लिम्बु भाषाको लघु चलचित्र “निङ्गवासुम”को लोकार्पण
काठमाडौ – लिम्बु भाषाको लघु चलचित्र “निङ्गवासुम“को विमोचन गरिएको छ । रिता फोम्बो ठूलिको रचना, स्वर तथा अभिनय र सुर्य खापुङ्गको प्रस्तुतीमा लिम्बु गीति लघु चलचित्र “निङ्गवासुम”निर्माण गरिएको हो । पुरानो कुराहरुलाई याद गराउने वा सम्झना भन्ने अर्थ बुझाउने “निङ्गवासुम” लिम्बु संस्कार संस्कृतीमा आधारित रहेको छ ।
पछिल्लो समयका भाईरल बालकलाकारहरु मनिष लिम्बु र माङ्गेना लिम्बु, सुहाङ्ग लिम्बु, सबनम लिम्बु, मनु लिम्बु, सुर्य खापुङ्ग, चपेटीको आमा लगायतले अभिनय गरेको लघु चलचित्र “निङ्गवासुम” प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति, मुन्धुमविद तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाको प्रमुख आतिथ्यतामा बिमोचन गरिएको हो ।
चर्चित निर्देशक लोकेन साँवा लिम्बुको निर्देशनमा रहेको लघु चलचित्र “निङ्गवासुम” भित्र छोटो तर सरल र सटिक तरिकाले धेरै कुराहरुको उजागार गरेको छ ।
कार्यक्रममा काङ्गसोरे मेडिया प्रा.ली.को तर्फबाट पत्रकार तथा साहित्यकार देबेन्द्र खापुङ्ग, रिता फोम्बो “ठूली” सुर्य खापुङ्गले शुभकामना मन्तव्य राखेका थिए भने “निङ्गवासुम”को बारेमा साहित्यकार तथा मुन्धुविद यासेली योङ्गहाङ्ग र अमर तुम्याङ्गले लोकार्पित लघु चलचित्रको समिक्षा गरेका थिए ।
कतिपय लोप हुदै गरेको लिम्बु संस्कार संस्कृतिलाई यो लघु चलचित्र “निङ्गवासुम” ले फेरि ताजा बनाई दिएको, समिक्षक र अतिथिहरुले बताएका थिए । कार्यक्रममा मनिष लिम्बु, माङ्गेना लिम्बु र सुहाङ्ग लिम्बुले लोकार्पित लिम्बु गीति लघु चलचित्रकै फाक्तालुङ्ग से से बोलको गीत गाएर सुनाएका थिए ।
काङ्गसोरे मिडिया प्रा.ली.का अध्यक्ष सुन्दर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सिता तुम्खेवा लिम्बुले संचालन गरेकी थिईन् ।
कार्यक्रमको भिडियो यहाँ हेर्नुहोला