कविता
युद्ध घोषणा 
न तिमीलाई बुझ्न सकें मैले
न मलाई बुझ्न सक्यौ तिमीले
त्यसैत्यसै मोडिए पाईलाहरू
उचालेर शंकाको पहाड …….
तिमी चढ्दै गयौ शंकाको पहाड
म डुब्दै गएँ धैर्यताको पोखरीमा
बिस्तारै, हाम्रो दुरी हिमाल झैं
अग्लिन्दै गयो ……
माया प्रेमका सागर गहिरिंदै गयो
हाम्रो बाचा, कसमहरू
कोही तिमी संगै भिर पहरामा अल्झिए
कोहि म संगै वारिपारि भएर
किनारा भरि छरिए ………
बिछोडको करौंतीले जिन्दगी रेटिएपछि
हामीले गाँसेको पिरतीको
पुल पनि खोई कुन्नि कुन बेला
चुँ-डियो थाहा पत्तै भएन
जिन्दगीको यात्रा दोसाँधमा पुगेर
बाँधिनु अघि टुट्यो
हाम्रो कम्जोर बन्धन
त्यै बेला मैले सम्झें
बिछोड हुनु अघिको गोधूलि साँझ
तिमीले मिर्मिरेमा रुमाल हल्लाउदै
पालामको भाका शुसेलेर
मलाई ईसाराले डाकेको ……………
अनि सोंचे तिमीले घमण्डको
पहाड नचढ्नू पर्थ्यो
मैले पनि धैर्यताको बाँध नफुटाईकन
सगार भै तिम्रो चाहानाका डुंगाहरू
तारिरहनु पर्थ्यो,
भै गो, अब जे हुनु भै गो
आऊ बरु, जे होला
संगै मायाको दियालो
बालेर अन्धकारको
मैदानमा युद्ध बिरामको
घोषणा गरौँ …………
जानु काम्बाङ्ग लिम्बू
ताप्लेजुङ्ग हाल युके !!