दृष्टि बिहिन गायिका रेनुका राईलाई आर्थिक सहयोग हस्तान्तरण

0 1,369

काठमाडौं, २९ साउन -दृष्टि बिहिन गायिका रेनुका राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विगत लामो समयदेखि आफ्नो आँखाको उपचारको निम्ति सडकमा गीत गाउदै आएकी गायिका रेनुका राईको उपचारको लागि संकलन भएको रकम आँखा उपचार नहुने भएपछी उनको नाममा उठेको रकम नयाँ अनलाइनको कार्यलयमा हस्तान्तरण गरिएको हो । उनलाई २ लाख ८१ हजार ८४३ रुपैया सहयोग हस्तान्तरण गरिएको छ ।

आँखा उपचारको लागि भनेर जुटाएता पनि उपचारको लागि तिलगंगा अस्पतालमा पुग्दा डाक्टरले ढिलो भइसकेको जनाएकोले उपचार हुन नसके पछि लायन क्लब आँखा अस्पताल पनि गएको तर त्यहाँ पनि उपचार सम्भव नहुने देखिएको थियो ।

९ बर्षको उमेरमा जन्डिस लागि उपचार गर्दा गलत औषधीको असरले रेनुकाको दुबै आखाँको ज्योती गुमाउन पुगेको थियो । डाक्टरहरुको सल्लाह अनुसार रकम जम्मा गर्न सके उपचार गर्न सम्भव हुने जनाएकोले उत्साहित भइ सडक कन्सर्ट गर्न ओर्लिएकी थिइन् । उनको कन्सर्ट हेरेर र उनको गलाको तारिफ गर्दै समाजसेवीहरुले रकम संकलन गर्न थालेका थिए ।

रेनुका राईको आँखा नै फेर्नु परे आफ्नै आँखा दिने घोषणासमेत गरेका गायक जीतेन बान्तवाको नेतृत्वमा १ लाख ३५ हजार ३ सय ७ रुपैया सकंलन भएको थियो । त्यसैगरी गायिका तथा समाजसेवी मिन पुमा राईको नेतृत्व ७८ हजार ५ सय १६ जम्मा भएको थियो । चन्द्र लामा अनुराग र गायिका तायाहाङ्मा राईले ५७ हजार रुपैया सहयोग जुटाएका थिए । त्यसैगरी भोजपुर सेवा समाज, मलेसिया रविन राईको संयोजकत्वमा संकलित रकम ११,०२०।– पनि हस्तान्तरण गरिएको थियो ।

झापा धुलाबारीमा जन्मेहुर्केकी रेनुका राईले केही गीतहरु रेकर्ड गरिसकेकी छन् । बेलायतमा बसोबास गर्ने जानु काम्बाङ लिङ्देनको शब्द रचना र सुमन राईको संगीतमा पनि उनले गीत रेकर्ड गराइसकेकी छन् । यस्तै कोरियामा रहेर नेपाली साहित्य संगीतमा सक्रिय, समाजसेवी चन्द्र लामा अनुरागको शब्द-संगीतमा एउटा गीत रेकर्ड भएको छ । अनुराग विश्व नेपाली साहित्य समाज दक्षिण कोरियाको अध्यक्ष पनि हुन् । त्यसैगरी गायिका रेनुका राईले अन्य सहयोगीहरुको शब्द संगीतमा पनि गीतहरु रेकर्ड गराएकी छन् ।

सहयोग लिएपछि गायिका रेनुका राई सहयोगीहरु सबैलाई धन्यवाद दिएकी थिइन् । आँखा पुन देख्न नपाए पनि सहयोगीहरुले दिएको सहयोग नै ज्योती पाए बराबर हो, उनको भनाई थियो ।

रकम हस्तान्तरण कार्यक्रममा अभियान चलाउने अभियन्ताहरु संगीतकार गायक तथा समाजसेवी सुमन राई,गायिका तथा समाजसेवी मिना राई, गायक तथा समाजसेवी जितेन बान्तावा राई,गायिका, संगीतकार तथा समाजसेवी तायाहाङ्मा राई , ईन्द्र जिजीबिषा लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

रकम हस्तान्तरण गरिदै गरेको भिडियो

Loading...