असारे विकासको लागि एक महिनामा झण्डै २ खर्ब बजेट खर्च
पिच गर्दा-गर्दै मान्द्रो पल्टाए जसरी उप्किए
काठमाडौं ३२ असार – असारे विकासको लागि यो वर्ष एक महिनामा झण्डै २ खर्ब बजेट खर्च भएको छ । जबकी चालु आर्थिक वर्षमा आइतबारसम्म सरकारले १० खर्ब ५८ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । असारको सुरुआतमा यो ८ खर्ब ६२ मात्रै थियो ।
सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । जसको ८६.३७ प्रतिशत खर्च भएको छ । तर, समग्र बजेटको झण्डै २० प्रतिशत असारमै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
विकास बजेटको ठूलो हिस्सा असारमै आएर सकिएको छ । असार ३१ गते -आइतबार)सम्म सरकारले विकास निर्माणमा २ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ खर्चेको छ । यस्तो खर्च असारको सुरुवातमा १ खर्ब ६२ अर्ब मात्रै थियो ।
असारे विकासमा कालोपत्रे गरिएका कतिपय सडकहरु त पिच गर्दा-गर्दै मान्द्रो पल्टाए जसरी उप्किए । ११ महिना काम नगरी हात बाँधेर बसेका ठेकेदारहरु यही बेला फिल्डमा फर्किए र विकासे अड्डाका हाकिमसँग मिलेमतो गरेर अर्बौं रकम निकासा गरे ।
चालु आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा आइतबारसम्म सरकारले ७७ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्ने देखिएको छ । जसमा झण्डै एकतिहाई बढी विकास खर्च असारमै भएको छ । यो वर्ष ३ खर्ब ३५ अर्ब विकास बजेट छुट्याइएको थियो । यो महिना मात्रै ७७ अर्ब रुपैयाँ खर्च भएको छ ।