लुम्बिनीमा अवधी साहित्य–संस्कृति सम्मेलन हुने

0 706

काठमाडौँ २४ वैशाख २०७६ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यही वैशाख २७ र २८ गते अवधी भाषा, साहित्य तथा संस्कृतिसम्बन्धी दुई दिने बृहत् ‘राष्ट्रिय अवधी सम्मेलन’ हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय प्रदेश–५ र अवधी सांस्कृतिक विकास परिषद्सँगको सहकार्यमा कपिलवस्तुस्थित शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र, नेपालले आयोजना गर्ने सम्मेलनमा अवधी भाषा, साहित्य, कला तथा संस्कृतिसम्बन्धी ६ वटा कार्यपत्र प्रस्तुतिका साथै त्यसमाथि विमर्श गरिने सम्मेलन संयोजक विक्रममणि त्रिपाठीले जानकारी गराउनुभयो ।

उक्त सम्मेलनमा प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादव, अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी माली र बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख डा. देवी नेपालको उपस्थिति रहने छ भने भारतका विभिन्न क्षेत्रका विद्धानहरू सहभागी हुनेछन् ।

प्रदेश नम्बर–५का सामाजिक विकास मन्त्री सुदर्शन बरालद्वारा उद्घाटन गरिने सम्मेलनमा ‘विश्व परिदृश्यमा अवधी भाषाको अवस्था’ विषयमा विक्रममणि त्रिपाठी, ‘विश्व परिदृश्यमा अवधी साहित्यको अवस्था’बारे डा. रामबहादुर मिश्र, ‘अवधी भाषामा अनुवाद साहित्यको अवस्था’ सम्बन्धी प्रा.डा. सूर्यप्रसाद दीक्षित र सनत रेग्मी, अवधी भाषी समाजको लोकलाको दशा र दिशा विषयमा यस.सी. सुमन, अवधी भाषी समाजको लोकसाहित्यको अवस्थाका बारेमा पशुपतिमणि त्रिपाठी र राघवेन्द्रकुमार श्रीवास्तव र अवधी भाषी समाजको लोकनृत्य परम्परा सम्बन्धी जगतराम यादवले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

वैशाख २९ गते आइतवारका दिन भारतबाट आउनुभएका स्रष्टाहरूको स्वागतमा प्रज्ञा–प्रतिष्ठानमा आयोजक संस्थाहरूद्वारा आपसी विमर्श तथा काव्य गोष्ठीको आयोजन गरिने छ ।

Loading...