पिपल छाँयाले गीतको म्यूजिक भिडियो लोकार्पण
उदयपुर – स्थानीय प्रतिभाको उच्च कदर गर्दै प्रदेश सांसद नारायण बुर्जामगरले एक म्युजिक भिडियोको लोकार्पण गरेका छन् । त्रियुगा नगरपालिका ७ कौवाईमा कवि तथा गीतकार लेखबहादुर कार्की र पुष्पा राईको शब्द रचनामा रहेको पहिलो म्युजिक भिडियो “पिपल छाँयाले” को लोकार्पण गरेका हुन् । लोकार्पित म्युजिक भिडियोलाई रौतामाई गाउँपालिका ७ का एकराज राना मगरले निर्देशन, छायांकन तथा सम्पादन गरेका छन् ।
एक समारोहकाबीच लेखबहादुर कार्कीको पहिलो गीति कोशेली र ब्रोदर स्टुडियोको प्रस्तुतीमा तयार भिडियो सार्बजनिक गर्दै सांसद मगरले आफ्नै ठाउँमा राम्रो कला, प्रतिभा र सिर्जना देख्न पाएकोमा खुसी व्यक्त गरे । बृद्धअवस्थामा पनि नेपाली लोकसंगीतको क्षेत्रमा सिर्जनसिल देखिएकोमा ६८ वर्षे कार्कीको प्रशंसा गर्दै शारीरिक रुपमा एउटा खुट्टा कमजोर रहेपनि निर्देशन, छायांकन तथा सम्पादन जस्तो कठिन काम राम्रोसंग गरेकोमा सांसद मगरले सिर्जनशिल युवा मगरको प्रशंसा गरे । यस मर्मस्पर्सी गीतले गाँउघर र नेपालीपनको झलक दिएको र भिडियो नै बनेपछि अझ जीवन्त बनेको समेत बताए । भिडियोलाई पूर्णपुष्टि अनलाईनको अफिसियल युट्युब च्यानल पूर्णपुष्टि टिभीले प्रशारणमा ल्याएको छ ।
गाउँघर र नेपाली परिवेशलाई समेटेर रचना गरिएको गीतको छायांकन उदयपुर सिमेन्ट उद्योगको चुनढुंगाखानी क्षेत्र सिधाली, कौवाई र मुर्कुची आसपासमा गरिएका हुन् । विक्रम लुङ्गेलीको नृत्य निर्देशन रहेको भिडियोमा स्थानीय कलाकारहरु आकाश मगर र यमुना मगरले मूख्य अभिनय गरेका छन् भने अन्य कलाकारहरु कविता थापा, कन्चना राना, स्मृती मगर, प्रमिता मगर, बसन्त लुङ्गेली, सहीम मगर, विहान राना, दिपसन घलेले साथ दिएका छन् । गीतमा गायक युवराज कोइराला र गायिका अन्जु राईले स्वर दिएका छन् ।
स्थानीय बृद्ध कर्णबहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश नं १ का सचिव हरिकुमार राई, शाखा उदयपयुरका अध्यक्ष भरत खड्का, उपाध्यक्ष भोटराज राई, सचिव पर्शुराम थापा, सहसचिवहरु विदुर कटुवाल, गजेन्द्र राई, पत्रकार शंकर रिखाम मगर र होम बस्नेतको उपस्थिति थियो भने स्थानीय नागरिक समाज, समाजसेवी र स्थानीयहरुको व्यापक सहभागिता थियो ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला