अलग अभियानको साउन शृङ्खलामा किरण कंडेल र फूलमान वल
ललितपुर – सङ्गीतकार किरण कडेल र कवि फूलमान वलको विशेष उपस्थिति र प्रस्तुतिहित अलग अभियानको साउन शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सङ्गीतकार कडेलले मन पगाल्ने र तन नचाउने गरी गीत दुई प्रकारको हुने बताए । दुवै गीतको जरुरी भएको तर अहिले तन नचाउने गीत बढी भएकोप्रति भने चिन्ता व्यक्त गरे । उनले आफ्नो साङ्गीतिक जीवनको संस्मरण सुनाउँदै केही गीत सुनाए ।
त्यसैगरी कवि वलले अलग अभियानको सक्रियता र निरन्तरताको प्रशंसा गर्दै ‘इन्द्रेणी गीत’ ‘इन्द्रेणी गीत’, ‘भुइँचालो’, ‘आजका मान्छे’, ‘शित लहर’ शिर्षकका कविता वाचन गरे ।
अतिथिको अलवा कवि रिमा केसी, सरोज अधिकारी, विष्णु सन्यास, प्रेमिला राई र विष्णु सन्यासले कविता सुनाए भने रेवत राई र कर्ण लामाले गीत सुनाउँदा वाद्यवादनमा मण्डल साम्पाङ र यमकुमार समालले साथ दिएका थिए ।
कविता–गीतको विशेष प्रस्तुतिको रुपमा साङ्केन बान्तावाको शब्दलाई भिमसेना राईको सङ्गीतमा अब्राहम सम र नानु थापा मगरले प्रस्तुत गर्दा बिचबिचमा अविनाश भट्टराईले कविता मिसाए ।
कार्यक्रमको सुरुवातमै अतिथिद्वयले ‘अलग’ मासिक प्रकाशनको पहिलो अङ्क पनि सार्वजनिक गरेका थिए ।
