ऐतिहासिक कथा : फौज र हतियार – धनप्रसाद सुवेदी ‘श्रमिक’

0 716
साहित्यकार – धनप्रसाद सुवेदी ‘श्रमिक’ राष्ट्रपति राम वरण यादव बाट सम्मान लिदै

ऐतिहासिक कथा : फौज र हतियार

धनप्रसाद सुवेदी ‘श्रमिक’
“लौ गोर्खाली फौजले कीर्तिपुर पनि कब्जा गर्यो रे !” एकाबिहानै स्वस्ति गर्न आएका राजगुरुले राजा जयप्रकाशलाई सुनाए । जयप्रकाशले तत्काल मन्त्री र भारदारहरूलाई बोलाए ।
“अब केही गर्नुपर्छ । नत्र गोर्खालीहरूले कान्तिपुर पनि बाँकी राख्दैनन् ।” एक जना भारदारले भने ।
“अब भारेभुरेको भर गरेर हुँदैन । अङ्ग्रेजहरूसँगै सहायता माग्नुपर्छ ।” एक जना पाका भारदारले भने ।
“त्यसो भए फकिर रामदास र उमदालाई बोलाउनू । उनीहरूलाई अङ्ग्रेजकहाँ पठाउनु पर्यो । ” जयप्रकाशले मन्त्रीलाई आदेश दिए ।
जयप्रकाशको चिठी लिएर फकिर रामदास र उमदा बेतिया पुगे । उनीहरूले अङ्ग्रेज अधिकारी गोल्डिङलाई भेटेर जयप्रकाशले पठाएको चिठी दिए ।

जयप्रकाशले आफू विरूद्ध अङ्ग्रेजलाई गुहारेको खबर पृथ्वीनारायणकहाँ पनि पुग्यो । उनले पनि आफू अङ्ग्रेजसँग राम्रो सम्बन्ध बनाउँछु भनेर खबर पठाए तर भारतमा रहेको अङ्ग्रेज शासक पृथ्वीनारायणको राज्य विस्तार अभियानसँग सन्तुष्ट थिएन । त्यसैले उसले जयप्रकाश मल्ललाई सहयोग गर्ने निर्णय गर्यो । उसले कप्तान किनलकको नेतृत्वमा २४०० सेना नेपालतर्फ पठायो । उनीहरू त्यति बेलाका शक्तिशाली हातहतियार सहित जनकपुरको बाटो हुँदै सिन्धुली आइपुगे ।

जयप्रकाश मल्लको सहायतार्थ शक्तिशाली हतियारसहित अङ्ग्रेज फौज आउँदै गरेको खबर गोर्खाली राजा पृथ्वीनारायणले पनि थाहा पाए । त्यति बेला सिन्धुली क्षेत्र गोर्खा राज्यअन्तर्गत आइपुगेको थियो । पृथ्वीनारायणले वीरभद्र उपाध्याय र वंशु गुरुङको नेतृत्वमा ५०० जनाको फौज सिन्धुलीतिर पठाए । वंशराज पाण्डे र श्रीहर्षको नेतृत्वमा सिन्धुलीगढीमा ७०० जनाको फौज तैनाथ गराए ।
किनलक नेतृत्वको फौज कान्तिपुरका राजा जयप्रकाश मल्लको सहायताका लागि आएको थियो । कान्तिपुर पुगेपछि जयप्रकाशको फौजलाई कमान्ड गर्दै गोर्खाली फौजसँग लडाइँ गर्ने उसको योजना थियो । सिन्धुलीको जङ्गलमै लडाइँको सामना गर्नुपर्छ भन्ने उनीहरूले सोचेका थिएनन् । उनीहरू ढुक्कले सिन्धुलीगढीतिरको उकालो चढिरहेका थिए ।

अङ्ग्रेज फौजसँग त्यो समयका शक्तिशाली हतियार थिए । गोर्खाली फौजसँग लट्ठी, भाला, खुकुरी र भरूवा बन्दुक मात्र थियो । गोर्खाली फौजभन्दा अङ्ग्रेज फौज झन्डै डबल थियो । यस्तो अवस्थामा सिधा सिधा लडेर अङ्ग्रेज फौजलाई जित्न गारो थियो । त्यसैले गोर्खाली फौजले भिन्न तरिकाले लडेर जित्ने उपाय गरे । अङ्ग्रेज फौज सिन्धुली गढीतिर उकालो चढ्दै थियो । गोर्खाली फौज सिन्धुली गढी र डाडाँमाथि लुकेर बसेका थिए । वरपर घना जङ्गल थियो । रूखहरूमा जताततै अरिङ्गालका गोला थिए । बाटाको वरपर सिस्नोको घारी थियो । गढी र डाँडामा ढुङ्गा थुपारेको थियो ।

अङ्ग्रेज फौज सिन्धुलीगढी नजिक आइपुगे । अचानक उनीहरू माथि ढुङ्गा बर्सिन थाले । ढुङ्गासँगै रूखबाट अरिङ्गालका गोला भुइँमा झर्न थाले । बिच्केका अरिङ्गालले जथाभावी चिल्न थालेपछि अङ्ग्रेज फौज आत्तियो । उनीहरू बाटो छेउछाउका झाडीमा लुक्न गए । बाटोछेउमा सिस्नाको झाडीहरू थिए । ती झाडीहरू पनि आफ्ना लागि प्रतिकूल छन् भन्ने कुरा अङ्ग्रेज फौजका मानिसहरूलाई थाहा थिएन । जब उनीहरू झाडीभित्र पसे तब उनीहरूका जिउ पोल्न थाल्यो । झाडी पन्छाउन खोज्दा झन्झन् पोल्न थाल्यो । अब उनीहरू आफ्ना झोला र हात हतियार छोडेर ओरालै ओराले भाग्न थाले । यस क्रममा कति जना भिरबाट लडेर मरे । कति अरिङ्गालले चिलेर मरे । कति चाहिँ माथिबाट झरेका ढुङ्गा लागेर मरे । त्यही मौकामा गोर्खाली फौजले लाठी र खुकुरीहरू प्रहार गर्न थाले । लट्ठीमा सिस्नोका मुठा बाँधेर त्यसले पनि हिर्काउन थाले । १६ सय जति अङ्ग्रेज सेना मारिए । कति घाइते भए । बाँकी रहेका सेनाहरू लुक्दै छिप्दै भागे । धेरै जसो त हातहतियारहरू छाडेरै भागे । अङ्ग्रेज फौजका तीन सय बन्दुक गोर्खालीले हात पारे ।

“लौ बर्बादै भएछ, महाराज ! गोर्खाली फौजले अङ्ग्रेज फौजलाई सिन्धुली गढीबाटै फर्काइदिएछ ।” एकाबिहानै स्वस्ति गर्न आएका राजगुरुले राजा जयप्रकाशलाई सुनाए । त्यो खबर सुनेर जयप्रकाश चिन्त्ति भए र भने, “हैन, अङ्ग्रेजसँग त्यत्रा हातहतियार र तालिम लिएका सेना थिए । तिनलाई गोर्खालीले कसरी जित्न सके त ?”

“अचम्म भएछ नि महाराज ! उहिले देवताका पालामा रामचन्द्रले बाँदर फौजको सहायताले रावणलाई हराएका थिए । अहिले हाम्रा पालामा अरिङ्गालको फौज र सिस्नोको हतियारका भरमा गोर्खालीहरूले अङ्ग्रेज फौजलाई हराएछन् । लडाइँ जित्नलाई हातहतियार र फौज मात्र भएर हुने रहेनछ, जुक्ति, बुद्धि र साहस पनि चाहिने रहेछ ।” राजगुरुले भने ।
“अरिङ्गालको फौज र सिस्नोको हतियार कस्तो कुरा हो गुरुजी” जयप्रकाशले अचम्म मान्दै सोधे । राजगुरुले सिन्धुली गढीछेउमा भएको अङ्ग्रेज र गोर्खाली फौजबिचको लडाइँका बारेमा बिस्तारमा बताए । जयप्रकाश जिल्ल परे ।

सिन्धुलीगढी लडाइँको अर्को साल इन्द्रजात्राको दिन राजा जयप्रकाश जात्रा मनाइरहेका थिए । अचानक भिडमा भागदौड मच्चियो । के भएछ भनेर जयप्रकाशले यताउता हेरे । त्यति नै बेला नगरकोटे फौजका जवानहरू आएर भन्न थाले, “महाराज, हामी गोर्खालीको घेरामा परिसक्यौँ । दक्षिणतर्फको ढोकाबाहेक सबैतिर गोर्खालीको घेरा छ । अब हामी चाँडै भागौँ नत्र गोर्खालीले महाराजलाई पनि बाँकी राख्दैनन् ।”

सैनिक जवानको कुरा सुनेर जयप्रकाश मल्लको मुटु ढुकढुक गर्यो । “त्यतिकै भागेर गद्दी त्याग्नुभन्दा लडेर मर्नु बेस” उनले मनमनै भने ।

त्यही बेला घुनघुन गर्दै एउटा अरिङ्गाल राजाको छेउबाट उडेर गयो । उनले झल्यास्स सिन्धुलीगढीमा भएको अङ्ग्रेज र गोर्खालीको लडाइँको कुरा सम्झे । उनका नौनाडी गले । “गोर्खाली फौजसँग लडाइँमा जित्ने कुरा सजिलो छैन ।” उनले मनमनै भने ।
“महाराज अब ढिलो गर्नु हुँदैन, जाऊँ पाटनतिर ।” एक जना दरबारियाले राजाको कानैनेर आएर भने । नगरकोटे सेनाको बिचमा घेरिएर जयप्रकाश मल्ल पाटनतिर लागे । उनी दक्षिण ढोकाबाट बाहिरिँदै गर्दा पृथ्वीनारायण शाह कान्तिपुरको राजगद्दीमा बस्दै थिए । राजगद्दीको वरपर एउटा अरिङ्गाल भुनभुन गर्दै थियो ।

Loading...