कांग्रेस जिल्ला सभापतिहरूको भेला हेटौंडा घोषणापत्र जारी गर्दै शुक्रबार सकिने
पार्टी नेतृत्वको कार्यशैलीले कांग्रेसको अस्तित्व नै खत्रामा
हेटौंडा ८ असार – कांग्रेस जिल्ला सभापतिहरूको भेला हेटौंडा घोषणापत्र जारी गर्दै शुक्रबार सकिने भएको छ । मंगलबारदेखि शुरु भेला बिहीबार नै सक्ने बताइए पनि जिल्ला सभापतिहरु बोल्ने क्रम नसकिएकाले एक दिन लम्बिएको हो ।
पार्टी रुपान्तरणको संकल्पसहितको घोषणा पत्र जारी गर्दै भेला सकिने बताईएको छ । घोषणापत्रमा पार्टीभित्र अनुशासन कसरी कायम गर्ने, केन्द्र तथा स्थानीय तहमा प्रतिपक्षीका रुपमा कसरी प्रस्तुत हुने भन्ने लगायत विषय समेटिने छन् ।
भेलाले पार्टीलाई संघीय ढाँचामा लैजान र विधिपूर्वक विधान पारित गराउन सुझाव दिदै बिहीबारसम्म बोल्ने अधिकांश जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको कार्यशैलीले कांग्रेसको अस्तित्व नै खत्रामा परेको भन्दै आलोचना गरेका थिए ।