सन्दर्भ ” अर्जुन खालिङ्ग स्मृतिग्रन्थ ” ले पुनरावृत सम्झना

केही दिन अघि मेराे मेसेज ईनबक्समा उस्तै मेसेज आयो डा. तारामणि राई अनि कवि अन्जना ईच्छमफूल बैनीकाे । बिषय रहेछ दिवंगत कलाकार कवि अर्जुन खालिङ् ज्युकाे पुण्य स्मृतिमा प्रकाशन हुन लागेकाे स्मृति ग्रन्थकाे लागि लेख रचना संस्मरण सम्बन्धि । म एकछिन घाेत्लिएँ । म काैनसा त्यस्ताे लेखक हुँ जस्ले अर्जुन खालिङ् जस्ता हाेनहार ब्यक्तित्वमाथि कलम चलाउन सकाेस् ! जस्काे असमायिक निधनले सारा मान्छेहरुकाे मस्तिष्क नै एकप्रकार ठप्प झैं भएकाे थियाे । अकल्पनिय यस घट्नाले सबैका मनमा बेदना र छट्पट्टिकाे भुङ्ग्रो सल्काएकाे थियाे ।
अर्जुनलाई आफूहरुले समयमै बुझ्न नसक्दा भनाैं वा प्रयास नगरेकाेमा ग्लानी र पश्चातापकाे डढेलाेले सबैकाे मन भस्मिभुत भएकाे थियाे । तर बिकल्प अब केही थिएन, मात्र अन्त्येष्टि अनि उनकाे आत्माको चीर शान्तिकाे कामना गर्नु बाहेक । त्याे चीर शान्तिकाे कामना गरेकाे पनि पूरा २ बर्ष हुन लागेछ । त्यहि समय पारेर स्मृति ग्रन्थ निकाल्ने याेजना रहेछ । याे कुरा यही मेसेजबाट थाहा भयाे । उक्त कार्यकाे लागि लागि पर्नुहुने सम्पुर्ण ब्यक्ति ब्यक्तित्वलाई धन्यवाद तथा शुभकामना !!
अर्जुन खालिङ् कला साहित्यकाे क्षेत्रमा एक प्रतिष्ठित नाम , राज्यद्वारा बिभुषित व्याक्तित्व, जस्माथि लेख्ने सामर्थ्य मसंग पक्कै पनि थिएन तर संस्मरण भन्ने एउटा शब्दावलीले भने मलाई एकाएक लेख्न प्रेरित गरायाे । म मात्र कसरी नसम्झिंउ वहाँलाई ? त्यसैले कलम समात्ने आँट गरें । वहाँबारे लेखिनैपर्ने कुराहरु समेट्न मैले नसकुँला , तर मेराे नजरले देखेकाे अर्जुन अनि आफू पनि उस्तै उस्तै अन्तर सम्बन्धित् क्षेत्रमा भएकाे कारण वहाँकाे कलालाई महशुस गरेका भावना पाेखिन सक्छन् । यी मेरा भावना वहाँ कलाकार कवि अर्जुन खालिङ् ज्युलाइ सम्झिन लेखिएकाे केवल सम्वाेधन मात्र !!!
अर्जुन खालिङ् चित्रकार , मुर्तिकार , कवि गीतकार अनि सांस्कृतिक अभियन्ता । म पनि गायिका बन्छु भनेर भाेजपुर , ईटहरी हुँदै काठमाण्डाै छिरेकाे मान्छे । शायद गणतन्त्र आएपछिको समय हुनुपर्छ । म पनि केही सामाजिक संस्थासंग आवद्ध भएर बेलामाैका गाेष्ठि कार्यक्रममा सहभागी हुने गर्थे । यस्तै एक जमघटमा हाे मेराे वहाँंसंग औपचारिक रुपमा परिचय भएकाे । तर म भने परिचय हुनु अगावै वहाँकाे कलाकारिताबारे केही मात्रामा जानकार थिएँ र प्रशंसक पनि भैसकेकाे थिएँ । वहाँ गीतकार अर्जुन खालिङ्काे शब्द रचना अनि संगीतकार पविधन खालिङ्काे संगीतमा गायिका बैनी यसाेदा खालिङ्ले गाउनुभएकाे गीत म अनि मेराे आमा घरकाे सि.डि. प्लेयरमा रि गरि गरि सुन्ने गर्थ्याैं ।
बीजमलाल …….
ओ बिजमलाल …!
तिम्राे त्याे तिर्सनाले समुन्द्र तिर्खायाे । तिम्राे सम्झनाले बिदेश बिर्सायाे…!! आहा ! साँच्चै मनमाेहक लाग्थ्याे उक्त गीत । गीतभित्र आफू समाहित भैसकेकाे पत्तै हुदैथ्यो र आफू पनि उहीँ बिजमफुल बनेर चिच्याई चिच्याई सम्वाेधन गर्न मन लाग्थ्याे ……… बिजमलाल हाे बिजमलाल ….. तिम्राे सम्झनाले बिदेश बिर्सायाे
बेलामाैका भेट हुँदा मेराे लागि पनि एउटा गीत लेखिदिनुहाेस् है भन्ने गर्थे , तदारुकताका साथ लेख्न जाेड गरिन रहेछु । अफशाेस लागिरहेछ आज । तर पनि अझै वहाँकाे रचना गाउँने भित्री ईच्छा भने जागै छ मनमा ।
पछिल्लाे समय अवधिमा वहाँका धेरै कविता कृति जनमानसमा लाेकपृय भैसकेका छन् । “आत्मवोध ” कविता , कृति “गाेयाङ्काे सुगन्ध ” यसैका उदाहरण हुन् । कलाकारिता, प्राध्यापन संगसंगै साँस्कृतिक अभियानमा पनि सक्रिय थिए उनी ।
सदैब समाजलाई समुन्नत बनाउनुकाे चिन्ता, किराँत संस्कृतिकाे संरक्षण र सम्बर्धनमा टेवा पुर्याउनुकाे चिन्ता सदा उनकाे मथिङ्गलमा घुमिरहन्थ्याे ।
यसैकाे लागि उनी लागि परे । उनी लगायतका एक उर्जाशील समुहकाे सक्रियतामा “चिण्डाे चिन्तन” अभियानकाे पनि थालनी भयाे । संगसंगै “चिण्डाे बुक्स” प्रकाशन गृह , “चिण्डाे फेसन” जस्ता प्राेडक्सन हाउसहरु संचालनमा आए । जुन आज समाजमा स्थापित भैसकेका ब्राण्ड हुन् । यिनै संस्था र बिचारहरु उनका साँस्कृतिक चेतका उपज हुन् भन्दा अर्घेलाे नहाेला । यी संस्थाहरु ब्याबसायिक बजारमा मुनाफा कमाउनका लागि मात्र नभएर यसकाे मुल उदेश्य भनेकाे संस्कार संस्कृतिकाे संरक्षण तथा सम्बर्धनमा टेवा पुर्याउनु पनि हाे भन्ने मेराे बुझाई हाे ।
उनले अन्य विभिन्न जात जातिका संघ संस्थाका लागि पनि आफ्ना कलाकारिता मार्फत याेगदान पुर्याएकाे कुरा हामी सबैलाई सर्बबिदित नै छ । उनका धेरैजसाे पेन्टिङहरुमा साँस्कृतिक प्रतीक तथा बिम्वहरुकाे प्रयाेग भएकाे पाईन्छ ।
साकेलाकाे अवसरमा साकेलामा आउने बाल देखि बृद्ध सम्मका ब्यक्तिहरुका फेस पेन्टिङ गरिरहेका भेटिन्थे उनी । उक्त पेन्टिङमा किराँत जातिका साँस्कृतिक पक्ष झल्काउने चिन्ह , गहना , बाजा जस्ता साँस्कृतिक प्रतीक बिम्वकाे प्रयाेग गरेर मानिसका मन मस्तिष्कमा एकैचाेटि पेन्टिङ कला र संस्कृति प्रतिकाे अनुराग अंकुरन गराउनु उनकाे उदेश्य थियाे । जुन आज संस्कार बनेर निरन्तरता पाईरहेछ । याे उनकाे कला , संस्कृति प्रतिकाे अगाध प्रेम हाे ,सम्मान हाे अनि समर्पन हाे ।
कला साहित्य समाजकाे दर्पण हाे रे । अनि समयकाे सुचक पनि यहि समाजकाे चित्र काेर्ने कलाकार , यही सायकाे आवाज बाेल्ने कलाकार कहिलेकाहीं चैं आफै अन्तरमुखी भै दिन्छन् । जस्लाई सहि समयमा उस्काे पिंडा बुझेर सही सल्लाह परामर्श दिने ब्यक्ति आवश्यक पर्नेरहेछ । उनकाे जीवनमा पनि यस्तै भयाे । त्याे समय उनकाे अन्तरमनलाइ बुझ्न नपाइ उनलाइ गुमाउनु परेकाेमा उनकाे परिवार साथै आफन्त शुभचिन्तक सबै दुःखी छाैं । उनकाे निधनले परिवार आफन्त मात्र नभएर सिंगाे समाज राष्ट्रले नै क्षति बेहाेर्नु परेकाेछ ।
भनिन्छ कला साहित्य तथा सामाजिक उत्तरदायित्वमा लिन ब्यक्ति थाेरै मात्र अाफ्नाे ब्यक्तिगत जीवन बाँच्दछन् रे । यसकै उदाहरण केही बर्ष अघिबाट उनले बनाउन शुरु गरेकाे आफ्नै जीवन संगीनीकाे पूरा नभएकाे पाेट्रेट चीत्र , जुन उनकाे पेन्टिङ कक्षमा पुर्णताकाे पर्खाईमा पर्खिरहेछ । जुन कुरा अर्जुनजीकाे जीवनसंगीनी गायिका तारा नुमिहाङ राई जाे नातामा मेराे भाउजुकाे क्षमा पर्नुहुन्छ , वहाँलाई भेट्न जाँदा सुनाउनु भयाे ।
उहीँ पूरा हुन बाँकी पाेट्रेट चित्र जस्तै , पुरै जीन्दगी संगै बिताउने कसम खाएका उनी आफ्नो प्रिय जीवनसंगीनी अनि मायालु छाेरीलाई बाँकी जीन्दगी आफै पूरा गर्ने जिम्मेवारी दिएर आफू भने एक्लाे यात्रा तय गरिसकेछन् ।
“आत्मवोध ” जस्ता कवितामा जीवनका सकरात्मक वाेध सुझाउने उनी , त्याे समय उनी भित्र चाहिँ कुन नकरात्मक बाेध ले डेरा जमायाे कुन्नी ? जस्लाई उन्ले आत्मसात गर्न पुगे । अझै बाँचेर आफ्ना कला साहित्य मार्फत समाजलाई धेरै याेगदान दिनसक्ने उनी , थुप्रै उनले शुरुवात गरेका महत्वपुर्ण कार्य र अभियानलाइ बिच बाटाेसम्म पुर्याएर आफू भने अर्कै यात्रा तय गरिसकेछन् ।
संसार भन्नू यस्तै रहेछ । मृत्यु भन्दा पर काेही हुन्न रहेछाैं । यत्ति हाे काेही छिटाे त काेही ढिलाे । अर्जुन जी तपाईं खुशी नै रहनु हाेला कि तपाईले चाल्न शुरु गर्नुभएका पदचाप अनि गाेरेटाे अझ फराकिलाे भएर जानेछ ढुक्क हुनुहाेला । आज तपाइकाे भाैतिक शरीर हामीमाझ छैन तर तपाईका कृति , सृजनाहरु बाँचीरहेकैछन् हामी सबैकाे मन मष्तिस्कमा , बाँचीरहने नै छन् अनन्तकालसम्म !!! तपाईकाे आत्माको चीर शान्तिकाे कामना !!!!
आभा मुकारुङ
सन्दर्भ :- “कलाकार कवि गीतकार अर्जुन खालिङ् ज्युको पुन्यतिथि अनि स्मृति ग्रन्थ” प्रकाशनले पुनारावृत गराएको सम्झना
मिति २०७५ मंसीर २१ शुक्रबार