म निदाउन सक्दिन -स्वर्गीय सुमन

म निदाउन सक्दिन
मेरो कोप्पा जस्तै देखिने
प्रत्येक रात मेरो सपनाहरूमा
अनेकौ प्रश्नहरु छोडी जान्छ
बाबु !
यो देश कस्को हो ?
तिमीले हिड्ने बाटोहरु कस्को हो ?
तिमीले ओढेको आकाश कस्को हो ?
तिमीले नियाल्ने हिमालहरु कस्को हो ?
तिमीले टेकेको माटो कस्को हो ?
कहाँ छ ?
उभौलि उधौली र साकेलामा
जोर-जोरले बजाईने
ढोल झ्याम्टा सिलिमी पोमि र बिनायो
कहाँ छ ?
लेख्दा लेख्दै बाँकी
तिम्रो मुन्धुमका अध्यायहरु
कहाँ छ ?
लेख्दा लेख्दै जलाईएका
तिम्रो लिपिको स्वर्ण अक्षेरहरु
कहाँ छ ?
तोयामा खियामाको तान बुन्ने राशी
कहाँ छ ?
हेच्छाकुप्पा र यलम्वरको धनु काँड
कहाँ छ ?
तिम्रो मेचलुमको तीन चुला र मोछाम्मा
अनि कहाँ छ ?
तिम्रो पुर्खाहरुको पसिना र रगतले आर्जेको
तिम्रो इतिहासको अबशेषहरु…..
किन हँ ? बारम्बार
मेरो सपनाहरूमा अनेकौ
प्रश्नहरुको ल्यामपोष्ट उभाई रहन्छ
मेरो कोप्पा जस्तै देखिने
एउटा मान्छे…………………
सायद ! त्यसैले
म निदाउन सक्दिन
म ब्युझिन्दा आगो बनी सकेको हुन्छु
म उठ्दा आँधिहुरी भै सकेको हुन्छु
म हिड्दा तुफान बनी सकेको हुन्छु
यदि सक्छौ भने रोकेर देखाउँ
मेरो यात्राहरुलाई
नियाल्नु छ सासकहरुको तागत
बरु खाली खुट्टै हिडिदिन्छु
पैताला भरी क्याट्स रोपिए पनि
सुम्निमा पारुहाङ्को कसम खाएर
अक्कड्को बाटोहरु
किनकि !
यि हातहरुले लेख्नु छ
खुनी संविधानको हरफहरुमा
नलेखिएको एउटा इतिहास……..
-स्वर्गीय सुमन