आफ्नो श्रीमान गुमाइसकिन्, छोरो गुमाइन् । के रहृयो उनको ? न घर न घाट ।
गंगामायालाई सम्झँदा मध्यरातमा झस्किन्छु
काठमाडौ – मलाई अर्को कुराको पनि दुःख लागेको छ । हिजो कांग्रेस र एमाओवादीको सरकार थियो । गंगामाया त्यहीँ लडिरहेकी थिइन्, उनका आशु झरिरहेका थिए । श्रीमानको शव शिक्षण अस्पतालमा छ, एउटा छोरा मरेको हो कि बाँचेको छ, थाहा छैन, एउटा मारियो ।
आज कांग्रेसका नेताहरु गंगामायालाई भेट्न गएका छन् । सरकारमा भएका बेला जानुभएन । अहिलेको सरकार पनि गंगामायालाई भेट्न जाँदैन । भोलि निस्किएपछि मुद्दा बनाउँछ । सबैभन्दा दुःख लाग्ने यही हो ।
गंगामायाको नाम लिँदा पनि राति झस्कन्छु । मैले मिसिल पनि हेरेकी छु । एक दिन बहस पनि सुनेको छु । तपाई सम्झनुस् त, तिनै नेताका कुनै छोरो मर्दा ती रुँदैनन् ? आफ्ना छोरालाई युवराज बनाएर सडकमा उभ्याउँछन् । तिनका नाममा कार्यक्रम गर्छन् ।
तर, गोरखा फुजेलकी एउटा मामुली महिला, जसको १६/१७ वर्षको छोरा एसएलसी पास भएको मावली हजुरबालाई सुनाउन जाँदा मारियो । श्रीमान मारिए, आफू मर्ने अवस्थामा छिन्, छोरो वेपत्ता छ ।
एउटा परिवारलाई तपाई घाँटी ङ्याकी ङ्याकी मारिरहनु भएको छ । हामी सबैले मारेका हौं, किनभने हामी बोल्दैनौं । ६ वर्षदेखि एउटा महिला न्यायका लागि लडिरहेकी छिन् ।
हरेकलाई आफ्नो सन्तानको माया हुन्छ, उनी त्यही छोरोका लागि दम घुटीघुटी मरिरहेकी छन् । त्यो साहस सम्झनुस् त एक पटक ।
यो मुलुकमा एकपटक तीन महिला थियौं । गंगामाया पनि ऐतिहासिक महिला हुन्, म त उनलाई न्यायकी देवी भन्छु । न्यायका लागि उनले लडेको लडाइँ सानो हो ? आफ्नो श्रीमान गुमाइसकिन्, छोरो गुमाइन् । के रहृयो उनको ? न घर न घाट । आफ्नो आङमा लगाएको लुगा र त्यो शरीरबाहेक दुनियाँमा केही छैन ।
कस्तो अन्याय हो यो ? कमसे कम उनीमाथि भएको अन्यायका लागि हामीलाई माफी देउ भन्न सक्दैनन् यी नेताहरुले ? उनीमाथि अन्याय नै भएको हो । आज यिनीहरुको दमले केही नलेखिएला तर, यो उनी मरिन् भने देशका लागि कलंक हुन्छ ।
भीमसेन थापाकी पत्नीलाई जसरी राणाकालमा जुन बेइज्यतीका साथ मर्न बाध्य बनाइयो, त्यस्तै घटना हो यो । त्यसैले बहुत दुःख लाग्छ । साँच्चै भन्ने हो भने आधा रातमा उनलाई सम्झेँ भने झस्कन्छु ।
त्यसैले, मेरो अनुरोध छ, अब त जाग्नुपर्छ । यो सरकार आउला, केके न गर्ला भन्ने थियो । रेल कुदाउने, पानी जहाज कुदाउने सबै कुरा पढ्न पाइन्छ । तर, आम जनताका खान पाउने, लगाउन पाउने कुराहरु …. । जनताको स्वास्थ्य शिक्षा हेर्नुपर्दैन ? हावा कुरा गरेर मात्र हुन्छ ?
(मंगलबार राजधानीमा पब्लिक डिफेन्स एलाइन्सले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशील कार्की गरेको सम्वोधन)
अनलाईन खबरबाट साभार गरिएको