कथा : अष्टावक्र – धनप्रसाद सुवेदी ‘श्रमिक’

0 1,394

पौराणिक कथा : अष्टावक्र
धनप्रसाद सुवेदी ‘श्रमिक’

              मिथिलाका राजा जनक विद्वानहरूको अत्यन्त कदर गर्थे । जनकपुर दरबारमा विद्वानहरूको जमघट हुन्थ्यो । देशविदेशका ठुला ठुला विद्वानहरू भेला भएर ज्ञान र विज्ञानका बारेमा अनेक बहस र छलफल गर्थे । शास्त्रहरूको मर्म र तिनको अर्थका विषयमा त्यसरी गरिने बहस र छलफललाई शास्त्रार्थ भनिन्छ । राजा जनकको दरबार शास्त्रार्थको केन्द्र नै थियो ।

जनकपुर दरबारको विद्वान सभामा देशविदेशबाट आएका ठुला ठुला विद्वानहरू र दरबारिया विद्वानहरूका बिचमा पनि शास्त्रार्थ हुन्थ्यो । बन्दी नामका दरबारिया विद्वान शास्त्रार्थमा अब्बल ठहरिएका थिए । देश विदेशका ठुला ठुला विद्वानहरू बन्दीसँगको शास्त्रार्थमा पराजित भए । यसबाट बन्दी आफूलाई ठुलो विद्वान ठान्न थाले । उनमा आफू संसारको सबैभन्दा ठुलो विद्वान हुँ भन्ने घमन्ड चढ्यो । त्यही घमन्डका कारण उनी अरूलाई होच्याउने, हेप्ने र अपमान गर्न पनि पछि पर्दैन थिए । बिस्तारै उनको घमन्डका बारेमा जताततै चर्चा हुन थाल्यो । शास्त्रार्थमा पारङ्गत भएकाले राजा जनकले पनि उनलाई उच्च सम्मान दिएका थिए । यसबाट पनि उनको घमन्ड चुलियो । मानिसहरू उनको विद्वताप्रति नतमस्तक थिए र उनको घमन्डीपनको आलोचना पनि गर्थे ।

           त्यति बेला अहिले जस्तो स्कुलहरू थिएनन् । जान्ने गुरुकहाँ बसेर शिक्षार्थीहरूले विद्या आर्जन गर्थे । यसरी विद्या आर्जन गर्ने आश्रमलाई गुरुकुल भनिन्थ्यो । त्यस समयका हरेक गुरुकुलहरूमा बन्दीको शास्त्र ज्ञान र घमन्डी स्वभावका बारेमा चर्चा परिचर्चा हुन थाल्यो । उनको शास्त्रज्ञान र दरबारिया संरक्षणका कारणले गर्दा खुलेर विरोध गर्न कोही सक्तैनथे । तर धेरै जसो विद्वानहरू बन्दीको घमन्डीपनको आलोचक थिए । कोही विद्वान्ले उनको घमन्ड तोडिदिए हुन्थ्यो भनेर विद्वानहरू आपसमा छलफल गर्थे । विद्वानहरूका बिचमा हुने यस्तो छलफल बालकै उमेरका अष्टावक्रले पनि सुने । उनी शारीरिक रूपमा कमजोर थियो । उनको शरीर आठ ठाउँ बाङ्गिएको थियो । त्यसैले उनको नाम अष्टावक्र रहेको थियो । शारीरिक रूपमा कमजोर भए पनि अष्टावक्र हरेक शास्त्रमा पारङ्गत थिए । उनका मावली हजुरबुबा उद्दालक र बाबु कोहड पनि आफ्नो समयका विद्वान थिए । उनमा घमन्ड थिएन । घमन्डी मानिस विद्वान हुन सक्तैन भन्ने उनको सोचाइ थियो । त्यसैले उनले बन्दीको घमन्ड तोड्ने विचार गरे ।

           अष्टावक्र राजा जनकका अगाडि पुगे । उनले आफू दरबारिया विद्वानहरूसँग शास्त्रार्थ गर्न आएको कुरा सुनाए । शारीरिक रूपमा कमजोर र बालकै उमेरका अष्टावक्रको शास्त्रार्थ गर्ने कुरा सुनेर जनक अचम्ममा परे । उनले अष्टावक्रको विद्वता जाँच्नका लागि केही प्रश्न गरे । अष्टावक्रले फटाफट उत्तर दिए । राजा जनक आफैँमा विद्वान थिए । ‘आँ गर्दा अलङ्कार बुझ्नु’, ‘जुँगा चल्यो कुरा बुझ्यो’ भन्ने उखानहरू जस्तै विद्वान जनकलाई अष्टावक्रको क्षमता र विद्वता थाहा पाउन कति पनि समय लागेन । उनले अष्टावक्रलाई शास्त्रार्थका लागि अनुमति दिए र दरबारिया विद्वानहरूलाई त्यसका लागि तयार रहन लगाए ।

         एउटा बालक शास्त्रार्थका लागि आउँदै छ भन्ने खबर सुनेर जनकपुरको विद्वान सभामा खासखुस चल्यो । नभन्दै अष्टावक्रलाई अगाडि लगाएर राजा जनक विद्वान सभामा प्रवेश गरे । आठ आठ ठाउँ बाङ्गिएको शरीर लिएर सभामा प्रवेश गरेका अष्टावक्रलाई देखेर सभामा हाँसो चल्यो । विद्वानहरू मरीमरी हाँस्न थाले । आफूलाई ‘मै हुँ’ भन्ठान्ने बन्दी त झन् ठुल ठुलो स्वरमा अट्टहास गर्न लागे । राजा जनकले सबैलाई शान्त रहन भने । उनले अष्टावक्रलाई आफ्नो परिचय दिनका लागि अनुरोध गरे ।
“राजर्षि महाराज ! मैले त यहाँको सभामा ठुला ठुला विद्वानहरू छन् भनेको सुनेको थिएँ । तर मैले यहाँ त सबै नरभक्षी राक्षस पो देखेँ त !” अष्टावक्रले राजा जनकसँग भने ।

 “कस्तो कुरा गर्नु भएको ऋषिवर ! उहाँहरू एकसे एक विद्वान हुनुहुन्छ ।” राजा जनकले भने ।

एउटा केही नकामे ठानेको मान्छेले आफूहरूलाई नरभक्षी राक्षस भनेको सुनेर विद्वान सभाका मानिसहरू आक्रोशित भए । सभाको बिचको उच्च आसनमा बसेको बन्दी जुरुक्क उठेर चर्को स्वरमा बोल्न थाले :

“महाराज ! यो लुते कुकुर को हो, हामीलाइ नरभक्षी राक्षस भन्ने ? यसलाई तुरुन्त गलहत्याएर बाहिर निकालिबक्सियोस् । यसले हामीसँग शास्त्रार्थ गर्ने रे ? कस्ता कस्ता हराए गुहेकिरा कराए ।”

राजा जनक केही बोल्न खोज्दै थिए । बिचैमा अष्टावक्र बोले, “महाराज, शरीरको बनोट, उचाइ, मासु आदिको हिसाबकिताब गर्ने काम नरभक्षी राक्षसको हो, विद्वानको होइन । महाराजको सभामा कोही विद्वान छ भने मसँग शास्त्रार्थ गर्न खटाइदिनुहोस् ।”

अष्टावक्रको जबाफ सुनेर बन्दी रातो मुख गरेर आफ्नो कुर्सीमा बसे । राजा जनकले शास्त्रार्थका लागि सभालाई भने । सभामा सन्नाटा छायो ।

         बन्दीसँग शास्त्रार्थ गर्नेले ज्यानको बाजि थाप्नु पर्थ्यो । शास्त्रार्थमा हार्नेले मृत्युलाई स्वीकार गर्नु पर्थ्यो । अष्टावक्रले त्यो बाजि स्वीकार गरेर शास्त्रार्थका लागि तयार भए । बन्दीले सुरुमा आफ्ना सहयोगीहरूलाई शास्त्रार्थका लागि अराए । उनीहरू अष्टावक्रसँग एकछिन पनि टिकेनन् । त्यसपछि बन्दी आफै अघि सरे । धाक, रवाफ र घमन्डले फुलेका बन्दी अष्टावक्रसँगको शास्त्रार्थमा धेरै बेर टिक्न सकेनन् । अष्टावक्रको ज्ञान, तर्क, बुद्धि, विनम्रताबाट राजा जनकसहित दरबारिया विद्वानहरू अत्यन्त प्रभावित भए । उनीहरूले अष्टावक्रको जयजयकार गरे ।

         अन्ततः बन्दी पनि नतमस्तक भएर अष्टावक्रसँग हार स्वीकार गरे र मर्न तयार भए । तर अष्टावक्रले बन्दीलाई जीवन दान दिए । बन्दीको घमन्ड चकनाचुर भयो । त्यसपछि अष्टावक्रको विद्वताको प्रचारप्रसार भयो । उनी आफ्नो समयका ठुला विद्वान कहलिए । मानिस रूपले होइन, बुद्धि र गुणले महान् हुन्छ भन्ने दृष्टान्त दिनुपर्दा अहिले पनि अष्टावक्रको नाम एक नम्बरमा आउँछ ।

Loading...