नयाँ अनलाइनले ग¥यो सिर्जना श्रृङ्खला कार्यक्रम
काठमाडौं, २० कात्तिक । नयाँ अनलाइन डटकमले सिर्जना श्रृङ्खला कार्यक्रमको आयोजना गरेको छ । गजलकार सुजन सिरेङ चङबाङको एकल गजल कार्यक्रम गरी सिर्जना श्रृङ्खला गरेको हो ।
गजल लेखनमा बाघे (बागी?) गजल लेख्ने सिरेङले मायाप्रेम, संस्कृति, विकृतिमाथिको प्रहार भावमा ८ वटा गजल प्रस्तुत गरेका थिए । उननलाई कवि÷नाटककार विष्णु नेम्बाङ, आष्मा अर्याल, मिरान लिम्बू, रेनु राईले वाचनमा सहयोग पु¥याएका थिए ।
गजल सुनेर चर्चित गजल लेखिका तथा गीतकार शीतल कादम्बिनीले सुजनका गललहरू श्रवणीय नै रहेको बताइन् । श्रृङ्गारिक पक्षमा अझै सुधार्नुपर्ने कादम्बिनीको सुझाव थियो । समयलाई ध्यान दिइएर छोटो मिठो कार्यक्रम गरेको प्रति प्रभावित बनेको पनि बताइन् ।
सृजनशील अराजकताका अभियन्ता तथा आख्यानकार राजन मुकारुङले गजल आयातित विधा भएको बताउँदै गजलभन्दा पालाम, सिलीमार्फत आफ्ना कुराहरू भन्न सजिलो र राम्रो हुने बताए । गजल सामन्तवादबाट आएकोले यसमा खान्दानी भाषा प्रयोग हुने, सुरा सुन्दरीको पक्षपाती हुने मुकारुङले बताए । सुजनको गजलमा पनि ‘आज्र्याको थिएँ’ जस्ता शब्द पाएको तर लिम्बुवान भने कसैले नआर्जेको भूमि भएकोले त्यस्तो भाषा नसुहाउने बताए ।
कवि स्वप्निल स्मृतिले लेखनमा शब्दमात्र लिम्बू भएर हुन्न, लिम्बुपनको आभाष पनि हुनुपर्ने बताएका थिए ।
को हुन् सुजन सिरेङ चङ्वाङ् ?
ताप्लेजुङ मैवाखोला गाउँपालिका साँघु ४ ताम्राङ ताप्लेजुङमा बुबा शिबकुमार सिरेङ र आमा श्रीमाया सिरेङ (नेयोङहाङ्) बाट जन्मिएका हुन् सुजन सिरेङ चङबाङ । हाल सपरिवार पथरी शनिश्चरे १ मोरङमा बस्दै आइरहेका सुजनले गजल लेख्न सुरु गरेको निकै लामो समय भयो । गजल लेखनको यात्रा लामो भएतापनि पुस्तक प्रकाशन भने गरेका छैनन् । अब चाडै नै सङ्ग्रह प्रकाशन गर्ने तयारीमा छन् । सुजन गीतकार पनि हुन् । केहि गीतहरू रेकर्ड भइसकेका छन्, केहि रेकर्ड हुन बाँकी छ । गजल लेखनमा भन्दापनि अध्ययनमा धेरै समय खर्चिने सिरेङ बताउँछन् । स्रष्टा सुजन लामो समयदेखि युएईमा रहेर साहित्य सिर्जनामा तल्लिन छन् ।
सुजनका केही सेरहरू यस्ता थिए ।
लिम्बुनी हुँ बिचार भए रीति जनाउ भन्छे
लोकन्दीको ताँती अनि दुई नाल हनाउ भन्छे
बा–आमाको पाऊ पर्नु काका मामा धेरै छन्
साम्याङ युप्पा अघि सारी आफै मनाउ भन्छे ।
+++
जति गर्यो जसो गर्यो जिउन्जेल मात्र खानु रैछ
दुईदिनका पाहुना हामी दुईदिनकै भानु रैछ
आफै खाँउ आफै लगाउ सुख सयल मै रमाउ
खाई मोटाई बडेमान, सोचाई सबको सानू रैछ
+++
सोच्ने गर्छु जिन्दगीको कहानी बेकार लाग्छ
तिमी बिना मातिने यो जवानी बेकार लाग्छ
तिमी उता ओसन पार्क म त गाउँ बेशीमा
बिना भिजा गोजी रुग्ने राहदानी बेकार लाग्छ ।
आयोजक नयाँअनलाईन डटकमका प्रवन्धक देवेन्द्र खापुङका अनुसार आगामी दिनमा यस्ता सृजनात्मक कार्यक्रमहरूको आयोजना हुने बताए ।
कार्यक्रम काङ्सोरे मिडियाका अध्यक्ष सुन्दर आलेको सभापतित्वमा र सीता तुम्खेवाको सञ्चालनमा सम्पन्न भएको थियो ।
