रावा सावा प्राज्ञिक समाज नेपालले गर्यो अग्रज सर्जकको सम्मान
"अग्रजका सृजना सुनौ, अग्रज सर्जकको सम्मान गरौ" भन्ने मूल नाराको साथ सृजना सुन्ने र सुनाउने कार्यक्रम सम्पन्न
ईन्द्र जिजीबिषा / काठमाडौ – “अग्रजका सृजना सुनौ, अग्रज सर्जकको सम्मान गरौ” भन्ने मूल नाराको साथ रावा सावा प्राज्ञिक समाज नेपालको आयोजनामा साहित्य सृजना सुन्ने र सुनाउने कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर स्थित ग्रामर कलेजको हलमा सम्पन्न कार्यक्रममा १४ जना भन्दा बढी अग्रज सर्जकहरुले आ-आफ्ना सृजनाहरु सुनाएका थिए ।
पुर्व सभासद संविधान सभा तथा वर्तमान केन्द्रिय सदस्य नेकपाका अश्मिता कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा अग्रज सर्जकहरु काशी राई, जसराज किराती, बलराम पोख्रेल, मदन राई लामाखुले,राधेश्याम भट्टराई, भक्त श्रेष्ठ, धनराज राई, शुभशेर राई, विश्व श्रेष्ठ, डा. विष्णु राई, जीवराज घिमिरे, टंक राई “सोनाम सोल्टी”, मनोज बाबु लगायतले आ-आफ्ना सृजनाहरु वाचन गरेका थिए | कार्यक्रममा जानुका राईले पनि आफ्ना सृजना वाचन गरेर सुनाएकी थिइन् । आयोजकको तर्फबाट भने ओम प्रकाश घिमिरेले आफ्नो सृजना वाचन गरेका थिए ।
अग्रज सर्जकहरुको सम्मान गर्ने उदेश्यले आयोजित रावा सावा समाजको विशेष यो कार्यक्रममा सृजना वाचन गर्ने अग्रज सर्जकहरुलाई खादा र प्रमाण पत्रले सम्मान पनि गरिएको थियो ।
रावा सावा प्राज्ञिक समाजका वर्तमान अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई साहित्यकार चन्द्र रानाहँछाले सन्चालन गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष कवि सुरेश हाचेकालीले स्वागत मन्तव्य र संस्थाका सदस्य कवि ओमप्रकाश घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सयौ साहित्य सर्जक र विशिष्ट व्याक्ति व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।


