप्तकोशीसम्म एक नम्बर प्रदेशको पार्टीले लिएर जान्छ र त्यसपछि प्रदेश दुईको पार्टी योजना अनुसार हामी निरन्तर अभियानमा जोडिन्छौ र सबैतिर कार्यक्रम गर्दै फागुन २१ गते चितवन पुग्छौं ।
५) तपाईलाई हेरेर, सुनेर बसेका मानिसहरुलाई अभियानको विषयमा अन्तिममा संक्षिप्तमा केही भन्नु छ भने भन्नुहोस् ।
-म मलाई हेरेर, सुनेर वा बोलेका कुरा पढेर बस्ने सबैलाई संक्षिप्तमा अहिले यो ओली सरकारले जुन भ्रम दिएको थियो, संवृद्धि, खुशी नेपाली, समाजवाद लागु भयो भन्नेजस्ता तमाम भ्रमहरु अब धेरै टिक्दैनन । र बाँकी रहेका अरु भ्रमहरुको र समास्याहरुको समाधानको विकल्प कसैले दिन सकेका छैनन्, अझ साँच्चै भन्ने हो भने अहिले मुलुकमा प्रतिपक्ष दलनै छैन भन्दा पनि हुन्छ । त्यो भूमिका नेपाली कांग्रेसले खेल्न सकिराखेको छैन, त्यसकारण हामी के भन्न चाहन्छौ भने, नेपाल कम्युस्टि पार्टी (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल राजनैतिक विकल्प पनि हो, सांगठनिक विकल्प पनि हो, र आन्दोलनको विकल्प पनि हो, र यसले आफ्ना समग्र विकलपलाई प्रस्तुत गर्छ । र यो संविधान खारेज गरेर कुन व्यवस्था ल्याउने भन्ने विकल्पमा पनि प्रष्ट छ, किनभने नेपाल ल्याउनुपर्ने व्यवस्था भनेको संघीय जनगणतन्त्र हो, त्यसको संविधान ल्याउनको निम्ति अब अगाडी बढ्नुपर्छ भनेर सम्पूर्ण जनतालाई आशावादी बनाउँदै संघर्षको हामी तयारीमा जुट्छौं ।