अनिताले सुनाइन् कविता
काठमाडौँ / कार्तिक १४ – काठमाडौँको धुम्बाराहीमा महिला सामुदायिक कार्यक्रम सञ्चालन समिति र महिला सामुदायिक केन्द्रद्वारा आयोजित एकल कविता वाचन कार्यक्रम ‘अनिताका कविता’मा कवि अनिता लामाले आफ्ना एक दर्जन बढी कविता सुनाइन् ।
‘अर्पण’ र ‘अनुराग’पछि हालै तेस्रो कविताकृति ‘आतुङ’ ल्याएकी उनले कार्यक्रममा ‘सलाम आदरणीय आमाबुबा’, ‘नागरिकता’ र ‘रगत’ शीर्षक कविता सुनाइन् । उनले आफ्ना कवितामा नारी शक्तिको प्रसंशा गर्दै समाजमा हुने राजनीतिक, सांस्कृतिक र प्रशासनिक विभेदप्रति व्यङ्ग्य गरिन् ।
‘६ बराबर ६’ कवितामा चाहिँ उनले आफ्ना छ दिदी बहिनीलाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्दै नारी शक्तिको बखान गरिन् । ‘स्वस्थानी साङ्गे’, ‘भिडियो कल’ र ‘ह्यारी, आस्याङ र साहिबा’मा वैदेशिक रोजगारीको दर्दनाक कथा कहिन् । त्यसपछि ‘विद्यार्थी’, ‘त्यो दिन’, ‘मेरो देश मेरो सर्वस्व’ लगायत डेढ दर्जन कविता सुनाइन । वाचनमा कवि फूलमान वलले उनलाई सघाएका थिए ।
कवि तथा समालोचक सुरेश हाचेकालीले अनिताको लेखनमा माक्र्सवादी सौन्दर्यचेत, राष्ट्रिय एकता र महिला उन्मुक्तिको स्वर पाएको दावी गरे । पूर्व सभासद मीरा ध्वोजु, सांस्कृतिक संस्थानका नाचघरका महाप्रवन्धक राजेश थापा र शिवकुमारी खनालले अनिताका कवितामा राजनीतिक तथा सामाजिकचेत पाइने बताए । कविता वाचनअघि सरिता लामा, सविता लामा र सङ्गीता लामाले नृत्य प्रस्तुत गरेका थिए ।
