प्रेस सेन्टर नेपालको प्रदेश भेला तथा पत्रकारीता तालिम सम्पन्न, जीसीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन

0 681

स्याङ्जा – नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुले आज गण्डकी प्रदेशमा प्रेस सेन्टर नेपालको प्रदेश भेला तथा पत्रकारीता तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालले पत्रकार हरी जीसीको अध्यक्षतामा १५ सदस्यीय गण्डकी प्रदेश समिति समेत चयन गरेको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमको अन्त्यमा संगठनको प्रदेश समिति निर्माण गरिएको थियो ।

उक्त समितिको सदस्यमा राजेन्द्र सुवेदी, बम बहादुर गाहा, अनुष्का नेपाली, युवराज दहाल, निर्मला अधिकारी, तारा थापा, योगेन्द्र ढकाल, जनक कुमार ढकाल लगायत रहेका छन् ।

कार्यक्रममा उपस्थितहरुले पत्रकारको क्षमता अभिवृद्धीमूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, पेशागत अधिकार र सुरक्षाको विषयमा वहस चलाउनुपर्ने लगायतका विषयमा सुझाव समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले पत्रकारको क्षमताअभिवृद्धीमूलक कार्यक्रमहरुमा आफ्नो संगठनले विशेष ध्यान दिएको बताए ।

उनले राज्यले पछिल्लो चरणमा मिडियामाथिको नियन्त्रण कायम गर्ने उद्देश्यले ल्याएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी ऐन, नियम र कानुनहरु फिर्ता नलिएसम्म पत्रकारको पेशागत सुरक्षा र अधिकार सुनिश्चित हुन नसक्ने ठोकुवा गरे ।

उनले प्रेस सेन्टर नेपालले साना लगानीका मिडियाको विकास र संरक्षणका लागि राज्यलाई सचेत गराएको समेत बताए ।

उनले जनपक्षिय पत्रकारहरुमाथि सरकारले गलत नजरले हेर्ने र फसाउने कार्यहरु नरोकेको भन्दै त्यसको आफ्नो संगठनले कडा विरोध गर्दै आएको समेत बताए ।

उनले प्रेस सेन्टर नेपाल सबै जनपक्षिय पत्रकारहरुको साँझा संस्थाका रुपमा रहेको भन्दै त्यसमा संगठीत हुन अपिल समेत गरे । उनले आफ्नो संगठनले देशव्यापी रुपमा संगठन निर्माण, तालिम, भेला, प्रशिक्षण तथा अन्तरक्रिया जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत बताए ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) को प्रदेश पाँचका अध्यक्ष अविन गोतामे, पार्टीका केन्द्रीय सदस्य राज पाद्यावति लगायतको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नेता गोतामेले सामाजिक व्यवस्था रुपान्तरणमा जनपक्षिय पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

नेता गोतामेले पत्रकारहरु परिवर्तनका पक्षमा हुनुपर्ने भन्दै देश र जनताको पक्षमा कलम चलाउने पत्रकारहरु अझै राज्यबाट सम्मानीत हुन नसकेको बताए । उनले सामाजिक व्यवस्था नबदलिएसम्म मिडिया क्षेत्रका समस्याहरु समेत समाधान हुन नसक्ने तर्क गरे ।

दर्जनौंको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन राजेन्द्र सुवेदी सागरले गरेका थिए । कार्यक्रममा सहभागिहरुले तालिम तथा भेलाबाट महत्वपूर्ण कुराहरु सिक्न पाएको भन्दै पुन : त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएका थिए ।

Loading...