डोल्माको, अधुरो कथा
हिन्दू मन्दिरमा घन्टी बज्न थालेपछि म उठें, किनकी त्यतिबेला बिहानको ४ बजेको हुन्छ । मन्दिरको छेउमै घर हुनु कहिल्यै उठ्नुको निमित अलराम सेट गर्नु पर्दैन, यति मात्र फाईदा । काममा जान नपर्दा त हल्ला लाग्छ त्यहि घन्टी पनि । म उठेर तातो पानीको केतल अन गरिराखेर तयार हुनु मेरो दैनिकी थियो ।
मैले दिनभरि काममा खाने खाजा र खानाहरु लोड गरेर रोड़्मा निस्कंदा बल्ल ४.३० बजेको थियो । सारा प्लमस्टेट चकमन्न अँध्यारो थियो । ओर्लंदा ओर्लंदै बाटो भूलेर अलमलिए जस्तो जून पनि बादलभित्रै अल्मलिरहेको थियो । हिउँद्को समयमा आईपुगेकोले पनि होला मलाई युके एकदम अनौठो लागिरहेको छ ।
पुजारीले मिठो स्वरमा भजन गाएको बाटोसम्म सुनिन्थ्यो । गोराहरूको देशमा ईन्डियनहरू पनि आफ्नो लाग्दो रहेछन्, हिन्दू मन्दिरमा बज्ने घन्टी, त्यहाँ गाईने भजन सबै, सबै मलाई आफ्नो लाग्छ । बनक्बन रोड़ अलिक उकालो भएकोले जाडोमा स्याँ स्याँ सास बढिरहेको थियो मेरो । अँध्यारोमा आफ्नै छाँयाले पनि तर्साउने बेला आफैले लगाएको स्लिपिङ्ग ब्याग जत्रो ज्याकेट सर्याक सर्याक गरेर कराउँदा अँध्यारोमा आफै तर्सिन्थे l मुखबाट धुँवा फ़ूस फ़ूस्फ़ूसाउदै हरेक दिन यसरी काममा जान्थें ।
मेन रोडमा निस्कँदा सधै झैं लाल कुमारी हाई स्ट्रिट्मा मलाई पर्खि रहेकी थिइन् ।
हेल्लो साथी डर लागेन एक्लै बाटोमा उभिन ठोक्लान् है ठोक्लान् ? रेला गर्दै मैले भने, आ….के को डर ढालिञ्छ नि अझै सम्म, एक दुई जना त, नेपालीको छोरी पो त हेहेहे….यसो भन्दै कुरो टुंग्यायो उसले । त्यसपछि मैले पनि थपिन कुरो । हामी हिड्दै ५३ को स्टप सम्म पुग्यौं । पोलेको आलू आगोबाट झिकेर टोक्नु अघि खरानी फुके झैं गरि चिसोले कठाङ्ग्रिएको हात फ़ूक्दै सारदा पनि आईपुगिन् ।
आ….बेकारमा ओभर टाईम गर्छु भनेछु कस्तो अल्छी लाग्यो बाई ! बेन्चमा बिस्तारै चिसो शित टिस्युले पुछेर बस्दै लाल कुमारीले भनिन् ।
लौ न ! के भन्या होला त्यस्तो ? भर्खरै २, ४ जना ढाल्छु भन्ने मान्छेले ? मैले हाँस्दै गिज्याएं । मेरो कुरोले एकछिन बस स्टप हाँसोमय बन्यो ।
केहि छिनमा बस आईपुग्यो अनि चढेर उकालो कमन तिर लाग्यौं, कमन छेउको स्टपबाट डोल्मा पनि चढिन् । धन्न ठिक टाईममा उठिछिन् केटि नत्र त एक्लै हुनेथ्यो, मैले डोल्मालाई हाँस्दै भने ! कहाँ उठ्नु नि गाँठे, लगातार ३ पल्ट सम्म बज्ने गरि अलाराम सेट गरेथें नि सुत्नु अघि उसले भनि । बाफरे ….रेल्ली ? भनेर शारादा हाँसिन ! अनि के त ? म तिमीहरू जस्तो फिट कहाँ छु त ? मोटो मान्छेलाई धेर निन्द्रा लाग्छ भन्ने थाहा छैन ?
ओए….ठिटि हो हल्ला नगरौं त ? एकछिन भएपनि झ्याप्पै दिनु पर्छ बसमा नत्र निन्द्राले बिजोक.पार्छ यार ….लाल कुमारीले भनिन् र आँखा बन्द गरिन् ।
हामी पनि जाडोले नुन खाएको कुखुरा जस्तो झोक्रिएका थियौं बात मार्ने जोश जाँगर कसैलाई थिएन । आ- आफ्नो कानमा हेरफ़ोन घुसाएर उड्न थाल्यौं म्युजिकको मिठो धुनमा निन्द्राको विमान चढी बिन्दास पाराले । विकेन्ड भएकोले बसमा त्यति मान्छे थिएनन् l सबै स्टप खालि भएकोले चढ्ने ओर्लने पनि नभएर होला हामी चाडै पुग्यौं पेकहाम, हाम्रो स्टप आउन लाग्यो है केटि हो ? उठौँ अब ठुलो स्वरमा एकपल्ट हल्ला ठोकें मैले । मेरो छेउमा लाल निदाई रहेकी थिईन्, अर्को सिटमा सारदा र डोल्मा थिए l सबैलाई ओर्लने आदेश दिंदै म पनि अल्छी मान्दै आङ्ग तन्काउन थालें । सबै जराक्क जुरूक्क उठेर माथिल्लो तलाबाट तल झर्यौं । बस रोकियो सबै ओर्लियौं । बस सेन्ट्रल लन्डनतिर लाग्यो, हामी हाम्रो काम तिर जाने सानो रोडतिर मोडियौ l
हेल्लो ! हेल्लो गल्स …….वेर आर यु गोइङ्ग ? गीतमा रमाईरहेको मेरो बिन्दास कानले, अँध्यारोमै यस्तो अनौठो आवाज सुनेपछि एउटा कानबाट हेरफ़ोन झिकें । म, बसबाट ओर्लेर पनि गीत सुन्दै हिड्ने बानि भएकोले दुवै कानमा हेरफ़ोन थियो । त्यो अनौठो आवाज हाम्रो नजिक, नजिक आईरहेको थियो ।
हामी सबै डरले भाग्न थाल्यौं, भाग्दा भाग्दै एउटा कार हाम्रो छेउमा आएर रोकियो । मैले कानमा भएको हेरफ़ोन र मोबाईल थुतेर बाटो पारीको झाडीमा फालेर तुफान दौडिएँ । हामी दौडेको देखेर ती कारबाट ओर्लेका केटाहरू झन् लखेट्न तिर लागे ।
बिहानको ५.३० मात्र बजेको थियो, जनवरी १ तारिक आईतबार भएकोले सबै छुट्टीमा थिए, ओभर टाईम गर्न ईच्छा हुने र हामी केही नेपालीलाई मात्र ओभर टाईम गर्न बोलाईएको थियो । हामी पनि बैंक होलिडेमा पैसा डबल हुने लोभले एक्लै अँध्यारोमा आउन तम्सिएका थियौं । हामीलाई थाहा थियो लण्डनमा धेरै यस्ता घटनाहरू घट्छन् भन्ने त्यहि पनि आफैले नभोगे सम्म महशुस गरिंदैन भने झैं बिना डर त्रास हामी काममा जाँदै थियौं l
हामी दौडिरहेका थियौं, ती केटाहरू हाम्रो पछि थिए भने एक जनाले कार ड्राईभ गरिरहेको थियो । म छक्क परें जनवरी १ तारिक यस्तो जाडोमा पनि ती केटाहरू अर्ध नग्न थिए । अचानक मेरो छेउमा हिड्दै गरेकी साथि सारदा गुरुङ चिच्याईन् आईया ओए ! यिनीहरू त चोर पो रहेछन् मेरो फोन खोसायो बै ? सारदाको फोन एउटाले खोस्यो, अर्कोले डोल्माको झोला तान्न थाल्यो । बाटोमा पुरै खैलाबैला मच्चियो । हामी हेल्प….प्लिज….हेल्प भन्दै चिच्याईरहेका थियौं । यतिकैमा वरिपरीका घरहरूबाट कसैले पुलिस बोलाई दिएछ, हरण बजाउंदै पुलिसको भ्यान आईपुग्यो, पुलिसको हरण बजेको सुन्ने बित्तिकै ती २ केटाहरू कारमा चढेर भागे, बाटोमा हल्का उज्यालो खस्न थालेकोले हामीले एक अर्कालाई देख्न सक्ने भएका थियौं, म अलिक छिट्टो दौडिने भएर होला मलाई ती चोरहरूले भेटेनन, डोल्मा पनि बलियो भएकोले झोला छाडिनन् । लाल कुमारी पनि म संग संगै दौडेर निक्कै टाढा पुगिन् तर, दौडिदा फोन झरेर फुट्यो उनको । हामी ४ जना मध्ये घाटा सारदालाई भयो उसले केहि महिना अघि मात्र नयाँ लेटेस्ट फोन बजारमा आउने बित्तिक्कै किनेकी थिईन् । पुलिसहरू आएपछि निडर भएर सबै कुरो बताउदै झाडीमा पसेर अघि हुत्याएको फोन जस्ताको तस्तै टिपेर ल्याएँ, मलाई देखेर पुलिसहरू पनि हाँसे ।
हामी सबै डर र जाडोले लगलग कापिरहेका थियौं । पुलिसहरूले हामी सबैको नाम टिपेर बयान लिए अनि भ्यानमा राखेर फ्याक्ट्रीको गेटसम्म पुर्याई दिए ।
हामीले भित्र पसेर भेटे जति सबै स्टाफ र साथीहरूलाई दिनभर हाम्रो घटना सुनाई रह्यौं; भोलि पल्ट, पर्सि पल्ट नथाके सम्म सुनाउन छाडेनौं केहि दिनपछि आफैले पनि भुल्दै गयौं ।
हामीले १ बर्ष जति संगै काम गर्यौ त्यो फ्याक्ट्रीमा अलिअलि.कमाई पनि भयो । बिशेष गरेर म र डोल्मालाई गार्हो थियो लण्डनमा हामी विद्यार्थी भिषामा छिरेका थियौं । लाल कुमारी पुन हङकङबाट यूके आएका थिए, सारदा गुरुङ भूपू गोर्खा सैनीकको श्रीमती थिइन् । पढाई पूरा नभै नै डोल्माको कलेज बन्द भो, त्यो कलेजले स्पनचर गरेको सबै बिद्यार्थी नेपाल फर्किए, डोल्मा पनि फर्किन् । डोल्मा फ़िरेपछि नरमाईलो लाग्यो, मेरो कलेजको पनि भरोसा थिएन । मान्छेले लण्डनमा कलेज ब्यापारको लागि खोलेका थिए भने हामी विद्यार्थीले लाखौं खर्च गरेर मुर्गा बनिरहेका थियौं । मेरो पनि लाखौँ डुबेको थियो पढाई भन्दा चिन्ता डुबेको पैसा र ऋणको लागेकोले पढाई भन्दा समय कामलाई दिन थालेँ । बिस्तारै पैसा मोटो, पढाई फितलो बन्दै गयो कमाएको पैसा अन्य देश छिर्न तिर खर्च गर्न थालें । अरु धमाधम पढाईमा
लागिरहेको बेला म रातारात युरोप छिरेर बेल्जियम पुगेँ । बेल्जियममा दाजू भएकोले मलाई सहज पनि भयो । यसरी छुट्टिएका हामी फेरि कहिल्यै भेट भएनौं ।
म युरोप पुगेर बस्दा बस्दै त्यहाको कार्ड पाउन झन्डै १० बर्ष लाग्यो । अहिले म १२ बर्ष पछि नेपाल निस्किएकी छु । मैले केही प्रगति गर्न नसके पनि मेरो देश नेपालले केही कुरामा प्रगति गरेछ । डोमेस्टिक विमानस्थलमा पनि बस्ने सिटहरू धेरै र नयाँ, नयाँ देख्दैछु तर, खचाखच छ आज विमानस्थल, कुर्सीहरू भएर पनि खाली छैनन् । बस्ने सिट नपाएर मान्छे अलपत्र छरिएको बिस्कुन झैं गरि भुईभरी पोखिएका छन् । म भद्रपुर उड्ने बुद्द एयरको पर्खाईमा छु । तराईतिर हुस्सु लागेकोले काठमाडौँको न्यानो घाम तापेर तराईको हुस्सु हट्ने समय कुरिरहेको छु ।
उड्ने, रद्द हुने र डिले हुने सबै सबैको पालै पालो माईकिङ्ग भैरहेछ, मौसमको खराबीले लुक्ला जाने फ्लाईट भर्खरै रद्द भएको छ । लुक्ला जाने एकजना बिमारी यात्रु व्हिल चियरमा ल्याएर मेरो छेउमा राखेर हिड्यो एकजना कर्मचारीले । साथमा एकजना बक्खू लगाउने बुढी आमा पनि आएर बसिन् कुर्सीमा । हातमा तातो चिया थियो । जाडो र धुलो छेक्न होला माक्स थियो बिमारीको मुखमा । बुढी आमाले माक्स हटाएर डोल्मा, लौ तातो चिया खाऊ भन्दै बोलाउंदा म छक्क परें, म तर्सिएँ तिन छक्क परें । किनकी, त्यो व्हिल चियेरमा बस्ने केटी अरू कोहि नभएर लन्डनमा म संगै काम गर्ने साथि डोल्मा थिइन् । मैले उनलाई १२ बर्ष पछि भेटेकी थिएँ । तर अफसोच उनि पहिलेको जस्तो डोल्मा थिइनन् । दुब्लाएर चिन्नै नसकिने, बोल्न पनि नसक्ने हात खुट्टा नचल्ने एकदम दुब्ली भएकी थिईन् । जता हेर्यो उतै एकोहोरिने मूर्ति जस्ती भएकी थिइन् ।
म डोल्माको आमालाई केही कुरो सोध्ने हिम्मत जुटाउँदै गर्दा बुद्द एयर द्वारा भद्रपूर जानू हुने यात्रु महनुभाबहरू गेट नम्बर २ तिर बढ्नु होला भनि माईकिङ्ग भैहाल्यो । म आँखा भरि आँशु बोकेर हिडें, बसमा चढेर प्लेन नउडिञ्जेल फेरि प्लेन रद्द भैदिए पनि हुन्थ्यो झैं लागिरह्यो तर, भएन रद्द । म डोल्माको कथा अधुरै छाडेर उनको याद बोकी उडे माथि, माथि धेरै माथि बादल छिचोल्दै ।
लण्डनमा हुँदा डोल्मा भन्ने गर्थी मेरी आमाले धेरै दुख पाउनु भएकोछ । बाबाको सेस पछि अर्को बिहे पनि गर्नु भएन, मेरो निमित सबैसंग लडेर गरिखानु भो अब अहिले पाको उमेरमा जब मेरो आवस्यकता आमालाई छ, तर म भने यहाँ छु । कस्तो दुख लाग्छ सुजाता, मलाई यसरी आमाको दुख सुनाउथिन् । म भन्थें किन गर्छौं चिन्ता ? आमाको हात खुट्टा बस्या छैन आफ्नो देशमा हुनुहुन्छ अर्गानिक, खाना खाएर हामी भन्दा हट्टा कट्टा तगडा हुनुहुन्छ, आमालाई आफैले देखेर आएझैं गरेर गफ लगाउँथे ! मेरो कुरो सुनेर आँखाबाट छछल्किन लागेको आँशु रोक्दै मुस्कुराउँथी डोल्मा ।
आज, उही जीवनभर म आमाको सहारा बनेर जिउँछु भन्ने छोरीको उल्टै आमा साहारा बनेर चिया पिलाउदै गरेको एउटा नमिठो सत्यको अवलोकन गरेर म उड्दै थिएँ । यो सत्य झुट भैदिए हुन्थ्यो भन्ने सोचले मन बिथोलिरह्यो । तर, हुने कुरोलाई कुन दैबले टार्छ र ? फेरि एकपल्ट आमालाई भेट्न पाए म डोल्माको पुरा कथा पुरै लेख्ने थिएँ । यो अधुरो कथा उनको होइन……….
जानु काम्बाङ्ग लिम्बू
ताप्लेजुङ्ग हाल यूके !!