प्राज्ञ नेपाल भारतका विभिन्न कार्यक्रममा

0 720

कार्तिक १६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा. देवी नेपाल भारतको पश्चिमबंगाल प्रान्तका मिरिक, दार्जिलिङ, डुवर्स, सिलगुढी र सिक्किम प्रान्तकोे राजधानी गान्तोकमा आयोजना हुने विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्राज्ञ नेपाल कार्तिक १७ गते आइतबार साहित्य सुनौँ परिवार, मिरिकको आयोजनामा हुने स्रष्टा अजम प्रधानद्वारा लिखित नियात्राकृति ‘हिमवत्–खण्डः सन्दर्भ र संयोग’को विमोचन समारोहका साथै अन्य विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्राज्ञ नेपालका अनुसार आइतबार पुस्तक विमोचनपछि मंगलबार साहित्य सुनौँ परिवारकै आयोजनामा र बुधबार नेपाली साहित्य प्रचार समितिले सिलगुढीमा आयोजना गर्ने छन्दकविता लेखन कार्यशालामा उहाँले प्रशिक्षण दिनुहुनेछ । सोही साँझ उहाँ डुवर्समा साहित्यकार शङ्कर प्रधानद्वारा आयोजना गरिने स्रष्टा भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ ।

यसै गरी प्राज्ञ नेपालले कार्तिक २२ गते शुक्रबार सिक्किम विश्वविद्यालय, नेपाली विभागद्वारा आयोजना गरिने कविता लेखन कार्यशालामा प्रशिक्षण दिनुहुनेछ । भोलिपल्ट सिक्किम गजल मञ्चले गान्तोकमा आयोजना गर्ने गजल लेखन कार्यशालामा गजल लेखनबारे प्रशिक्षण दिनुहुनेछ । २४ गते आइतबार नेपाली साहित्य प्रचार समितिद्वारा सिलगुढीमा आयोजना गरिने स्रष्टा भेटघाट कार्यक्रममा सहभागी भई उहाँ काठमाडौँ फर्किनुहुने कार्यक्रम रहेको छ ।

Loading...