एकाएक चर्चामा प्रकाश
डिएम चाम्लिङ / खोटाङ्ग – भनिन्छ ‘संगीत बिनाको जीवन अधुरो हुन्छ ।’ के बुढा के बच्चा सबैले संगीतलाई जीवनसँग जोडेको देख्न पाइन्छ । नजानी नजानी भए पनि गीत गुनगुनाएको भेटिइन्छ । खोटाङमा पछिल्लो समय यस्ता व्यक्ति भेटिईए जो गीतसंगीतलाई नै आफ्नो जीवन सम्झन्छन् । खोटाङको साकेला गाउँपालिका–२, रतन्छाका १८ वर्षीय प्रकाश राई एक नवउदयमान प्रतिभा हुन् । कुनै पनि संगीत साधना नसिकेका उनि आफ्नै साधनाका कारण जस्तो गीत पनि गाउन सक्छन् ।
राजेशपायल राई, शिव परियार लगायतका गायकहरुबाट प्रभावित उनि यतिबेला युथट्युव च्यानलमा खुब रुचाईएका नव प्रतिभा हुन् । सानैदेखिको गायक बन्ने सपना पुरा गर्न नसके पनि गाउँघरमा हुने स्टेज कार्यक्रमहरुमा सहभागि भएर पुरस्कार जितेको क्षण स्मरण गर्ने उनि एसइइको परीक्षा पछि काठमाडौ छिरे । लाहुरे बनाउने परिवारको सपनालाई पुरा गर्न राजधानी छिरेका उनि तालिमबाट बचेको समय गितसंगीत प्राक्टिस गर्दै बित्छ । बिहान ४ बजे उठेर लाहुरेको तयारीका लागि तालिम सेन्टर गएपछि उनको दैनिकी सुरु हुन्छ । करीव डेढघण्टाको यात्रा तय गरेपछि उनि तालिम सेन्टर पुग्छन्, फर्किएर आउँछन् पुनः जान्छन् ।
दैनिक चार पटक हुने ओहोरदोहोर र तालिमको चापले थकित ज्यानलाई त्यसै बिसाउँदैनन्, अलिकति समय मिल्यो कि गित गुनगुनाउन थाल्छन् । त्यसो त प्रकाशलाई गीतसंगीतमा परिवारको पनि साथ सहयोग छ । तर लक्ष्य, उद्देश्य भनेको लाहुरे बन्ने भएका कारण हालसम्म पनि गित रेकर्डको अवसर पाएका छैनन् । तालिमकै शिलशिलामा केही युथट्युव च्यानल सञ्चालकहरुसँगको भेटमा अन्तरवार्ता दिनेक्रममा निकै गित गाएपछि अधिकांश दर्शकहरु प्रभावित भएका छन् ।
उनले दर्शकहरुको साथ, सहयोगनै आफू अगाडि बढ्ने प्रेरणाको श्रोत मानेका छन् । बुवा बमप्रसाद राई र आमा सीता राईको कोखबाट २०५७ सालमा जन्मिएका प्रकाश घरका माइलो छोरा हुन् । तीन दिदीबहीनी र तीन दाजुभाइमध्ये प्रकाश संगीतमा रुची राख्ने व्यक्तिमा पर्छन् । आफू लाहुरे भए पनि गीत-संगीतलाई निरन्तर अघि बढाउने र चाँडै आफ्नो स्वरमा गीत रेकर्ड गर्ने इच्छा भएको बताउँछन् । पछिल्लो समय उनले गाएको गीत सहितको अन्तरवर्ता ओरजिनल खबर र भाग्य न्यौपाने युथट्युव च्यानलमा भेट्न सकिन्छ ।