नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सङ्गीतकर्मीसँग विमर्श
काठमाडौ – २०७५ चैत २७ गते बुधबारका दिन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागद्वारा सङ्गीतकर्मीहरूसँग भेटघाट तथा अन्तरविमर्श कार्यक्रमको आयोजना गरियो ।
प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा सङ्गीत क्षेत्रमा प्रभावकारी रूपमा केकस्ता कामहरू गर्नु पर्दछ भन्ने विषयमा राय तथा सुझाव लिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कुलपति रायन, उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्याम तमोट, सङ्गीत विभाग प्रमुखद्वय प्राज्ञ मञ्जुल र प्राज्ञ अशोक राईले आफूहरू यस क्षेत्रमा नयाँ र सार्थक काम गर्न आएको बताएका थिए ।
उक्त कार्यक्रममा वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, गायक तथा सङ्गीतकार शम्भु राई, गायिका कुन्ति मोक्तानका साथै गीत, सङ्गीतसँग सम्बन्धित सबै संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्राज्ञ अशोक राईले प्रतिष्ठानले आगामी वैशाखको अन्तिम साता प्रदेश नम्बर एकमा भव्य रूपमा सङ्गीत महोत्सवको आयोजना गर्न लागिएको जानकारी गराएका थिए ।
कार्यक्रममा उपस्थित विज्ञ–सङ्गीतकर्मीहरूले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले प्रस्तुति पक्षलाई भन्दा अनुसन्धान पक्षलाई महत्व दिन सुझाव दिएका थिए ।
प्रतिष्ठानको इतिहासमा पहिलो पटक यसरी गीतसङ्गीतसँग आवद्ध सर्जकहरूलाई आमन्त्रण गरेर राय–सुझाब लिएकामा प्रशन्नता प्रकट गर्दै उनीहरूले समुचित र मर्यादित ढङ्गले कलाकार परिचयपत्र वितरण गर्न पनि सुझाव दिएका थिए । सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईको पहलमा उक्त विमर्श गरिएको थियो ।