नरेन्द्र निर्विकारको “आँशु झरेकै राम्रो” गीति संग्रहको लोकार्पण

0 643

काठमाडौ – गीतकार नरेन्द्र निर्विकारको “आँशु झरेकै राम्रो” गीति संग्रहको लोकार्पण गरिएको छ । काठ्माडौस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा रावासावा प्राज्ञिक समाज नेपालको आयोजनामा एक कार्यक्रम गरेर “आँशु झरेकै राम्रो” को लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, बिशिष्ठ अतिथि प्रदेश सांसद रामकुमार राई, अतिथिहरु बरिष्ठ साहित्यकार भुपाल राई, बरिष्ठ साहित्यकार जसराज किराती, बरिष्ठ साहित्यकार डा बिष्णु राई, बरिष्ठ साहित्यकार सुरेश हाँचेकाली, समाजसेवी तथा राजनीतिज्ञ राकेश किराती, राजनीतिज्ञ खगेन्द्र राई, राजनीतिज्ञ अश्मिता कार्की लगायतले गीति संग्रह “आँशु झरेकै राम्रो” को लोकार्पण गरेका थिए ।

खोटाङ्ग जिल्लामा जन्मिएका गीतकार निर्विकारको यो भन्दा अगाडि २०६० सालमा “पानीको कुनै पनि रंग हुदैन” कविता संग्रह प्रकाशित भई सकेको छ । निर्विकार पेशाले शिक्षक हुन् ।

कार्यक्रममा पुस्तकमाथि डा. बिष्णु राई र सुरेश हाँचेकालीले समिक्षा गर्दै गीति संग्रह भित्र रहरै रहरमा लेखिएका गीतहरु नभएर साच्चिकै गीतहरु रहेको बताए । समीक्षक सुरेश हाँचेकालीले गीतकार निर्विकार खोटाङको दुर्गम गाउँमा बसेर पनि उत्कृष्ठ रचना सिर्जना गर्दै मोफसलमा बसेर उत्कृष्ट सिर्जना गर्न सकिदैन भन्ने सोचाईलाई उनका गीतले चिरेको उनले बताए । गीत लेख्दा पुरानो संरचनालाई केही मात्रामा अनुसरण गरिए पनि केही गीतहरु त्यो माथि माथि उठेको उनले बताए । पुरानो परम्परा कपि गरिए पनि त्यो भन्दा माथि उठेर फरक ढंगले गीतहरु लेखिएको उनको दाबी थियो । कृतिमा दुःख, वेदना, जीवन भोगाई, प्रेम लगायतका विषयका गीतहरु समावेश गरिएका छन् ।

अर्का समीक्षक डा. विष्णु राईले एउटा शिक्षकको जीवन भोगाई र पारिवारिक दुःख पनि कृतिमा समावेश भएको बताए । दुर्गममा बसेर पनि साहित्य सिर्जनामा समय दिन सकेको र उत्कृष्ट गीतहरु तयार गरेको भन्दै गीतकारको प्रशंसा गरे । कार्यक्रममा भूपाल राई, खगेन्द्र राई, जसराज किराती, प्रदेश सांसद रामकुमार राई लगायतले बोलेका थिए ।

कार्यक्रममा “आँशु झरेकै राम्रो” का स्रष्टा निर्विकारले समय, परिस्थिति अनुसार संग्रह भित्रका गीतहरुको सृजना हुन गएको बताए । २०४१ सालदेखि लेखिएका गीतहरुलाई “आँशु झरेकै राम्रो”मा संग्रहित गरिएको छ ।

रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष डा.धनप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रममा चन्द्र रानोहँछाले स्वागत भाषण गरेका थिए भने कार्यक्रम साहित्यकार बम बानियाँले संचालन गरेका थिए ।

Loading...