यात्रा निवन्ध (म र मेरा शनिवार आइतवारहरु)
सिमसिम झरी परिरहेको भए पनि घर भित्र हल्का गर्मी महशुस भएर होला मज्जाले निन्द्रा लागेन राती । उज्यालो भएपछि निदाउने मेरो कोशिस विफल भएपछि म उठेर नुहाएँ । “तँ त दुरुस्तै मावली बोजु जस्तो छस हो” आमाको यो भनाई सम्झिन्दै, चाउरीदै गएको निधारका रेखा, आँखाका डिल र गालाहरूमा, युगले बिर्संदै गरेको मेरो मावली बोजुको अनुहार खोजिरहन्छु म । अचानक तल ढोकाबाट केही चिज भित्र खसालिएको आवाज सुने पछि गाजल र मस्काराले सजाउँदै गरेका मेरा २ आँखाहरु तल झ्यालतिर हुत्याउँछु । पारिपट्टी पहेंलो र सुन्तले रंग मिस्सिएको सेफ्टी ज्याकेट लगाउने एउटा अधवैसे गोरा, छड्के एउटा जोगी झोला र हातमा एक अंगालो जति चिट्ठी पत्र बोकेर म्याराथुन धावक झैं दौडी रहेको हुन्छ ।
मज्जा मानी-मानी हेरि रहन्छु, हातमा भएको सबै चिट्ठी छिनभरमै बाँडीसकेर अर्को रोड तिर हाम्फाल्छ । म भने अझै मस्कारा समातेर अनुहारमा कुची चलाई रहन्छु ।अनि महशुस गर्छु हामी छोरी मान्छेले मेकअप गर्नमा कति धेरै समय खर्च गर्दा रहेछौं भनेर ।
रमाईलो बर्षायाम ( समर सिजन ) जानै लागिसकेको छ बेलायतमा किनकी यहाँ हिउँद महिनामा धेरै पानी पर्ने, दिनको ३ बजे नै घाम डुब्ने, जाडो र हिउँ पर्ने भएकोले पनि बर्षा यामलाई रमाईलो मानिन्छ । जब बर्षा लाग्छ अनि मात्र मज्जाले घामको अनुहार देख्न पाईन्छ, रातको १० बजेसम्म घाम लाग्छ । अनि सुरू हुन्छन् विभिन्न प्रोग्रामहरू हरेक हप्ता । व्यस्तता र दौड धुपले मान्छेका कुनै शनिवार, आईतवारहरू खालि रहदैनन्, हरेक विकेन्ड मान्छेलाई भ्याई नभ्याई हुन्छ । उस्तै हालत मेरो पनि छ आजभोलि, गत शनिवार मात्र म, गायक तथा संगीतकार भाई बी सी राईको सोलो स्वर संगीत र वरिष्ठ साहित्यकार, गजलकार दुबसु क्षेत्रि ज्युको सोलो गजल रहेको एल्बम “निर्मम यादहरू” को विमोचनमा केन्ट पुगेकी थिएँ । त्यहाँ पनि युकेका धेरै आफ्ना-आफन्त र सर्जक ज्युहरूसंगको रमाईलो भेट घाटमा समय बितेको थियो ।

म तयार भएर निस्कँदा बिहानको १०:१५ बजेको थियो । रोडमा निस्कदा निस्कदै सधैं झैं मलाई बसले छाडेर गयो । बसको टाईम टेबल ख्याल नगर्दाको सजाय म यसरी नै सधैं भोग्ने गर्दछु । आज पनि भोग्दै थिएँ । मलाई ढिलो भैसकेकोले, कसम स्टडीयमबाट आउने बसहरू भेटिन्छन् की भनेर माथिल्लो स्टप छाडी दौडिएँ तल्लो स्टप । नभन्दै बस नम्बर 3 बि आयो अनि हिडें म । म बसेको एरियाबाट सिङ्गल नम्बर ३ मात्र चल्छ, तल कसम स्टडीयम, लिटल मोर हुँदै अन्य भित्रको गाउँहरूको लागि थ्री ए र थ्री बि चल्छन् । ४ दिन लगातार काम गरेर बल्ल छुट्टी मिलेको भए पनि, म भने आराम गर्न छाडेर नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको बार्षिक कार्यक्रममा जाँदै थिएँ । मेरो शरीरलाई मात्र आराम चाहिएको थियो मनलाई भने चाडै पुग्नु थियो प्रोग्राममा ।
उहिले, उहिले नेपालमा छँदा हरेक हप्ता शनिवारे बजारमा हप्ताभरिका लागि सौदा गर्न जान्थ्यौं, अहिले हरेक शनिवार संघ संस्था र पार्टी फंग्शन धाउँछौ । थाहा छैन वास्तवमै हाम्रो आवश्यकता के हो र कुन हो ? लाग्छ मानव समाजमा दुवै उतिकै आवश्यक छन् र त यो सब भैरहेका होलान् ।
म अक्सफोर्ड सिटि सेन्टर पुगेर रेल स्टेसन जाने १ नम्बर बस चढें । किनकी शनिवार, आइतवार अक्सफोर्डबाट हाईवेकम.जाने पब्लिक बस २७५ नम्बर चल्दैनथ्यो । स्टेसनमा पुगेर १४ पौण्डको टिकट लिएँ, । टिकट लिने काउन्टरको स्टाफलाई भनेर हाईवेकमबे कसरी पुग्ने भनि रूट इम्फर्मेसन पनि प्रिन्ट गर्न लगाएर लिएँ । स्टाफले दिएको लिस्टमा डाईरेक ट्रेन, लन्डन मार्लिबोनी जाने प्लेट फर्म २ मा छुट्ने समय ११:१० लेखिएको थियो । म संग टाईम २० मिनेट थियो कफी सोपमा पसेर एउटा सेण्ड्विच र एक कप कालो कफी किने, कफी शपमा एकजना नेपाली युवा पनि काम गर्दा रहेछन् । मज्जाले खाजा तातो बनाउन लगाएर प्लेट फर्ममा पुग्दा ट्रेन लागीरहेको थियो । मान्छे फाटफुट्ट मात्र थिए । प्राय सिटहरू खालि जस्तै थियो । एउटा राम्रो खाने टेबल भएको सिट रोजेर बसें अनि अघि तताउन लगाएको खाजा खान थालेँ ।
केहीछिन पछि ट्रेन हिड्यो । कस्तो टाईम टेबल ११:१० भन्दा एक सेकेण्ड पनि तलमाथि थिएन । जति-जति अक्सफोर्ड छाड्दै गयो उति-उति रमाईलो ठाउँहरू आउन थाल्यो । अक्सफोर्ड पार्कवे, अक्सफोर्ड नर्थ ….क्रमैसंग समर टाउन सोपिंग सेन्टर आदि । यो अक्सफोर्ड नर्थ संग मेरो पुरानो नाता छ, अझैसम्म कहाँ पर्छ, कति टाढा छ ? भनेर सोचिरहन्थें । आज देख्न पाएँ उज्यालोमा ।
सम्भवत २ बर्ष अघि होला ? म, वातावरणविद दाजु विजय हितान ज्युको निम्तोलाई स्वीकार्दै, केन्ट कलम र विश्व नेपाली साहित्य महासंघ आसफोर्ड शाखाले संयुक्त रूपमा आयोजना गरेको एउटा साहित्यिक कार्यक्रममा भाग लिन पुगेकी थिएँ । प्रोग्राम निक्कै रमाईलो र उपलब्धी मुलक रह्यो । प्रोग्राम पछि डिनरको प्रबन्ध गरिएको र म धेरै टाढाको पाहुनाले झन् खानै पर्ने नियम पालना गर्दा गर्दै ढिलो भो ।
आसफोर्ड बाट हिडेको रेल लण्डनको एस टि पान क्रस सम्म आएँ, त्यहाबाट ट्युब (जमिन मुनि )को रेल चढेर पेडीङ्ग टन सम्म आएर अक्सफोर्ड जान न्यु क्यास्ट्ल जाने रेल चढें । त्यहाबाट हिडेको रेल एकैपल्ट स्लोव्ह, रिडीङ्ग अनि अक्सफोर्ड आउथ्यो । झोलामा विजय हितान दाजुको कथा संग्रह थियो । पल्टाएर संघाई स्ट्रिका दुई आँखा शिर्षक पढ्न थालें । कथामा जया राई दिदीको कथा ब्रेकर स्ट्रिट्का दुई आँखाका पात्रहरूलाई संघाई स्ट्रिट्को एउटा रेस्टुरेण्टमा अचानक भेट गराउँदो रहेछ, रोचक लाग्यो पढ्दा पढ्दै कुन बेला फुस्स निदाएछु थाहै भएन ।जब मेरो आँखा उघ्रियो तब देखे अक्सफोर्ड बाट ढोका बन्द गरी रेल हिड्दै थियो । घडी हेरें रातको ११ बजेको थियो अब म कहाँ पुग्छु, नेक्स्ट स्टप कहाँ हो केही थाहा थिएन ।
म अतालिएर हरियो निलो भैरहेको बेला टिकट चेक गर्दै एउटा स्टाफ आईपुग्यो । मैले अतालींदै भने, मेरो स्टप.अक्सफोर्ड हो तर, निदाएछु त्यसैले मेरो स्टप छुट्यो अब म के गरौँ ? उसले भन्यो नेक्स्ट स्टप जुन आउँछ त्यहि झरेर ट्याक्सीमा जा…यति राति रेल पाउन सम्भब छैन ।
नेक्स्ट स्टप आयो, म त्यहि ओर्लिएँ । सुनसान जंगल, वरपर गाउँ बस्ति घर केही थिएन एकदम चुक पोखे जस्तै अँध्यारो । बाहिर निस्कने बाटो खोज्दै निस्किएँ । निक्कै पर पुगेपछि एउटा कारहरूको डिलर थियो,आँगन भरि नयाँ-नयाँ कारहरू थिए । ट्याक्सी खोजें तर पाईन, ट्याक्सीको फोन नम्बर पनि थिएन । जाडोले लगलग काप्दै कारहरूको बिचमा बसेर बुडोलाई फोन गरें, फोन उठेन, एकछिनपछि कल ब्याक गर्नु भो । सबै ईति वृतान्त बताएपछि भन्नु भो त्यहाँ स्टेसन छेउछाउको स्ट्रीट्को नाम भन । आवाज निक्कै चर्को थियो तर….सहनुको विकल्प थिएन । धेरै खोजें तर त्यहाँ त्यस्तो नाम कतै देखिन मैले । त्यहीबेला सम्झें मैले हाम्रो नेपालमा जताततै तान्द्रंग र तुन्द्रुङ्ग साईनबोर्ड झुन्ड्याउनुको महत्व । डराउँदै, डराउँदै सानो स्वरमा म अक्सफोर्ड नर्थ रेल स्टेसन छेउमा छु भनिदिएँ ।
कुर्दा कुर्दै रातको १२ बज्यो, भोक, तिर्खा, डर र त्रास सबै, सबै मिलेर मेरो टाउको माथि नाचिरहेका थिए । रोड़ देखि पारि पट्टिको जंगलमा स्यालहरु दौडेको प्रस्ट देखिन्थ्यो तर, मलाई जंगली जनावर भन्दा मान्छेहरू संग डर लाग्दै थियो । किनकि बेलायतमा पनि लुटपाट र बलात्कारका घटनाहरू हुने गर्छन् बेलाबखत । घरबार बिहिन, ड्रग एडिकहरू भेटिन्छन् । त्यस्ता मान्छेहरू काम नगरी बस्छन्, दिनभरि सुत्छन् सरकारी भत्ता थाप्दै खान्छन्, अनि रातमा बाहिर निस्कन्छन् ।
१२:३० तिर बल्ल ईन्टरनेट बाट सर्च गर्दै बुढो आईपुग्नु भो त्यहि आईपुगेर फेरि धेरै खोजा-खोज भो, बल्लतल्ल भेट भएर घर पुगेँ, बुडोलाई भेट्दा लाग्यो उहाको खुट्टा नै समातेर ढोगौ । जिन्दगीमा यो गुण ठुलो मानेकी छु ।आज त्यहि राति देखेको एकलास गाउँ अक्सफोर्ड नर्थ माथि दिउँसै रेल चढेर दौडिरहेकी थिएँ । ठाउँ रमाईलो थियो, डर लाग्दो त रातमा मात्र देखिएको रहेछ ।
म ११:४० तिर हाईवेकमबे स्टेसनमा ओर्लिएँ, बाहिर ट्याक्सीहरु लाईन लगेर बसिरहेका थिए । चढेर लागेँ उकालै उकालो, बाटोभरी आँखै लोभ्याउने रमाईला दृश्यहरु देखेर हेर्दा हेर्दै कतिबेला पुगेछु थाहै भएन । एक्कासी ट्याक्सीले ब्रेक लाउँदा होस् खुल्यो । मैले त अघि नै १२ पौण्डको यात्रा गरिसकेकी रहेछु मिटरमा उठेको पैसा तिरेर लागें आर्मी क्याम्प भित्रको हलतिर मान्छे निक्कै भेला भैसकेका थिए ! मात्र केही अतिथिहरू आउन बाँकी थिए ।
ठिक मध्यान्हको १२:३० मा कार्यक्रम सुरू भो,प्रोग्रामको अध्यक्षता संस्थाको उपाध्यक्ष श्री टंक वनेम ज्युले गर्नु भएको थियो । प्रमुख अतिथि बरिष्ठ पत्रकार खगेन्द्र नेपाली, बिशेष अतिथिहरूमा बेलायतमा स्थापित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरू, नेपालबाट बेलायत यात्रामा रहनु भएका साहित्यकार मदन राई लामाखुले ज्यु त्यसैगरी पत्रकार महासंघ बेलायतका अध्यक्ष श्री नरेश खपांगी ज्यु, जनजाति महासंघ बेलायतका अध्यक्ष श्री जंग सुनुवार ज्यु, कवि तथा मुक्तककार नेपाल मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार डाक्टर रुपक श्रेष्ठ ज्यु लगायत साहित्यकार कवि भगवान चाम्लिङ्ग ज्यु, मेजर भुवानी पन्धाक ज्यु त्यसैगरी अन्य थुप्रै महिला दिदीबहिनीहरू साथै साहित्यकार, कवि, गीतकार र गजलकारहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।
मन्च प्रदान गरे बापत प्रतिभा प्रतिष्ठान बेलायतलाई धन्यवाद ज्ञापन गर्दै कवि श्री गणेश राई ज्युले युद्द साहित्य र सिदान्तको बारेमा एक कार्यपत्र पनि प्रस्तुत गर्नु भएको थियो । प्रतिभा प्रतिष्ठान बेलायतले हरेक बर्ष यसरी एकजना स्रष्टालाई मन्च प्रदान गरी साहित्य अनुरागीहरूको लागि एक बलियो ईतिहाँस रच्दै गरेको अनुभव हुन्छ मलाई । म हरेक बर्षको कार्यक्रममा जान रुचाउछु । बसेर अरुको सृजना सुन्न मलाई असाध्यै रमाईलो लाग्छ । यो पालिको स्रष्टा दाजु गणेश राई ज्युको कविताहरूले धुरु धुरु नै रुवायो । मेरो छेउमा बसेर भावना जीले आँखा पुछिरहनु भएको थियो भने अर्को पट्टि गजलकार मित्र सेमन्त राई ज्युले आफैलाई सम्हाली रहनु भएको थियो । म बिचमा बसेर आफुलाई सम्हाल्न असफल प्रयास गरिरहें, नसकेर एकछिन ट्वाइलेट तिर सुईत्त छिरेर मन हल्का बनाएर आएँ ।
जुनबेला कविता समाप्त भएको संकेत श्रष्टाबाट हुन्थ्यो, सुनसान त्यो माहोल फेरि तालिमय बन्दथ्यो । कविता सुन्दै गर्दा कवितालाई सुहाउने धुनहरूको साथमा लड़ाईका दृश्यहरू, बन्दुक र बम पड्केका आवाजहरू गुञ्जिन्थ्यो, भित्तामा झुण्ड्याईएको सेतो पर्दामा कविताले भनेका सबै चित्रहरू हेर्न पाईन्थ्यो ।
म आफै एक सैनिकको छोरी, दोस्रो विश्वयुद्ध लड्ने लडाकूको नातिनी भएर पनि थाहा थिएन मलाई खुकुरी, बम,गोला, बारुद, बन्दूक र संगीनलाई विम्व बनाएर पनि यति मिठो र सुन्दर कविता लेख्न सकिन्छ भनेर । जे होस् कार्यक्रम निक्कै रोचक भयो, युद्द साहित्यलाई नजिकबाट बुझ्ने मौका दिनु भएकोमा,युद्द कवि, उपन्यासकार तथा सिदान्तकार दाजु गणेश राई ज्युलाई मुरी मुरी धन्यवाद दिन चाहान्छु ।
साँझको ४ बजेतिर कार्यक्रम सकियो अनि हल्का सेलरोटी, चिउरा, तरकारी र अचारको मिठो संगम खानामा थियो । खानपिन पछि केन्ट जाने मित्र सेमन्त जीले स्टेसन सम्म पुर्याई दिनुभो । ओहोर दोहोरको टिकट बिहानै लिएकी थिएँ तर, हाईवेकमबे रेलमा पहिलो पल्ट आएकोले फर्कंदा कुन प्लेटफर्म बाट चढ्ने भन्ने कुरो थाहा थिएन । त्यसैले सोधपुछको काउन्टर अघि लाईन लागें २ जना पछि पालो आयो
मैले “म अक्सफोर्ड जाने हो कुन प्लेट फर्मबाट चढ्ने होला” ? भनि सोधें उसले भन्यो यै अगाडिको प्लेट फर्म हो रेल लागिरहेकोछ दौडी हाल्नुस उसले भन्यो । म आफ्नो भारी झोला उचालेर टिकट छिराउँदै दौडिएँ तर, प्लेट फर्ममा पुग्दा नपुग्दै रेल…गुडी गयो सारै
नमज्जा लाग्यो । छेउमै बेन्ची थियो थुचुक्कै बसेर अर्को रेलको इन्फर्मेसन बोर्ड हेर्न थालें । अर्को रेल ४५ मिनेट पछि देखाएको थियो । बाहिर जाडो लागेकोले भित्र वेटिंग रुममा गएँ । भित्रै पनि इम्फर्मेसन बोर्ट थियो,हेर्दै कवि तथा यात्राकार केदार संकेत जिको यात्रा संस्मरण “बुद्ध ल्याण्ड टू स्विजरल्याण्ड “भित्रको केफ़ालोनियामा ओलिभ टिप्दा” शिर्षकको यात्रा पढ्न थालें । यात्रा रमाईलो थियो, यो यात्राबाट थाहा भो,यात्राकार आफु एक्लै मात्र नभएर परिवारसंग पनि यात्रा गर्नु हुँदो रहेछ । यात्रा पढदा धेरै कुरोको जानकारी मिल्दो रहेछ, जस्तै यो यात्राले मलाई सधै त्यसको र सेलस्बेरी जस्ता सुपर मार्केटमा किनेर खाईने हरियो ओलिभ कहाँ बाट आउँछ होला जस्तो लाग्थ्यो अहिले थाहा भो ग्रिसबाट आउँदो रहेछ l
बस्दा बस्दै इन्फोर्मेशन बोर्डबाट ४५ पछिको रेलको टाईम टेबल हरायो दौडेर फेरि सोधपुछ डेक्समा पुगेँ त्यहाबाट थाहा भो, यो मात्र होइन यो भन्दा पछिको अर्को पनि रद्द भएको छ मानिलिउँ आज अक्सफोर्ड जाने रेल नै छैन । फेरि सोधे अरू उपाया के छ ? उसले भन्यो “तपाईं बन्बेरी जाने रेलमा गएर हाडेंन्हाम बाट अक्सफोर्डको रेल चढ़नुस” । स्टाफले यति भनेपछि धन्यवाद पनि नभनी तुफान दौडिएँ, प्लेट फर्म २ मा रेल लागिरहेको थियो,छेउमा उभेर झन्डा हल्लाउने मान्छेलाई सोधेर फुत्त छिरें अनि लामो सास तानेर बसें थ्याच्चै सिटमा केही छिनमा रेल हिड्यो ।
झोलाभरि किताब बोकेकी थिएँ तर, एउटा पनि हेरीना किनकि दिउसै देखि रेल कुर्दा कुर्दा दिलो दिमाग दुवै थाकिसकेकोले जाँगर नै चलेन । २ स्टप पछि बल्ल म हाडेंन्हाम पुगेँ ओर्लेर सोधपुछ गर्दा त्यहि प्लेट फर्ममा अक्सफोर्डको रेल आउने जानकारी पाएर एकछिन पर्खिएँ । एकलास जंगल बिचमा थियो स्टप ओत लाग्ने ठाउँ पनि थिएन । उभ्दा उभ्दै पानीले चुट्यो, झोलामा छाता थिएन त्यैबेला मैले बाबालाई बेस्सरी सम्झें, बाबा जहिले भन्नु हुन्थ्यो बर्षायाममा छाता, हिउँदमा जुत्ता नबिर्सनु, अनिकालमा बिऊ र हुलमुलमा जिउ जोगाउनु । मैले पनि त झोलामा छाता फ्यास्स हालेर हिडेको भए किन हुन्थ्यो यो दुख ? त्यहाँबाट अक्सफोर्ड पार्कवे र समर टाउन दुई स्टप पछि अक्सफोर्ड आयो ओर्लिएर, ब्लेकबर्लिज जाने ५ नम्बर बस चढी सिटि सेन्टर पुर्गेर ३ नम्बर बस लिएँ । साँझको ८:३० तिर घर पुगेर खाना पिना बनाई परिवार संगै बसेर खाईयो ।
यस्ता साहित्यीक कार्यक्रम र अग्रज साहित्यकारका विचार, सिद्धान्त र अनेक चिनेजानेका स्रष्टाहरू सँगको भेट्घाटले साच्चै नै एक उर्जा थपिन्दो रहेछ । हिजो आज एक्लै बसेर आफ्नो विचार लेख्नु भन्दा अरूको सुनेर पढेर लेख्दा धेरै कुरोको सुधार भएको मलाई महशुस भएकोछ ।
मान्छेले चाहेको जस्तो कुनै पनि कुरा नपुग्दो रहेछ जिन्दगीमा । समाज सेवा र साहित्यिक प्रोग्राममा धाउने कार कहिले किन्ने मैले ? ड्राईभिङ्ग पास गर्ने कहिले ? कारबाट २५ मिनेटमा पुगिने ठाउँमा आफ्नै कारमा गएर समय बचाउने कहिले ? यस्ता अधुरा कुराहरूले बेला बेला पिरोल्न छाडेका छैनन् मलाई । आज पनि दिनभरिको दु:ख सम्झेर मन पिरोलिरहेको छ ।
जानु कम्बाङ्ग लिम्बू
ताप्लेजुङ्ग हाल युके !!