पूँजीवादको एक सर्वोत्तम नमुना हङकङ र हङकङ भित्रका पिडाहरु

0 1,069
खुसि लिम्बु

खुसि लिम्बु
गगनचुम्बी भवनहरुको शहर हङकङमा आज पनि विकास, अवसर र स्वतन्त्रता धनीका लागि मात्रै जस्तो भएको छ । हामीले तस्विरतिर देख्ने गरेका भवनहरुमा प्रायजसो कर्पोरेट अफिस र शपिङ् मलहरु मात्रै हुन्छन् । शहर छेउ (sub-urban) का अग्ला आवासीय घरहरु (residential blocks) मा धेरै जसो धनीमानीहरु नै बस्दछन् । कोठा भाडा नै महँगो भएपछि आज धेरै श्रमिकहरु (मैले यहाँ गरिबहरु भनिरहेको छैन) यसरी बस्दछन् ।

म पनि कुनै बेला झन्डै झन्डै यसरी बस्दथे । तर म त्यतिखेर बचतको ठूलो हिस्सा नेपाल पठाउथें – नेपालमा घर जोड्नका लागि । त्यो क्रम आज पनि हङकङमा म जस्ता औसत नेपालीहरुमा लागू हुन्छ । मेरो त्यतिखेरको तलब मासिक ३०,००० डलर हुन्थ्यो (हप्ताको ७२ घण्टा काम गर्दा )। त्यो भनेको श्रमिकले पाउने औसतभन्दा निकै बढी हो । आज सोही कम्पनीमा त्यो काम गर्नेको तलब मासिक ५०,००० डलर हुन्छ । तर त्यति धेरै तलब भएर पनि अफ्सोश आज पनि म जस्ता धेरैले बालबच्चा नेपालमा बोर्डर्समा राखेका हुन्छन् । बालबच्चाहरुलाई हङकङमै राखे ठूलो फ्ल्याटमा बस्न पर्ने र शिक्षा र स्वास्थ्यको ब्यवस्था आफैं गर्नुपर्ने हुनाले त्यो ५०,००० सबै त्यहीं स्वाहा हुन्छ ।

आज बेलायतमा त मेरो तलब कहाँ त्यति धेरै हुनु ? नेपाल पैसा नपठाएको बर्षौं भयो होला । तर दुई छाक खान, एक सरो लाउन, बर्षमा एक पटक छुट्टीमा जान र छोरीहरुलाई संगै राख्ने सौभाग्य मिलेको छ । सरकारले तलबको निकै गतिलो हिस्सा ट्याक्स भनी उताउतै लैजान्छ । तर कतै बिरामी परियो भने हङकङका अस्पतालहरुले जस्तो यहाँ बिल त पठाउँदैन ।

हो, समाजवाद र पूँजीवादबीचको फरक नै यही हो । मलाई नेपालमा विकासको चरम उत्कर्ष सहितको पानीजहाज र धनी र गरिबबीचको खाडल खन्ने पूँजीवाद भन्दा पनि शान्ति, सुरक्षा र अमनचयन सहितको दुई छाक, एकसरो, निशुल्क शिक्षा र स्वास्थ्य प्रणाली देख्न पाइने समाजवाद देख्न मन लागेको छ ।

लेखक : जन सम्पर्क समिति युकेका प्रवक्ता, नेपाल आदिवासी जनजाति महासंघ वेलायतका सचिव लगायत पत्रकार हुन् ।

Photo : Benny Lam / Soco

Loading...