इशाराको धरानमा एकल साँझ हुने

0 697

काठमाडौं – हास्यकलाकार गणेश इशाराले धरानमा एकल साँझ गर्ने भएका छन् । हास्यव्यंग्यको क्षेत्रमा विगत लामो समयदेखि अनवरत लागि रहेका ईशाराले धरानमा एकल कमेडी शो गर्ने भएका हुन् ।

समाजसेवी वीरमाया राई (सोभोमा) को जन्म जयन्तीको अवसर पारेर पुस १४ मा सुरु गरेर देशका प्रमुख शहरहरुमा एकल कमेडी शो गर्ने इशाराले जनाएका छन् ।

इशाराले आफ्नो १४ वर्षसम्म गरेका कमेडीलाई प्याकेजकै रुपमा प्रस्तुत गर्न लागेको बताएका छन् । उनले यसअघि २०७१ सालमा काठमाडौंको नाचघरमा पहिलो एकल शो गरेका थिए ।

देशव्यापी गरिने एकल कमेडी शोबाट उठेको रकमले समाजसेवी वीरमाया राई (सोभोमा) अक्षय कोष निर्माण गरिने इशाराले बताएका छन् । इशारा र वीरमाया राई एउटै गाउँले हुन् । इशाराले समाजसेवी वीरमाया राईलाई आफ्नो प्रेरणाको मुख्य स्रोत मान्दै आएका छन् ।

पहिलोपटक दुर्गती नामक एल्वमबाट शेरबहादुर देउवा र माधबकुमार नेपालको आवाजलाई कपी गरेर हास्यव्यंग्य क्षेत्रमा आफ्नो कला प्रस्तुत गरेका ईशाराले मुगु र रोल्पाबाहेकका नेपालका सबै जिल्लामा स्टेज प्रस्तुती देखाइसकेका छन् ।

त्यसपछि उनले ‘साँढेतन्त्र’ नामक गाइजात्रे एकल भिसिडी एल्वम निकाले भने ‘भद्रगोल डटकम, सदन हल र भट्टी पसल उस्तैउस्तै’ निकालेका थिए । उनले एक दर्जन म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

Loading...