कुन-कुन वस्तु तथा सेवामा कति कर बढ्यो ?

0 628

काठमाडौं १ साउन – मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भए सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने आजैबाट लागू भएका छन् ।

सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शुल्क कम्तीमा १५ प्रतिशत महंगो बनाएका छन् । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दूरसञ्चार सेवा दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ ।

टेलिफोनमा ११ प्रतिशत रहेको दस्तुर १३ प्रतिशत र्पुयाएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो । अब सबै सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्नेछ । टेलिफोन सेवामा करिब ३ प्रतिशत शुल्क बढेको छ ।

यस्तै प्रदेश सरकारहरुले पनि सवारीसाधनमा लाग्दै आएको वाषिर्क करमा वृद्धि गरेका छन् । १, ३ र ७ नम्बर प्रदेशले सवारीको वार्षिक करमा वृद्धि गरेका हुन् । प्रदेश नम्बर १ र ३ ले १० प्रतिशतभन्दा बढी कर बढाएको छ भने प्रदेश ७ ले थोरै मात्र बढाएको हो । प्रदेश १को बजेटले सार्वजनिक सवारीका लागि ८ प्रतिशत र निजी सवारीका लागि १० प्रतिशतसम्म सवारी कर बढाएको छ ।

प्रदेश ३ सबैभन्दा धेरै सवारी कर उठाउने सरकार हो । उसले हालसम्म लिइँदै आएको भन्दा निजी सवारीमा १० प्रतिशत कर बढाएको छ ।

सरकारले भन्सार तिरेर भित्र्याउने समयमा सवारीको इन्जिन क्षमताका आधार तिर्ने सडक दस्तुर पनि साउनबाट बढाएको छ । यसको वृद्धिले पनि सवारीको मूल्यलाई प्रत्यक्ष असर गर्छ ।

नयाँ बजेटले ४०१ सीसीभन्दा ठूला क्षमताका बाइकमा झण्डै दुई लाख सडक दस्तुर बढाएको छ । माइक्रोबस, बस, ट्रक, ट्रिपर , ट्रक, मिक्सचर, मिनीबस, मिनीट्रक, मिनीटिपरको सडक दस्तुर यथावत मूल्यको सात प्रतिशत कायमै राखिएको छ ।

अब २००० सीसीसम्मका कार र जीपमा मूल्यको ८ प्रतिशत सडक दस्तुर लाग्नेछ । यस्तै २ हजार सीसीभन्दा बढीका जीप र कारमा सडक दस्तुर १० प्रतिशत पुर्‍याइएको छ ।

यस्तै मोटरसाइकलको पनि सडक दस्तुर पनि बढेको छ । तर, १५० सीसीसम्मको बाइकमा ५ हजार रुपैयाँ दस्तुर बढेर १५ हजार पुगेको छ ।

त्यसैगरी १५१ देखि २५० सीसीसम्मको बाइकको सडक दस्तुर १८ हजार रुपैयाँ पुगेको छ । यसअघि यो सेगमेन्टका बाइकमा १२ हजार मात्रै कर थियो ।

अब २५१देखि ४ सय सीसीसम्मका बाइकमा ५० हजार सडक दस्तुर लिइनेछ । यो सेगमेन्टमा ३५ हजार सडक दस्तुर बढेको छ । त्यसैगरी ४०१ सीसीभन्दा माथिका बाइकमा सडक दस्तुर मात्रै १ लाख ८० हजारसम्म दस्तुर बढेको छ । पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसा कर बढेको छ । यसले पेट्रोलियम पदार्थको मूल्य पनि बढाउँछ ।

यसैगरी संघीय बजेटको व्यवस्थाअनुसार मासिक करिब ५४ हजारभन्दा बढी आम्दानी गर्नेले तिर्नुपर्ने आय करमा वृद्धि भएको छ । सोभन्दा कम आम्दानी भएकालाई भने साउनपछिको आयकरको दरले राहत दिनेछ ।

नयाँ आर्थिक वर्षबाट आक करको स्ल्याबमा परिवर्तन गरेर वाषिर्क ३६ प्रतिशतसम्म कर तिर्नुपर्ने बनाइएको छ । यो व्यवस्थाले ठूला करदातालाई आयकरको भार थपिएको छ ।

आय करलाई प्रगतिशील बनाएको सरकारले ठूला आय गर्नेले धेरै कर तिर्ने अवधारणाअनुसार नै नयाँ स्ल्याबहरु सिर्जना गरेको छ ।

साउनपछि प्रदेश र स्थानीय तहले पनि आफ्नो अधिकार क्षेत्रभित्रका विभिन्न कर तथा सेवा शुल्क बढाएका छन् । त्यसका कारण सर्वसाधारणले तिर्ने करको हिस्सा पनि फराकिलो भएको छ । स्थानीय तहमा साउनबाट एकीकृत सम्पत्ति कर लागू भएको छ ।

घर, जग्गा, मालपोत, भूमिलगायत नाममा छुट्टा-छुट्टै करलाई समेटेर एकीकृत सम्पत्ति कर लिन लागिएको हो । यस्तो करमा स्थानीय तहले पहिलोको भन्दा बढी उठ्न सक्ने गरी वृद्धि गरेका छन् ।

धेरै स्थानीय तहले व्यवसायजन्य करको दर बढाएका छन् । त्यसैगरी स्थानीय तहबाट सिफारिस लगायतका सेवा लिँदा तिर्नुपर्ने शूल्कमा पनि भारी वृद्धि भएको छ ।

अनलाईन खबर बाट

Loading...