दार्जिलिङ बिसञ्चो छ
जब रेलवे स्टेशनबाट
झण्डाको लहर छुट्छ
अचेतन जमातको भीड
चौरस्तातिर बढ्छ,
दार्जिलिङको कान दुख्नेगरी
उही पुरानो आवाज गुन्जन्छ,
तब हजुर दार्जिलिङ बिसञ्चो हुन्छ,
सुन्नु भो हजुर दार्जिलिङ बिसञ्चो छ ।झण्डा फेरिन्छ, रंग फेरिन्छ, आवाज फेरिन्छ,
तर चेतना र मानसिकता फेरिन्दैन
तब सुमेरु मञ्चबाट
भिन्न भिन्नै प्रवचन फलाकिन्छ
तब दार्जिलिङलाई वाक्क लाग्छ , दिक्क लाग्छ,
तब हजुर दार्जिलिङ बिसञ्चो हुन्छ,
अब त बुझ्नु भो नि हजुर दार्जिलिङ बिसञ्चो छ ।
समाचार पत्रहरूले दिनहु
घर सरेको खबर बोक्छ
च्यानलहरूले जिउँदो लाशका
लश्कर मात्र देखाऊँछ अचेल
कञ्चनजङ्घा हाँसेको हेर्ने आँखाहरु
दार्जिलिङ रमाएको सुन्ने कानहरू
आफ्नै मात्र दुनो सोझ्याउने जमातहरू
हेरेर , देखेर दार्जिलिङको दिमाग सल्किन्छ,अनि घोरिन्छ दार्जिलिङ,
अचेल दार्जिलिङले खराब र असल र खराबको पार्थक्य
छुट्याउन भुलेको छ ,
दार्जिलिङले आफ्नै परिचय हराएको छ,
आफ्नै नाम भित्र नाम खोज्दैछ दार्जिलिङ,
अब त पक्कै बुझ्नु भो नि हजुर
दार्जिलिङ बिसञ्चो छ।
हो हजुर दार्जिलिङ बिसञ्चो छ।।
मनोहर शर्मा (अविनाश)
छोटाटिङलिङ,मिरिक
दार्जिलिङ, भारत