के हो खुवालुङ ? खुवालुङसँग जोडिएको मिथकले दिने संकेत के हो ?

इन्द्र नारथुङे

0 501

खुवालुङको संरक्षण किन ?
संसद विघटनको औचित्य पुष्टि गर्न सरकारको तर्फबाट भएका देश व्यापी सभा मध्ये विराटनगरको सभाले उत्पन्न गरेको तरङ्ग विस्तारित हुने क्रम जारी छ । सुनसरी जिल्लाको चताराबाट सुनकोसी र अरुण दोभानसम्म सञ्चालन हुँदै आएको जेट बोटको बाटो सहज बनाउन सुनकोसी र तमोरको दोभानमा रहेको ढुङ्गा फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पछि उक्त तरङ्ग उत्पन्न भएको हो ।
प्रधानमन्त्री ओलीको अभिव्यक्ति लगत्तै पूर्वका किरात समुदायका सचेत व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत खुवालुङ फुटाउन पाइन्दैन भनेर शुरु गरेको अभियान अहिले त्यही क्षेत्रमा पुगेर विभिन्न कार्यक्रम गर्ने देखि प्रदेश नं १ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेसम्मका कामहरु भैसकेका छन् । खुवालुङ संरक्षण अभियानका अभियन्ताहरु जेट बोट चढेर खुवालुङ भएको स्थानसम्म जाने क्रममा जेट बोट सञ्चालकहरुसँगको सामान्य विवादपछि पक्राउ समेत पर्नुले यो मुद्दा निक्कै पेचिलो बन्दै गएको देखिन्छ ।

प्रधानमन्त्रीले फुटाउने भनेको ढुङ्गा कुन हो ?
पश्चिमबाट बग्दै आएको सुनकोसी र उत्तरबाट बग्दै झरेको अरुण नदि मिसिएर केही सय मीटरबाट तल झरेपछि तमोर नदिसँग भेट हुन्छ । सुनकोसी (अरुण) र तमोरको संगम स्थलभन्दा करिव १० मीटर माथि सुनकोसीतर्फ निक्कै ठूलो एउटा ढुङ्गा पानी माथि निस्किएको छ । जेट बोट सञ्चालनमा असहज भयो भनेर सोही ढुङ्गालाई प्रधानमन्त्रीले फुटाउन बजेट व्यवस्था गर्ने अभिव्यक्ति दिनु भएको हो ।

के हो खुवालुङ ?
किरातीहरुको मौखिक धार्मिक (साँस्कृतिक) ग्रन्थ मुन्धुममा विशेष महत्त्वका साथ वर्णन गरिएको स्थान हो, खुवालुङ । मुन्धुम अध्येता भोगीराज चाम्लिङका अनुसार मुन्धुम किरातीहरुको ऐतिहासिक यात्रा बर्णन पनि हो । मुन्धुमले व्यख्या गरेको स्थानहरुसँग किराती समुदायको अत्यन्तै ठूलो आस्था जोडिएको हुन्छ । खुवालुङसँग पनि किरातीहरुको आस्था जोडिएको छ । किराती समुदायका नछुङ (धामी) हरु चिन्ता बस्दा मुन्धुमी यात्रा गर्ने क्रममा खुवालुङ पुग्ने गर्छन् । अत्यन्तै चिप्लो र अप्ठ्यारो ठाउँ भएकोले खुवालुङ पार गर्न धेरै गाह्रो हुने नछुङहरुको क्रियाकलापले व्यक्त गर्दछ ।

खुवालुङसँग विभिन्न मिथकहरु जोडिएका छन् । ती मिथकहरुले पनि यात्रा कै वर्णन गर्दछ । सप्तकोसी पछ्याउँदै उत्तरतर्फ लागेका किरातीहरु खुवालुङमा पुगेपछि छुटिएर कोही सुनकोसीतर्फ, कोही अरुणतर्फ, कोही तमोरतर्फ लागेको र कोही भने नदि तर्न नसकेपछि तराईमा नै बसेको संकेत दिन्छ मिथकहरुले । पत्रकार राजेश चाम्लिङले मिथकहरुमा खुवालुङलाई ढोकाको रुपमा चित्रण गरिएको भेटिन्छ भनेर लेख्नु भएको छ । मिथकहरु पूर्ण सत्य होइनन् तर मिथकहरुमा केही न केही संकेतहरु अवश्य हुन्छन् ।

खुवालुङसँग जोडिएको मिथकले दिने संकेत के हो ?

ह्वाङ्हो नदि किनारमा बिकास भएको सभ्यतालाई बोकेर करिव आठ देखि दस हजार वर्ष अगाडि त्यही नदिको प्रवाहलाई पछ्याउँदै वर्तमान चीनको सिन्जियाङ प्रान्त आइपुगेका पहेंलो वर्णका मानव समूह हिमालय पर्वत नाघेर वर्तमान नेपाल प्रवेश गरेपछि छुट्टिन्दै र अगाडि बढ्दै गर्दा एउटा समूह वर्तमान काठमाण्डौ उपत्यका आइपुग्छ । त्यो समूह भित्रका पनि केही समूह काठमाण्डौ उपत्यका नाघेर उत्तर-पूर्व निस्किएपछि सुनकोसी नदिको प्रवाहलाई पछ्याउँदै पूर्वतर्फ लाग्छन् । पच्चिस सय-तीन हजार वर्ष अगाडि जङ्गलले ढाकेको जमिनको यात्रा गर्नु सम्भव थिएन । त्यसैले जल प्रवाहलाई पछ्याउन बाध्य थिए उनीहरु । सुनकोसी नदिको प्रवाहलाई पछ्याउँदै दसकौंको यात्रापछि उनीहरु मध्यको केही समूह पूर्वि तराई आइपुग्छन् । यायावरीय जीवनको क्रममा तराईसँगको सम्बन्ध निरस बन्न थालेपछि उनीहरुको गन्तब्य नदि पारीको पहाडी भू-भाग बन्न पुग्छ । तर बाधक छ, कोशी नदिको भङ्गालो । थुप्रै ठाउँबाट कोशी नदि तर्ने प्रयत्न गरिन्छ । सम्भवत: लक्का जवानहरुलाई कोशी नदि तर्न खास ठाउँको आवश्यकता थिएन । तर त्यस समूहमा रहेका महिला, बालबालिका र वृद्ध-वृद्धाका लागि सबै ठाउँबाट नदि पार गर्नु सम्भव थिएन । नदि तर्ने उचित ठाउँको खोजी गर्दै ती मानव समूह अरुण (सुनकोसी) र तमोर दोभानमा आइपुगेपछि नदिको बीचमा उभिएको यमानको ढुङ्गोको सहारा लिन्छन् र नदि पार गर्छन् । हुनसक्छ नदि पार गर्दा थुप्रैले जीवन आहुति दिएका छन् । आफ्ना प्रिय जनहरुको मृत्युमा झरेका आँसु कोशी नदिको प्रवाह मिसिएर उधैं उधैं बगेपछि हल्का भएको मन बोकेर आजका किरातीहरु सुनकोसी, अरुण र तमोर पछ्याउँदै पहाडतर्फ लाग्छन् । र, सिकारी युगलाई समाप्त पार्दै कृषि युगमा फड्को मार्छन् । मिथकहरुमा उल्लेख गरिए झैं खुवालुङ वास्तवमा ढोका हो । त्यही ढोकालाई उघारेर किरातीहरु पहाड चढेका हुन् । त्यही ढोका खोल्ने क्रममा थुप्रै किराती पूर्खाहरुले जीवन गुमाएपछि स्मरण स्वरुप धामीहरु मुन्धुमी यात्राको क्रममा खुवालुङ झर्छन् । अत: मुन्धुम मान्ने किरातीहरुको लागि खुवालुङ, ढुङ्गा नभएर सभ्यताको प्रतिक हो, जसले किरातीहरुको सभ्यता, इतिहास, संस्कृति, दर्शन, कला, साहित्य र गहिरो आस्था बोकेको छ । खुवालुङ फुटाउनु भनेको किरातीहरुसँग जोडिएका सभ्यता, इतिहास, संस्कृति, दर्शन, कला, साहित्य र आस्था माथि गम्भीर चोट पुर्याउनु हो । कसैको आस्था माथि गम्भीर चोट पुर्याएर राज्य अगाडि बढ्न सक्दैन । तसर्थ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बोली फिर्ता लिनुको विकल्प छैन । र, युग युगसम्म खुवालुङलाई बचाईरहन राज्यकै तर्फबाट उचित कदम चाल्नु त्यतिकै अपरिहार्य छ ।

                                             -इन्द्र नारथुङे

Loading...