अप्रेसन गीत-संगीतको-१ (“लुट्न सके लुट कान्छा” गीत सन्दर्भमा)

0 1,346
indra narthunge– ईन्द्र नार्थुङ्गे
हिजो मिती २०७५ साल फागुन ५ गते आइतबार, अघिल्लो दिन मात्रै यूटुवबाट हटाइएको पशुपति शर्माको गीत “लुट्नसम्म लुट कान्छा, अरु देशमा पाइन्दैन नेपालमै छ छुट” बोलको गीत काठमाण्डौको सडकमा बजाएर छमछम नाचिरहेको दृश्य टिलिभिजनको स्क्रीनमा देख्दा लाजले रातो-पिरो भएँ । मेरो छेवैमा कुनै विदेशी हुन्थ्यो र उसले गीतको भाव बुझ्थ्यो भने मेरो हालत अझै कस्तो हुन्थ्यो होला ?
म आफैले “दुष्ट नेता र भ्रष्ट प्रशासकको लास आर्यघाटमा जलिरहँदा लासमाथि जल्दै गरेको फूल हाँसिरहेको विम्ब खिचेर कविता लेखेको छु ।” “त्यसरी नै प्रजातन्त्र आएपछि कुकुरले गर्ने जम्मै काम नेताले गरिरहेको व्यंग्य कवितामा ठोकेको छु ।” तर सारा देश र देशवासीहरु नै गलत छन् भन्ने मनोविज्ञान निर्माण गरेर लेख्ने हिम्मत न पहिला गरें, न आज गर्छु, न भोलि नै। गल्ती केहीको हुन्छ, सबैको हुँदैन । त्यसैले दोष केहीलाई दिने हो सबैलाई होइन । देशमा भ्रष्टाचार (आर्थिकभन्दा ठूलो नीतिगत) ब्याप्त छ । हत्या, बलात्कार, सामाजिक हिँसा, पारिवारिक विखण्डन, बेमेल र निराशा पनि धेरै नै छ । तर भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार छ । सरकार र सम्बन्धित निकायले भ्रष्टाचारमा आँखा चिम्लिएला, त्यसलाई अख्तियारले छोड्दैन । मानिलिऔं अख्तियरले पनि राजनीतिक प्रभावमा कार्वाही अगाडि बढाएन तर सचेत नागरिकहरु त छन् नि ? आवधिक निर्वाचनमा नागरिकहरुले त्यस्तालाई भोट नदिएर कार्वाही गर्न सक्छन् । बलात्कार र सामाजिक हिंसालाई नियन्त्रण गर्ने र अपराधीलाई कार्वाही गर्ने पुलिस प्रशासन छ ।
मानिलिऔं पुलिस प्रशासनले राजनीतिक प्रभावमा अपराधीलाई उन्मुक्ति देला तर त्यस्ता अपराधीलाई सामाजिक बहिस्कार गरेर सजाय दिने सिङ्गो समुदाय छ । केही नेता, प्रशासक, पुलिस गलत हुँदैमा यो देशको समाज चुपचाप बसेको छैन ।
सुन्दै कहाली लाग्दो राणा शासन, निरंकुश पञ्चायत र सामन्तबादको अवशेष राजा फाल्ने नेपाली समाज महान छ । यति महान समाजलाई समेत निरीह ठानेर नेपालमा सबै कुरा छुट छ भन्ने गीतको भावले स्वाभिमानी नागरिकको अपमान गर्दैन ? देशको अपमान गर्दैन ? अनि यस्तो गीत यूटबबाट हटाएकोमा (हटाउन बाध्य पारिएकोमा) सडकमा आन्दोलन गर्ने र यही गीतमा छमछमी नाच्ने हामी कस्तो नागरिक ? धेरैलाई लाग्ला, नेता र कार्यकर्तालाई गाली गरेकोमा गीतप्रति असहमत भएको हो । धेरैलाई यसो पनि भएको हुनसक्छ । तर मलाई अन्तरामा रहेका केही शब्दले होइन गीतको स्थायीले ब्यक्त गरेको भावले पोलेको हो । यसले निर्माण गर्ने मनोविज्ञानको कारण गीत हटाउनु ठिक हो भन्ने पक्षमा उभिएको हुँ । गीतमा व्यंग्य छ । अहिलेको जस्तो भद्रगोल नहोस् भन्ने कामना पनि छ । तर सर्वसाधारणले बुझ्ने भनेको त नेपालमा त जे पनि गर्न पाइने रहेछ भन्ने न हो । साना बालबालिकाले समेत बुझ्ने भनेको यही नै हो । सर्वसाधारण र साना बालबच्चाहरुमा विकसित हुने यस्तो नकारात्मक मनोविज्ञानको असर भविश्यमा कस्तो होला ? के तपाईहरुलाई यो कुरा सम्झेर डर लाग्दैन ? गीत/संगीतको प्रभाव ठूलो छ ।
अंग्रेजी गीत ग्लुमी सन्डे सुनेरै कतिले आत्महत्या गरेको उदाहरण संसारमा छ । म आफैले केही गीतलाई कुनै बेला जीवन ठानेर निन्द्रामा पनि गुनगुनाएको छु । केही गीत सुनेरै जोसिन्छु अझै पनि । पशुपति शर्मा कै “मलाई अमेरिका यही” र “ढाड दुखेर मरें” भन्ने गीत राष्ट्रिय गान जतिकै प्रीय मानेर सुन्ने गर्छु । देश मै केही गर्छु भन्ने र श्रमलाई सम्मान गर्नेहरुको लागि माथी उल्लेखित दुई गीत साँच्चै प्रेरणाको श्रोत हो । “काम गरौं भो, जाँगर नि झिकौं भो मलाई सुख, छ भन्न सिकौं भो” यो शब्दको लागि बारम्बार स्यालुट छ, पशुपति तिमीलाई । तिमीले गीतले पार्ने प्रभाव बारे ध्यान नदिई “नेपालमा जे गर्न नी छुट छ” भनेर लेख्यौ/गायौ, यो तिम्रो कम्जोरी हो । यो कमजोरीलाई महशुस गरि तिमीले गीत यूटुवबाट हटायौ, तिमीलाई अझै सम्मान छ । तर देश र देशवासी सबै नागरिकहरुलाई अपमान गर्ने तथा गलत मनोविज्ञानको विकास गर्ने गीत बजाउँदै काठमाण्डौको सडकमा छमछम नाच्ने विवेकशील ठानिएका अविवेकीहरुको चेतनाको ढोका खोलियोस् । वास्तविकता देखाउनको लागि नाङ्गो बन्नै पर्छ भन्ने मनोविज्ञानबाट लेखक/कलाकारहरु समेत मुक्त हौं ।

(केही दिन यही शिर्षकमा लेख्दैछु,,भोलिको सन्दर्भ “भिजिट भिसा” ।)
लेखक पुर्व पत्रकार हुन्,
Loading...