काठमाडौ – सभामुख कृष्णबहादुर महराको आतिथ्यतामा शनिबार राजधानीको कमलपोखरी स्थित बिग सिनेमा हलमा लिम्बू भाषाको चलचित्र ‘केःसाङ्ला’को विशेष प्रदर्शन भएको थियो । लिम्बू संस्कृतिमूलक ‘केःसाङ्ला’को विशेष शोमा प्रमुख अतिथिका रुपमा विग सिनेमा पुगेका सभामुख महराले ‘लिम्बू समुदायको कला र संस्कृति बोकेको फिल्म भएर पनि कसैको सहयोगार्थ च्यारिटी शो गर्नु आफैमा सह्रानीय कार्य भएको बताएका छन् ।
भाषिक तथा जातीय चलचित्रहरुले नेपालको वास्तविक संस्कृति उजागर गर्ने र यस्ता कार्यले जातिय समुदाय प्रति आफ्नो भाषा, संस्कृतिको संरक्षणमा ठुलो टेवा पुग्ने सभामुख महराले बिचार ब्यक्त गरेका थिए ।
लोकेन साँवा लिम्बू निर्देशित चलचित्र ‘केःसाङ्ला’ झापा स्थित कमल गाउँपालिकाका मृगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको सहयोगार्थ विशेष शो गरिएको हो । शोबाट संकलित रकममध्ये खर्च कटाएर शनिबार नै मृगौलापीडित निर्मललाई १ लाख ६४ हजार २०५ रुपैयाँ हस्तान्तरण गरिएको थियो । चलचित्रका निर्देशक लिम्बूले मनोरञ्जनसँगै सामाजिक काममा सक्रियता बढाउन विशेष शो गरिएको बताए । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, माननिय सांसद एलपी साँवा लिम्बू, जनजाति महासंघका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पा , निर्देशक नविन सुब्बालगायत पनि फिल्म हेर्न हाल पुगेका थिए । केसाङ्ला प्रदर्शन समितिका अध्यक्ष सलमान थलङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई अर्जुन मादेनले सञ्चालन गरेका थिए ।
चलचित्रमा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । फिपरानी तुम्बाहाम्फे, विष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाम्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको चलचित्रमा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, विशाल सेनेहाङ, महिमा लिम्बु, याम्मनिङवा योङहाङ, कुमार सुब्बा, मेनुका साउदेन, सनम पयाँगु, कुमार लिम्बु गंगा तुम्बाहाम्फे लगायतका कलाकारले अभिनय गरेका छन् भने चलचित्रमा संगीत अशोक लोहोरुङ राइले गरेका छन् ।
